१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जीतगढी, ठुला साम्राज्यसँग देश जोगाएको नेपाली वीरताको निशानी हो:राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक जीतगढी किल्ला नेपालीहरूको वीरता,राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्ण निशानी भएको बताएका छन।

आज (शुक्रवार)बुटवलमा जीतगढी किल्ला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जीतगढी किल्ला ठुला साम्राज्यसँग नेपाली सौर्य र कुटनीतिक चातुर्यताका साथ ठुलो बलिदानीबाट  देश जोगाएको इतिहासको निशानी भएको बताए।

राष्ट्रपति पौडेलले जीतगढीलाई नेपाल अङ्ग्रेज युद्धको अध्ययन,अनुसन्धान गर्ने स्थलको रुपमा विकास गर्दै प्रमुख पर्यटकीय गन्तव्य बनाउनु पर्नेमा जोड दिए।जीतगढीलाई आसपासका ऐतिहासिक,पुरातात्विक,धार्मिक, सांस्कृतिक क्षेत्रसँग जोडेर बृहत् पर्यटन सर्किटको आधार तयार गर्न सकिने बताए। 

‘ जीतगढीलाई मणि मुकुन्द सेनको दरबार,नुवाकोट,रामापिथेकश,सहस्रधारा,लक्ष्मीनगर,सहस्रधारा, हिल पार्क सम्म जोडेर पर्यटन  प्रवर्द्धन गर्न सके देशकै पर्यटन विकासमा योगदान पुग्दछ भन्ने विश्वास मैले लिएको छु’ राष्ट्रपति पौडेलले भने।

राष्ट्रिय स्वाभिमान र पहिचान बोकेको किल्लाको समयानुकूल प्रचारप्रसार  र प्रवर्द्धन गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्न बुटवल उपमहानगरपालिका योजनाबद्ध रूपले अगाडी बढेको भन्दै उनले प्रशंसा गरे। ऐतिहासिक र सामरिक महत्वका गढी, किल्लाहरूको संरक्षण,प्रवर्द्धन र पर्यटकीय विकासमा स्थानीय सरकारका साथै प्रदेश र संघ सरकारलाई थप चासो बढाउन आग्रह गरे।

नेपाली सेनाले जीतगढी पुनर्निर्माण सम्बन्धी गुरुयोजना अनुरूप पानीको फोहोरा,युद्ध झल्कने चित्र,एम्फी थिएटर लगायतका संरचनामा काम गरेको देख्दा खुसी लागेको उनले बताए।

नेपाल–अङ्ग्रेज युद्धको समयकै झल्को दिने गरी कलात्मक गेट,उजिरसिंहको पूर्ण कदको सालिक,उनीसंग लडाइमा खटिएका नेपाली सेनाका १२ कमान्डरको अर्धकदको सालिक ,विशाल राष्ट्रिय झन्डा यी सबै कुराहरू मार्फत जीतगढीको महत्व  र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको  काम सह्रानीय छ’ राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले वीर नेपाली सेनाले इतिहासमा देखाएको वीरता र सौर्यकै परिणामले नै सार्वभौम र स्वाभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन आएको बताए।

नेपाली सेनाले नेपालको स्वतन्त्रता,सार्वभौमसत्ता,भौगोलिक अखण्डता,स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको स्पष्ट पारे। संविधान सम्मत हुने जुनसुकै सरकारका आदेशलाई सधैँ शिरोधार्य गरेको र त्यही उत्कृष्ट विशेषताले नै नेपाली सेनालाई जनतामाझ लोकप्रिय बनाएको उनले बताए।

राष्ट्रपति पौडेलले तिनाउको तीर र चुरेको शिरमा रहेको बुटवललाई आर्थिक केन्द्रको रुपमा विकसित गर्ने र बुटवल आसपासका नगर जोडेर मेघा सिटी बनाउने जनता र जनप्रतिनिधिको चाहाना पुरा होस भन्ने शुभकामना पनि दिए। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली सेनाको वीरताको गाथा बोकेको जीतगढी किल्लाको विकास र प्रवर्द्धनमा प्रदेश सरकार संवेदनशील रहेको बताए।मुख्यमन्त्री चौधरीले संविधान लागु गर्न र गराउन  महत्त्वपूर्ण भुमिका खेली दिन राष्ट्रपतिलाई आग्रह पनि गरे।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले संचालन कार्यविधि बनाएर जीतगढीलाइ ऐतिहासिक,सामरिक तथा पुरातात्विक  महत्वको पर्यटकीय स्थलको रुपमा विकास गरिने बताए । ‘किल्लाको संरक्षण,सम्बद्र्धन र पर्यटन प्रबद्र्धनका लागि योजनाबद्ध अगाडी बढ्छौँ’ नगरप्रमुख पाण्डेले भने।

 ‘ जीतगढीलाइ   नेपाल–अङ्ग्रेज युद्धको अध्ययन गर्ने थलोको रुपमा विकास गर्ने,गढी नजिकै निर्माण भएको युद्ध सङ्ग्रहालय संचालन गर्ने,पुरानो बटौलीको ऐतिहासिकतालाई उजागर गर्दै चलायमान बनाउने योजना छ’ नगरप्रमुख पाण्डेले भने । 

बुटवल उपमहानगरपालिका वडा नं. १ स्थित तिनाउ किनारमा रहेको जीतगढी किल्ला नेपाली सेना गरुड दल गणले पुनः निर्माण तथा संरक्षण पश्चात् आज एक समारोहका बिच बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । राष्ट्रपतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलाई जीतगढी किल्लाको प्रतिमा प्रदान गर्दै किल्ला हस्तान्तरण गरेका थिए।अव यो किल्ला बुटवल उपमहानगरपालिका मातहत रहने छ। 

कार्यक्रममा स्वागत गर्दै उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवललाई आर्थिक केन्द्र सँगै पर्यटकीय बिश्रामस्थलको रुपमा विकास गर्ने लक्ष्य लिइएको बताइन।त्यसकालागि स्थानीय,प्रदेश र संघीय सरकारको समन्वय आवश्यक भएको बताइन।अध्येता तथा इतिहासवीद निर्मल श्रेष्ठले जीतगढी किल्लाको इतिहास बारे जानकारी दिँदै जीतगढी वीर नेपालीको बहादुरीको ज्युँदो इतिहास  भएको बताए।

बुटवल उपमहानगरपालिका  वडा नं. १ मा तिनाउ नदीको किनारमा  जीतगढी किल्ला रहेको छ। जीतगढीमा  वि. सं. १८७२ साल वैशाख ७गते नेपाली सेना  र तत्कालीन इष्ट इन्डिया कम्पनी बिच भएको लडाइमा नेपालले विजय हासिल गरेको थियो। 

प्रकाशित: २० पुस २०८० १०:५४ शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेल जीतगढी ठुला साम्राज्यसँग देश जोगाएको नेपाली वीरताको निशानी हो :राष्ट्रपति पौडेल नेपाल अङ्ग्रेज युद्ध जीतगढी किल्ला ठुलो बलिदानी मणि मुकुन्द सेनको दरबार