धनगढी – पहाड, तराई र हिमालका ९ जिल्ला जोडिएको प्रदेश ७ को नाम के राख्ने भनेर प्रदेशसभा बैठकमा र सासंदबीच छलफल नहँुदै नागरिकस्तरमा व्यापक बहस सुरु भएको छ । नाम के राख्ने भन्ने विषयमा चिया पसलदेखि समाजिक सञ्जालसम्म बहस तातेको छ । समाजिक सञ्जालमा विभिन्न व्यक्तिले आफ्ना राय राख्न थालेका छन् भने बौद्धिक जमातले पनि आपूmले अघि सारेका नामलाई पुष्टि गर्न तर्क गर्न सुरु गरेका छन् ।
‘नागरिकस्तरमा प्रदेशको नाम के राख्ने भनेर व्यापक चासो देखिएको छ,’ ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट भन्छन्, ‘सबैतिर नामबारे बहस सुरु भएको छ ।’ प्रदेशसभा बैठक र सासंदभन्दा पनि एक कदम अघि बढेर नागरिक समाज नामबारे बहसमा उत्रेको हो । प्रदेश ७ अन्य भन्दा विविधता र फरक महत्त्वको रहेकाले बहस र छलफल गरेर दिगोरूपमा राम्रो प्रभाव पार्ने नाम राख्नुपर्ने स्थानीय बताउँछन् । ‘हिमाल, पहाड र तराई मिलेर बनेको यो प्रदेशको पहिचान अन्य प्रदेशभन्दा फरक र विशेष छ,’ सूदुरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त बताउँछन् । अलगअलग पहिचान भएकाले सबैको भावना र पहिचान सिमोटेर नाम राख्न सासंद र प्रदेशसभा बैठकअघि नै समाजका छलफल र बहस चलेको कुरालाई उनी सकरात्मक बताउँछन् ।
विभिन्न नाममा बहस तात्दै गएपछि नागरिक समाजका सिद्धराज ओझाले विभिन्न धार्मिक मन्दिर, पर्यटकीय स्थललगायतका नामसहित १४ नामको सूची राखेर यीमध्ये कुनै नाम राख्दा पनि सायद कसैलाई फरक पर्दैन भनेर फेसबुकमा लेखेका छन्।
‘प्रदेशको नाम सर्वसम्मत राख्ने प्रयास गरिनुपर्छ,’ उनले भने, ‘अहिले राखिएको नाम यहाँका सबै बासिन्दाले अपनत्व महसुस गर्ने हुुनुपर्छ ।’ अखण्ड सूदुरपश्चिम र थरूहटबाट लामो समयसम्म आन्दोलन भएको पृष्ठभूमि रहेको प्रदेश भएकाले पनि दुवैको भावना सिमेट्ने गरी मध्यमार्गी नाम राख्नुपर्ने उनको सुझाव छ । ‘अहिले नै यही नाम भनेर मैले सोचिसकेको छैन, अहिले चर्चामा आएका नाममध्ये सबैको पहिचान जोडिने नाम राख्न छलफल चलाउनु पर्छ ।’ प्रदेश ७ को नाममा खप्तड प्रदेश, मानस प्रदेश, सेती महाकाली प्रदेश, सेतीकाली प्रदेश, डोटी प्रदेश, अपी सैपाल प्रदेश र थरूहट प्रदेश चर्चामा आएका छन् । छलफल र बहस तातेसँगै नयाँनयाँ नाम पनि आइरहेका छन् । ‘पहाड र तराईको भूगोल, जाति, सम्प्रादाय, भाषा, संस्कृति, सभ्यता र हार्दिक एकता तथा स्वाभिमानको कदर गरी प्रदेशको नाम खप्तड भादा प्रदेश राख्दा कसो होला?,’ धनगढीका शिक्षक नरेन्द्र भट्टले फेसबुकमा लेखेका छन् ।
यसैगरी विभिन्न नाममा बहस तात्दै गएपछि नागरिक समाजका सिद्धराज ओझाले विभिन्न धार्मिक मन्दिर, पर्यटकीय स्थललगायतका नामसहित १४ नामको सूची राखेर यीमध्ये कुनै नाम राख्दा पनि सायद कसैलाई फरक पर्दैन भनेर फेसबुकमा लेखेका छन् ।
कुन नाम राख्ने भन्ने विषयमा मानस खण्ड, सेतीमहाकाली र खप्तड अहिले बढी चर्चामा छन् । सूदुरपश्चिम विश्वविद्यलायका प्राध्यापक डा. मुकन्द कलौनी पहाड र तराई सबैको पहिचान र भूगोल जोडिने नामाकरण हुनुपर्ने बताउँछन् । पुराणमा मानसखण्ड भनेर पहाड र तराईका विभिन्न क्षेत्र उल्लेख भएको र अधिकांश हिन्दु भएकाले चर्चामा आएका मध्ये मानस प्रदेश उपयुक्त हुने उनी बताउँछन् । मानस प्रदेश नभए दोस्रो विकल्प सेतीमहाकाली भएको उनको भनाइ छ । डा. हेमराज पन्त पनि नामबारे आपूmले सोची नसकेको भए पनि मानस प्रदेशले पनि तराई र पहाडलाई सिमेट्नेमा सहमत छन्।
ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख भट्ट चर्चामा आएकामध्ये ४ वटा जिल्लाको भूगोल जोडिएको देशभरिमै चिनिएको धार्मिक तथा पर्यटकीयस्थल खप्तड प्रदेश उपयुक्त हुने बताउँछन्। चर्चामा आएको सेतीकाली प्रदेश पनि उपयुक्त हुने उनको भनाइ छ। पञ्चोदय उच्च मावि धनगढीका प्रमुख पदम कुँवर ऐतिहासिक र धार्मिक रूपमा महत्वपूर्ण पनि रहेको यस क्षेत्रकै पहिचान बनाएको खप्तड प्रदेश उपयुक्त हुने बताउँछन। समाजिक सञ्जाल प्रदेशको नामको बहसले रंगिएका छन् भने सबैतिर बहस यही भएको छ । थारू कल्याणकारीसभाका पूर्व सभापति थारू समुदायको चाहाना थरूहट प्रदेश नाम हुनुपर्ने भए पनि सबैलाई सिमेट्न सेतीमहाकाली हुनुपर्ने बताउँछन् ।
‘थरूहट भनेको तराई क्षेत्र भन्ने हो, हिजोका दिनमा अखण्ड सूदुरपश्चिमका लागि लडेका साथीले त्यो नमानेमा सबैलाई सिमेट्ने सेतीमहाकाली प्रदेश उपयुक्त हुन्छ,’ उनले भने।
प्रदेश ७ को प्रदेशसभा बैठक भने फागुन ६ गते उपसभामुख चुनेपछि अनिश्चितकालका लागि स्थगित छ । बैठकमा यो विषयले कहिले प्रवेश पाउने हो कुनै टुंगो छैन। सासंदबीच पनि यो छलफलको सुरु भइसकेको छैन । एमाले संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेशको नामबारे छलफल सुरु भइनसकेको बताएका छन् । ‘प्रदेशको नामबारे सासंदबीच छलफल सुरु भइसकेको छैन,’ उनले भने । यसैगरी डोटीका प्रदेशसभा सदस्य पूर्णा जोशीले प्रदेशको नामबारे सासंदबीच अनऔपचारिक रूपमा पनि छलफल सुरु नभएको बताइन्।
‘सांसदबीच आन्तरिक छलफल पनि भएको छैन,’ उनले भनिन्, ‘कर्णाली प्रदेशको नाम राखिसकिएकोले संंसदभित्र नभए पनि बाहिर जनस्तरमा चर्चा बढेको छ ।’ आ–आफ्ना तरिकाले विभिन्न नामबारे चर्चा भएको उनको भनाइ छ।
यसैगरी माओवादी केन्द्र बझाङका प्रदेशसभा सदस्य शान्ति नेपालीले पनि सासंदबीच छलफल सुरु नभएको बताइन्। ‘सासंदबीच समान्यरूपमा पनि प्रदेशको नामबारे छलफल भएको छैन,’ उनले भनिन् । नेपाली कांग्रेस डडेल्धुराका प्रदेशसभा सदस्य कर्ण मल्लले कांग्रेसका १२ जना सासंदबीच अनौपचारिक रूपमा प्रदेशको नामबारे छलफल भएको बताए । ‘हामीले १२ जना सासंदबीच अनौपचारिक छलफल हुँदा खप्तड प्रदेश, मानस प्रदेश र सेतीमहाकाली प्रदेशको नाम आएको छ,’ उनले भने।
प्रकाशित: १८ फाल्गुन २०७४ ०२:३७ शुक्रबार