८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

खानी सञ्चालनको दाउमा हेटौँडा सिमेन्ट बन्द गराउन लागे निजी उद्योगी: बर्तौला

‘सरकारी कर्मचारी संलग्न रहेको जानकारी छ’

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न केही निजी सिमेन्ट उद्योग सञ्चालकहरू हेटौँडा सिमेन्ट उद्योग बन्द गराउने खेलमा लागेको आरोप लगाएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मङ्गलवार यस्तो आरोप लगाएका हुन्।

सचेतक बर्तौलाले हेटौँडा सिमेन्ट उद्योग बन्द भए उद्योगले प्रयोग गर्ने चारवटा खानीहरू कब्जा गर्न सकिने उद्देश्यले निजी सिमेन्ट उद्योगहरू माथिल्लो तहको सेटिङमा लागेको बताए।

उनले राजनीतिक स्वार्थमा ठुला निजी उद्योग सञ्चालकहरू माथिल्लो तहमा सेटिङ गरेर मजुवा, भैसे, बोखरे र धादिङको खानी कब्जा गर्ने रणनीतिमा रहेको दाबी गरे।

बर्तौलाले यो काममा कर्मचारीहरूको पनि संलग्नता रहेको जानकारीमा आएको बताएका छन्।

‘हेटौँडा सिमेन्ट उद्योगका चार वटा खानीहरू रहेका छन्। विशेष गरी मजुवा, भैसे, बोखरे र धादिङको खानी हेटौडा सिमेन्ट बन्द भयो भने कब्जा गर्न सकिन्छ भनेर केही राजनीतिक स्वार्थमा केही ठुला निजी उद्योग सञ्चालकहरू माथिल्लो तहको सेटिङमा लागेका छन्। नेपालको कर्मचारीतन्त्र त्यसमा जानेर वा नजानेर थाहा पाउने नपाउने गरी समावेश भएको जानकारी छ। समय आएपछि भन्नसक्छौं। उद्योग बन्द गराउन यस्तो खालको खेती हुने कुरा बेठिक छ। यस्तो विषयमा समितिले खाल गर्नुपर्छ। हेटौँडा सिमेन्ट उद्योगमा २ लाख ५० हजार बोरा सिमेन्ट स्टक छ। उपयुक्त बजारको व्यवस्थापन मन्त्रालयले किन गर्न सक्दैन’, उनले भने।  

राजनीतिक स्वार्थ राखेर सरकारी उद्योगको विकास हुनसक्ने भन्दै बर्तौलाले मन्त्रीकै पार्टीको व्यक्ति पठाए पनि विज्ञताको आधारमा नियुक्ति गर्न माग गरे।  

उनले सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा सरकारी उद्योगहरू धराशायी र व्यावसायिक योजनाविहीन भएको दाबी गरे। सचेतक बर्तौलाले सम्बन्धित विषयमा विज्ञ मात्रै उद्योगहरूमा नियुक्त गर्न सरकारसँग माग गरे।  

बर्तौलाले अहिले सरकारी उद्योगहरू बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुने गरेको उल्लेख गरे। उनले अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगमा साढे दुई लाख बोरा स्टक रहेको भन्दै सरकारले बजारको व्यवस्थापन गर्न नसकेको बताएका थिए।

प्रकाशित: ४ पुस २०८० ०२:१३ बुधबार

नेकपा (एमाले) सचेतक महेश बर्तौला राजनीतिक स्वार्थ निजी सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट उद्योग प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति