२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाँच दिनदेखि ललितपुर प्रहरी परिसर प्रमुखबिहीन, कसको सम्भावना?

जिल्ला प्रहरी परिसर ललितपुरका सम्भावित प्रमुखहरु क्रमशः दिनेश आचार्य, दिनेशराज मैनाली र राजेन्द्र भट्ट (बाँयाबाट)।

ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घट्नापछि ललितपुर प्रहरी परिसर ५ दिनदेखि प्रमुखबिहीन छ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाह प्रहरी प्रधान कार्यालय सरुवा गरिएको पाँच दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले कसैलाई नपठाउँदा उक्त पद खाली छ। अहिले निमित्त प्रमुखमा एसपी नवराज कार्की रहेका छन्। 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गृह मन्त्रीस्तरीय निर्णयबाट हुने प्रावधान छ। गृहमन्त्रीमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भएकाले उनले आफू निकटका प्रहरी अधिकारी खोजेका कारण तत्काल जान नसकेको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ। 

केहीदिन अघि मात्रै राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री श्रेष्ठले सरुवा बढुवामा आफूले हस्तक्षेप नगर्ने बताएका थिए। तर, ललितपुर प्रहरी परिसरमा अझै पनि प्रमुख पठाउन नसक्नुमा उनकै सचिवालयको टिम बाधक रहेको स्रोतको दावी छ।

प्रहरी प्रधान कार्यालयले एसएसपीत्रय दिनेश आचार्य , राजेन्द्र भट्ट र दिनेश मैनालीमध्ये एक जनालाई पठाउन खोजेको छ।  

त्यहा जान अन्य एसएसपीहरुले पनि चलखेल गरेका कारण प्रहरी प्रधानकार्यालयले पठाउन सकेको छैन। केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका एसएसपी दिनेश आचार्य र ट्राफिक महाशाखामा रहेका राजेन्द्र भट्ट र उपत्यका प्रहरी कार्यालयमा कार्यरत मैनाली मध्ये एकलाई पठाउने गरी प्रहरी प्रधानकार्यालयको तयारी थियो। ‘कुनै शक्ति केन्द्रको दबाब नदिएमा प्रहरी प्रधानकार्यालयले उनीहरु मध्ये एकलाई पठाउने तयारी गरेको छ’, स्रोतले भन्यो।  

एसएसपी भैसकेपछि कही कतै इन्चार्ज नपाएका आचार्य र भट्ट र मैनालीको संभावना रहेको स्रोतले जनाएको छ। मैनालीलाई उपत्यकाका प्रवक्ता भएको र विगतमा पनि इन्चार्जमा काम नगरेकाले त्यहाँ पठाउन लागिएको हो। एसएसपी भट्ट अहिले ट्राफिक महाशाखामा प्रवक्ताको रुपमा रहेका छन्। उनको त्यहाँ १४ महिना भैसकेको छ। आचार्य पनि सिआइबीमा कार्यरत छन्। आचार्यले ६० किलो सुन तस्करीमा हङकङ पुगेर अनुसन्धान समेत गरेका थिए।

‘सिनियर प्रहरी अधिकृत आचार्य र भट्ट हुन नै भएकाले प्रहरी महानरिक्षकको बसन्त कुवरले पनि उहाँहरु मध्ये एकलाई परिसरको प्रमुख बनाएर पठाउने चाहना रहेको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो। उनीहरुबाहेक केही अधिकृतहरु क्षमताका आधारमा केहीचाहि  शक्तिका आधारमा ललितपुर जिल्लाको इन्चार्ज हुन लागिपरेका छन्। 

केही एसएसपीहरुले गृहमन्त्री श्रेष्ठको टिमलाई भेटेरै आफूलाई पठाउन भनिरहेका छन्। केहीले शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डको सचिवालयमा पनि पहुँच पुर्याउन थालिसकेका छन्। ‘कमाण्ड गर्ने चाहना सबैलाई हुन्छ, शक्तिको आडमा नलागी केही हुँदैन’, दौडधुपमा रहेका एक एसएसपीले भने।  

हिमालय कुमार श्रेष्ठ, शेखर खनाल, विश्व अधिकारी, दिपक रेग्मी, सानुराम भट्टराई, प्रविण पोखरेल, मुकुन्द मरासिनी, रेवती ढकाल, ललितपुर परिसर जान पाए हुन्थ्यो भन्नेमा  छन्।  

ललितपुरको बालकुमारीमा शुक्रवार प्रहरीको ‘घातक’ बल प्रयोगबाट वैदेशिक रोजगारीमा जान चाहने दुई जना युवकले ज्यान गुमाएपछि त्यहाँका प्रमुख एसएसपी शाहलाई प्रधानकार्यालय सरुवा गरिएको थियो । उनी एक वर्षअघि ललितपुर परिसरको कमाण्ड गर्न पुगेका थिए। उनको सरुवा अवधि पनि पुगेकाले प्रधानकार्यालयले तानेको हो। 

ललितपुरमा सुरक्षाकर्मीले हानेको गोली लागी अछामका वीरेन्द्र शाह को पेटमा लागेको थियो। शाहलाई प्रहरीले प्रहार गरेको सेल्फ लोडिङ्ग राइफल (एसएलआर) को गोली लागेको पुष्टि भएको छ। दैलेख घर भएका सुजन रावतको छातीमा नीलडाम भेटिएको थियो। सुजनलाई गोली नलागेको तर, भागदौडमा मृत्यु भएको हुनसक्ने सुरक्षा अधिकारीहरू बताएका छन्।

गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरू त्यस दिन बिहान ७ बजे नै ग्वार्को स्थित ईपीएस कोरिया शाखामा जम्मा भएका थिए। पानीजहाज निर्माण गर्ने कम्पनीका लागि दिएको परीक्षामा असफल भएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि फारम भर्न पाउनुपर्ने माग गरेका थिए। त्यसक्रममा झडप हुँदा त्यहाँको परिस्थिति सुुरक्षाकर्मीहरुको नियन्त्रणभन्दा बाहिर गएको थियो।  

झडपको क्रममा दर्जनौ प्रर्दशनकारी र प्रहरी घाइते भएका थिए। सो घट्नामा तीन मन्त्रीहरु समेत दोषी देखिएको भन्दै अहिले संसदीय समितिका रहेका सांसद र सामाजिक सञ्जालमा चर्को विरोध हुनुका साथै राजिनामा माग गरिएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रममन्त्री शरदसिंह भण्डारी र भौतिक तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजिनामा माग गरिएको छ।  

प्रकाशित: १८ पुस २०८० ०६:३२ बुधबार

प्रहरी वरिष्ठ उपरीक्षक ललितपुर बालकुमारी ललितपुर प्रहरी परिसर प्रमुखबिहीन सिद्धिविक्रम शाह एसएसपी प्रहरी प्रधान कार्यालय एसपी नवराज कार्की गृह मन्त्री राज्य व्यवस्था तथा सुशासन समिति नारायणकाजी श्रेष्ठ