२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पृथ्वी जयन्तीमा राप्रपाको विशेष कार्यक्रम

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छ। दिवसको अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ।

चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मी, बुद्धिजीवी लगायत आठ हजारलाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

उनले विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका राष्ट्र निर्माताको सम्मानमा हुने चियापान समारोहमा विशिष्ट व्यक्तिहरू सहभागी हुने पनि बताए।

साथै आज राप्रपाले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको छ। भृकुटीमण्डपमा भेला भई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हुदै सिंहदरबार अगाडि रहेको पृथ्वी सालिकसम्म ¥याली जाने र सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए।

उनका अनुसार पार्टीले आजै राष्ट्रिय एकता दिवसका रूपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तरक्रिया, दीपावलीलगायत कार्यक्रम गरी उत्सवका रूपमा मनाउन पार्टी मातहतका सबैलाई सर्कुलर गरिएको छ। जिल्लामा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाइएको छ।

पृथ्वी जयन्तीलाई एकता दिवस र उत्सवका रूपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ।

प्रकाशित: २७ पुस २०८० ०१:४७ शुक्रबार

राष्ट्रिय प्रजातन्त्र पार्टी पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस शुभकामना आदानप्रदान चियापान मोहन श्रेष्ठ राजेन्द्र लिङ्देन