१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अब बन्ने सरकारलाई पूर्ण समर्थन : पुरी

काठमाडौं – नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा अब बन्ने सरकारलाई भारत सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

नेपाल–भारत सम्बन्ध सुमधुर र  विशिष्ट भएको चर्चा गर्दै उनले अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने  बताए । बिहीबार रिपोटर्स क्लबले भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा  गरेको कार्यक्रममा बोल्दै पुरीले भने, ‘नेपालमा अब बन्ने नयाँ सरकारसँग भारत सुमधुर र प्रगाढ सम्बन्ध राख्न चाहन्छ ।  यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाइसक्नुभएको छ,’ उनले भने, ‘नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरूसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो बीचमा उहाँले दोहो¥याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’

नेपालमा हालै जारी भएको बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको लागि यो निर्वाचन महत्वपूर्ण खुड्किलो भएको उनको भनाइ थियो । भारत स्वतन्त्र भएपछिको ७० वर्षको अवधिमा भारतले  आर्थिक प्रगति मात्रै नभएर  सामाजिक–सांस्कृतिक रूपान्तरण र  राजनीतिक विकास हासिल गरेको उनले चर्चा गरे।  

‘अर्को वर्ष हामी दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने रफ्तारमा छौं, यो हाम्रो लागि ज्यादै महत्वपूर्ण अवसर हो,’ उनले भने ।
नेपालमा भारतले ज्यादै महŒव बोकेका मेगा प्रोजेक्टहरू बनाइसकेको उदाहरण पेश गर्दै अहिले पनि नेपालमा दुईतिहाईभन्दा बढी वैदेशिक व्यापार हिस्सा भारतको रहेको चर्चा गरे । आफू राजदुत भएर नेपालको आएको १० दस महिना भएको उल्लेख गर्दै यो बीचमा नेपाल सरकार, नेपाली र मिडियाबाट विशेष सद्भाव र सहयोग पाएको उनले चर्चा गरे।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल–भारत सम्बन्ध विशिष्ट भएकाले आगामी दिनमा भारतले नेपाललाई विशिष्ट सहयोग गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामीवीच द्विपक्षीय सम्बन्ध जसरी विशिष्ट छ, त्यसैगरी भारतले आगामी दिनमा सहयोग पनि विशिष्ट गर्नुपर्छ।’

यसैगरी नेपाली कांग्रेसका नेता एवं पूर्वपराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाल–भारत सम्बन्ध युनिक र विशिष्ट रहेको बताएका छन् । उनले भने, ‘खुला बोर्डर छन्, बिना आइडी, बिना भिसा र पासपोर्ट हामी आवातजावत गर्न सक्छौं, हाम्रो भूगोल खुला छ ।’ जनस्तरमा समेत प्रगाढ सम्बन्ध रहेको नेपाल र भारतबीच जटिलता आउनु स्वभाविक भएको उनको तर्क थियो।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेपाल–भारत सम्बन्ध प्रकृतिपत्त भएकोले आगामी दिनमा पनि आपसी हितलाई ध्यानमा राखेर अघि बढ्ने विश्वास दिलाए।

प्रकाशित: १२ माघ २०७४ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App