काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली अाइतवार अपरान्ह प्रकाशन गर्दैछ ।
राष्ट्रियसभा निर्वाचन कार्यतालिका अनुसार आज नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिन चाहेमा आज दिउँसो १ बजेदेखि भोलि सोमवार दिउँसो २ बजेसम्मको समय दिइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
आयोगले यसअघि दर्ता भएका मनोनयनपत्र र उजुरी उपर शनिवार जाँचबुझ गरी आइतवार नामावली प्रकाशन गर्न लागेको हो ।
निर्वाचन कार्यतालिका अनुसार सोमवार निर्वाचनमा भाग लिएका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे गरेपछि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
आगामी माघ २४ गते हुने निर्वाचनका लागि सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये १८ जना निर्विरोध भएका छन् भने १ जनाको उम्मेदवारी खारेज भएको छ।
प्रकाशित: १४ माघ २०७४ ०६:३३ आइतबार