१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मोहन वैद्यले अस्वीकार गर्दा वाम एकतामा ढिलाई भयो : गौतम

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन पहिलो साताभित्र माओवादी केन्द्रसँग पार्टी एकता हुने बताएका छन्। प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आइतबार आयोजित समारोहमा बोल्दै गौतमले पार्टी एकता भएरै छाड्ने उद्घोष गरेका हुन्। 

‘२०६३ सालदेखि नै कम्युनिष्ट शक्तिबीच एकताको प्रक्रिया अघि बढेको हो। मोहन वैद्यले निती, सिद्धान्त र विचार मिल्दैन भनेर अस्वीकार गरेपछि ब्याक भयौं,’ गौतमले भने– ‘यो बीचमा फेरि एकताको प्रयास गर्यौं तर पूर्णता पाउन सकेन्। अब पाउँछ। पार्टी एकता हुन्छ।’ 

नेता गौतमले अब पनि पार्टी एकता भएन भने इतिहासमा कम्युनिष्टका लागि सबैभन्दा ठूलो दुर्घटना हुने चेतावनी दिए। ‘विश्वलाई नै नमूनाको रुपमा पाठ सिकाउने गरी कम्युनिष्ट एकता गर्दैछौं। बाहिरतिर जेजति चर्चा र प्रतिक्रिया दिएपछि पार्टी एकता हुन्छ, प्रधानमन्त्री केपी ओली बन्नुहुन्छ,’ गौतमले भने। फागुनको पहिलो हप्ताभित्र एकताको गृहकार्य पुरा हुने र एकताको घोषणा गरिने उनको भनाई छ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्राईले सबै नेताको उचित व्यवस्थापन पार्टी एकता हुने स्पष्ट पारे। ‘एउटा जंगलमा एउटा मात्रै सिंह रहन्छ ४/५ वटा कसरी अटाउन भनेर चर्चा गरिएको छ। तर अहिले हामीसँग ४ जना शेर छन्। अरुपनि शेर थप्छौं र मिलाएर राख्छौं,’ उनले भने।

प्रकाशित: २१ माघ २०७४ ११:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App