१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

भुसाल र बोहोराबीच भीडन्त

बुटवल- रुपन्देही निर्वाचन क्षेत्र नं ३  सिद्धार्थनगर नगरपालिकासहित  केही गाउँपालिकालाई जोड्दै बुटवल उपमहानगरपालिकासम्म फैलिएको छ । शुद्धोदन गाउँपालिकाका सबै वडा, बुटवल उपमहानगरपालिकाका १४ देखि १९ वडासम्म, तिलोत्तमा नगरपालिकाका   १३ र १४ वडा, मायादेवी गाउँपालिकाका  ७ र ८ वडा, सियारी गाउँपालिकाका १,२,३,६ र ७ वडा तथा ओमसतिया गाउँपालिकाको वडा नम्बर २ यो क्षेत्रमा पर्छन् ।


रोचक मोडमा रुपन्देही–३ यो क्षेत्रमा वाम गठबन्धनबाट घनश्याम भुसाललाई र लोकतान्त्रिक गठबन्धनबाट  दीपक बोहरा उम्मेदवार छन् ।

रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमध्ये ३ नम्बर सबैभन्दा नमिलेको मानिन्छ । यो क्षेत्रमा वाम गठबन्धनबाट एमाले उपमहासचिव घनश्याम भुसाललाई र कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहरा उम्मेदवार छन् ।
स्थानीय चुनावनमा यो क्षेत्रका ३६ वडामध्ये २६ मा एमालेले जितेको छ । बाँकी वडामा कांग्रेसले ५, संघीय समाजवादी फोरमले ४ र राप्रपाले एउटामा जित हात पारेका छन् । स्थानीय चुनावमा प्राप्त मत हेर्दा वाम गठबन्धन साढे चार हजार मतले अघि देखिन्छ । यो क्षेत्रमा १ लाख ९ हजार २ सय ७८ मतदाता छन् ।
स्थानीय चुनावका आधारमा हेर्दा सहज देखिए पनि सिद्धार्थनगर क्षेत्रको मत रातारात यताउति हुनसक्ने भएकाले दुवै उम्मेदवारले सिद्धार्थनगरलाई केन्द्रबिन्दु बनाएका छन् । भुसालले आफ्नो मत रातारात नबिग्रोस् भन्ने रणनीति बनाएर पार्टी पंक्तिलाई परिचालन गरेका छन् । ‘त्यसो गर्दा मात्रै जित हात पार्न सकिन्छ,’ भुसाललाई जिताउन खटिएका युवा संघका  केन्द्रीय सदस्य देवराज पोखरेलले भने । बोहराले भने कांग्रेसको भर पर्दै चुनावी प्रचार अघि बढाएका छन् । सिद्धार्थनगरको तरल मतलाई तानेर चुनाव जित्ने उनको रणनीति छ ।
यहाँ मुस्लिम र मधेसी समुदायको मात्रै नभएर व्यापारिक घरानाको मत पनि तरल मानिन्छ । सिद्धार्थनगरका पुराना पत्रकार नारायण सापकोटा यहाँका मतदाता पहिलेजस्तो तरल नभएको बताउँछन् । ‘यहाँको जनमतले पात्र र प्रवृत्ति राम्ररी हेर्न थालेको छ,’ उनले भने ।
भुसाल बौद्धिक र अध्यनशील नेताका रुपमा चिनिन्छन् । उनको यो पहिचानले अहिले मतदातालाई आर्कषण गरेको छ । बोहरा पञ्चायतकालदेखि अहिलेसम्मका चतुर राजनीतिक खेलाडी हुन् । पञ्चायत कालदेखि पटकपटक मन्त्री भएका बोहराले मतदाताले आफूलाई चिनिसकेकाले चुनाव जित्न सहज भएको बताए । भुसाल भने जनताले परिवर्तन खोजेको र त्यो परिवर्तनको अनुभूति आफूले मात्रै दिन सक्ने भएकाले मतदाता आफ्नो पक्षमा भएको बताउँछन् ।
कांग्रेसको साथले उत्साहित बोहरा कांग्रेसभित्रकै अन्तरविरोध व्यवस्थापनमा लागेका छन् । राम्रो भोट बैंक रहेको सिद्धार्थनगरमा कांग्रेस विभाजित छ । कांग्रेसको कोइराला परिवारसँग राम्रो पकड राख्ने रामकृष्ण ताम्राकारलाई समानुपातिक सूचीमा नराख्नु र आफूनिकट ओम श्रेष्ठलाई प्रदेशसभा सदस्य उम्मेदवार नबनाइएपछि उनी रुष्ट छन् । श्रेष्ठ प्रदेशसभा सदस्यका लागि  बागी उम्मेदवार बनेका छन् ।
कांग्रेसको मतले चुनाव जित्ने योजना बनाएका बोहराका लागि तिनै कांग्रेसी कार्यकर्ताले उनको विगत कोट्याएर समस्यामा पारेका छन् । २०४० सालताका रुपन्देहीको सुरजपुरामा कांग्रेस कार्यक्रममा भएको आक्रमण घटनामा बोहराको संलग्नतामा भएको कांग्रेसका पुराना नेता कृष्ण पौडेलले बताए । सो घटनामा यादवनाथ आलोकको ज्यान गएको थियो ।
 संविधानसभाको दास्रो चुनावमा यही क्षेत्रबाट चुनाव लडेका भुसाल कांग्रेसका बालकृष्ण खाणसँग ८६ मतान्तरले पराजित भएका थिए । उनले २०५३ सालको उपचुनावमा जित हात पारेका थिए ।
राष्ट्रिय राजनीतिक छविका कारण दुवै चुनाव जित्नुपर्ने दबाबमा छन् ।  त्यसैले यहाँको चुनाव प्रचारप्रसार रोचक मोडमा पुगेको छ ।
दुवै उम्मेदवारले विकासनिर्माणलाई चुनावी मुद्दा बनाएका छन् । दुवैले समयमै गौतमबुद्ध विमानस्थल विस्तारको काम सक्नेदेखि लुम्बिनीको पर्यटन विकास गरेर अर्थतन्त्रलाई बलियो बनाउने कुरा पस्केका छन् । यसैगरी उनीहरूले बुटवल–भैरहवा छ लेन सडकदेखि भैरहवामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट  मैदान, सिँचाइ र जनसरोकारका विषयलाई मतदातासमक्ष पस्केका छन् ।
भुसाल एमाले पंक्तिलाई एकताबद्ध पार्दै कांग्रेसको मत चोरेर चुनाव जित्ने दाउमा छन् । कांग्रेस उम्मेदवार नभएकाले उनले कांग्रेसको भोट बैंकलाई फकाउँदै छन् । बोहरा कांग्रेसको मतलाई साथमा लिँदै भैरहवाको तरल मतलाई आफ्नो पोल्टामा पार्ने रणनीति बनाउँदै छन् । चुनाव मिति नजिकिँदै जाँदा चुनावी प्रचार पेचिलो बनेको छ ।
रुपन्देही ३ (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका विश्वास बराल र (ख) मा एमालेका तुलसी चौधरी मैदानमा छन् । कांग्रेसबाट देवी चौधरी र हरिध्वज मल्ल प्रदेशसभा सदस्य उम्मेदवार छन् । सिद्धार्थनगरका युवा नेता श्रेष्ठलाई उम्मेदवार नबनाएर चौधरीलाई बनाएपछि कांग्रेसको एउटा पंक्तिले श्रेष्ठलाई बागी बनाएर मैदानमा उतारेको हो । प्रदेशमा बागीले काट्ने मतले कांग्रेस र वाम गठबन्धनका उम्मेदवारको जित हार निश्चित गर्नेछ ।

प्रकाशित: १८ मंसिर २०७४ ०३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App