१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

आयोगले दलसँग माग्यो सांसद हुनेको नाम

काठमाडौं- निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक सिट बाँडफाँड गरी राजनीतिक दलहरूलाई पत्र पठाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।

समानुपातिक निर्वाचनअन्तर्गत प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र सांसद हुनेको नामावली पठाउन निर्वाचन आयोगले दलहरूलाई पत्राचार गरेको हो ।

प्रत्यक्षबाट चुनिएसँगै प्रत्येक दलले ३३ प्रतिशत अनिवार्य महिला हुने गरी जनसंख्याका आधारमा तयार पारिएको क्लस्टर (समूह) मा दलहरूले पाएको सिटमा नामावली पठाउनुपर्नेछ । आयोगले दलहरूलाई प्रदेशअनुसार जनसंख्याका आधारमा बनाइएको ‘क्लस्टर’ बाट संख्या दिई नाम पठाउन आह्वान गरेको हो ।
आयोगमा मंसिर ३ मा बुझाइएको बन्दसूचीमा रहेका नामका आधारमा क्लस्टरअनुसार प्रतिनिधि छनोट गर्नुपर्ने प्रावधान छ । प्रदेशसभामा कुल सदर मतको १.५ प्रतिशत ल्याउने दलले मात्र प्रतिनिधित्व गर्न पाउनेछन् ।
सात प्रदेशमा समानुपातिकतर्फ कुल २ सय २० स्थानका लागि निर्वाचन भएको थियो । आयोगले सार्वजनिक गरेको सिट संख्याअनुसार एमालेले ७५, नेपाली कांग्रेसले ७२, नेकपा (माओवादी केन्द्र) ले ३५, संघीय समाजवादी फोरम नेपालले १३ र राष्ट्रिय जनता पार्टी नेपालले १२ सिट पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ३, विवेकशील साझा पार्टीले ३, राष्ट्रिय जनमोर्चाले २, नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले एकएक सिट पाएका छन् ।
‘सिट बाँडफाँट गरेर सबै दललाई पत्र पठाइसक्यौं,’ सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले भने । उनका अनुसार दलहरूले तोकिएको समयभित्र पठाएका नाम तोकिएको ढाँचाअनुसार नभए सच्याउन थप तीन दिन दिइनेछ । दलहरूले आफूले हासिल गरेको सिटमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिमको आरक्षण प्रतिशत नपु¥याए आयोगले कानुनअनुसार प्रतिशत पु¥याउनेछ ।   
प्रदेशसभा समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृतसमेत रहेका तिम्सिनाका अनुसार एकतिहाइ अनिवार्य महिला हुनेगरी दलहरूलाई नाम पठाउन आह्वान गरिएको छ । ‘प्रदेशअनुसारको जनसंख्याका आधारमा नाम पठाउन पत्राचार गरेका छौं,’ तिम्सिनाले भने, ‘पहिले पठाइएको क्रमअनुसार नाम पठाउनुपर्नेछ ।’
१० जनाभन्दा कम सिट ल्याउने दललाई भने महिलाबाहेक अन्य क्लस्टर मिलाउन सक्ने देखिएको छ । समानुपातिक कानुनअनुसार जनसंख्यालाई आधार मानेर महिलालाई मात्र छनोट गर्नुपर्नेछ ।
दलहरूले पठाएको क्रमसूचीअनुसार पछिल्लो नामावली अध्ययन गरी अन्तिम निर्णय गर्ने आयोगले जनाएको छ । आयोगमा समानुपातिक प्रणालीका लागि ४९ वटा दलले बन्दसूची पेस गरेका थिए । थ्रेस होल्डका कारण ११ दलले मात्र प्रतिनिधित्व गर्न पाउने भएका छन् ।
आयोगले समानुपातिकतर्फ प्रदेशसभामा दलहरूले पाउने सिट तोके पनि प्रतिनिधिसभातर्फको सिट संख्या भने बाँडफाँट गरेको  छैन । 

प्रकाशित: ९ पुस २०७४ ०२:३९ आइतबार

आयोगले दलसँग माग्यो सांसद हुनेको नाम