डोटी- शुक्रबार पहिलोपल्ट बहालवाला प्रधानमन्त्रीको रुपमा डोटीको बोगटान क्षेत्रमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बोगटान सडक’को नाम बिशेष ‘महत्व’का साथ लिए । उनले ‘बोगटान सडकलाई ट्रयाक जोडेर पीच गर्ने’ प्रतिबद्धता जनाए । साथै पूर्बमन्त्री सिद्धराज ओझाको नामबाट सो सडकको नामाकरण गर्ने पनि ‘प्रतिज्ञा’ गरे ।
प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता जनाउँदै गर्दा सर्वसाधारण र नेपाली कांग्रेसका कार्यकर्ता ‘उत्साहित’ भए भने, बामगबन्धनका कार्यकर्ताहरु ‘तर्कबितर्क’मा उत्रिए । प्रधानमन्त्रीको आश्वासनपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले सो सडक ‘अब पूर्ण हुने’ भनेर खुशीयाली मनाउदा बामगठबन्धनका कार्यकर्ता प्रधानमन्त्रीले ‘पार्टीका नेता जिताउन मात्रै झुठो आश्वासन दिएको’ भनेर टिप्पणी गर्न थालेका छन् ।
के हो बोगटान सडक ?
जति–जति बेला चुनावको चर्चा आउछ, त्यति–त्यतिबेला डोटीमा बोगटान सडकको चर्चा शुरु हुन्छ । यो सडकसंग जोडिएर उम्मेदबारहरु चर्का भाषणहरु शुरु गर्दै आश्वासन बाड्न शुरु गर्छन् । यो सडकलाई आफ्नो प्रमूख चुनावी अजेण्डा बनाएर ‘आफ्नो कार्यकालमा जसरी पनि पुरा गर्ने’ प्रतिबद्धता गर्दै भोट माग्छन् ।
सुदूरपश्चिमको तराई–पहाड सडकमार्गबाट जोड्न, बिस २००९ सालमा प्रारम्भिक सर्भे भएको जानकारहरु बताउँछन् । उतिबेला धनगढी र डोटीको दिपायल जोड्न बीच क्षेत्रमा पर्ने बोगटानबाट सडक बनाउनुपर्ने चर्चा चलेको उनीहरुको भनाई छ । २०१५ सालपछि धनगढीबाट दिपायलका लागि सडक काट्ने काम सुरु भएको थियो । ‘धनगढी–दिपायल (डिडी) सडक’को नामले काटिन सुरु भएको सडक पञ्चायत कालमा तत्कालीन डडेल्धुराका नेताहरुको पहुँचका आधारमा ‘धनगढी–डडेल्धुरा–दिपायल(डिडीडी)’ नामाकरण गरेर काटिएको थियो । जसले सो सडकले बोगटान क्षेत्र जोड्न सकेन् ।
त्यसपछि २०३८ सालमा भएको ‘राष्ट्रिय पञ्चायत’को निर्वाचनदेखी बोगटान क्षेत्रमा यो सडकको माग सुरु भयो । त्यहीबेलादेखि यो सडक चुनावी नारा बन्दै आएको छ ।
२०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साबिकका १० गाविस जोडेर दिपायल पुग्नेगरी यो सडकको निर्माण कार्य सुरु भयो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति भरत बहादुर खड्काले सडकको शिलान्याश गरेका थिए ।
तर निर्माण थालनी भएको तीन दशक नाघिसक्दा सडक अझै जोडिएको छैन् । अहिलेसम्म करिब ५५ किलोमिटर मात्रै ट्रयाक खुलेको छ । दलहरुले चुनावी अजेण्डा बनाउने र पछि मतलब नगर्ने प्रबृतीका कारण अघिकांश समय सडक अलपत्र अबस्थामा पुगेको थियो ।
बहुदलको स्थापनापछि भएका सबैजसो दलका उम्मेदबारहरुले यो सडकलाई चुनावी अजेण्डा बनाउँदै आएका छन् । २०४८ सालमा आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सिद्धराज ओझाले यही सडकलाई प्रमुख अजेण्डा बनाएका थिए । चुनाव जितेर गएपछि उनले भूमिसुधार सहायक मन्त्री पाउँदा ‘एक हातमा सडकको फाइल र अर्को हातमा राजीनामा’ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुझाएको नेपाली कांग्रेसको बृत्तमा चर्चा चल्छ । त्यसपछि पहिलोपल्ट सो सडक ‘केन्द्रीय सडक योजना’मा परेको नेपाली कांग्रेसका नेता लक्ष्मीराज पाठक बताउँछन् ।
२०५४ सालमा सडक निर्माणका लागि बीपी नगरमा छुट्टै परियोजना डिभिजन कार्यालय स्थापना भएर काम थालियो । सोही क्रममा एकै आर्थिक वर्षमा एक करोड २५ लाखसम्म आएको नेता पाठक बताउँछन् । ‘उतिबेलाको त्य रकम निकै बढी हो,’ उनी भन्छन् ।
त्यसयता बिपक्षीहरुले सो सडकलाई ‘सिद्धराजको सडक’ भनेर बिपक्षीहरुले टिप्पणी गर्दै आएका थिए । सोही सडकको नामले सिद्धराज ओझाले २०४८, २०५१ र २०५६ सालसम्म निर्वाचन जिते । त्यसक्रममा उनी पटक–पटक मन्त्री पनि भए ।
उता सडक निर्माणको गति भने निकै सुस्त रह्यो । बिभिन्न किसिमका अबरोधहरुले सडक कार्य तिब्र हुन सकेन् । ‘पहिले केही समय जग्गा बिबादले सडकलाई केही सुस्त ग¥यो,’ स्थानीय रघुराजा बम भन्छन्, ‘पछि द्वन्द्वकाल सुरु भएपछि माओबादी परियोजना कार्यालयमै आगजनी गरे । त्यसपछि लगभग काम नै ठप्प भयो ।’
शान्ति प्रक्रियापछि २०६४ सालको पहिलो संबिधान सभा निर्वाचनमा दलहरुले फेरी त्यही सडकलाई आफ्नो चुनावी अजेण्डा बनाए । नेपाली कांग्रेसबाट उम्मेदबार भएका सिद्धराज ओझालाई पटक–पटक निर्वाचित हुँदा सडक पुरा नगरेको आरोप लगाउदै अधिकांश जनताले भोट दिएनन् । तत्कालिन नेकपा माओबादीका उम्मेदबार खेम बमले सडक क्षेत्रको मान्छे र सडक निर्माणको अजेण्डा बनाएर निर्वाचन जिते ।
त्यसपछि त केन्द्रीय सडक योजनाबाटै यो सडक हट्यो । त्यसपछि बनेका सरकारहरुको प्राथमिकतामा यो सडक परेन । त्यसरी प्राथमिकता प्राप्त सडकबाट हटेपछि २०६५ सालमा डोटेलीहरुको डेलिकेशन मार्फत तत्कालिन अर्थमन्त्री डा.बाबुराम भट्टराईलाई भेट्दा ५० लाख पावर बजेट आएको थियो । त्यसपछि सडक ट्रयाक खोल्ने शिर्शकमा बजेट नै आएन् ।
२०७० सालको दोस्रो संबिधान सभा निर्वाचनमा यो सडक फेरी डोटी क्षेत्र नम्बर–२ का उम्मेदबारहरुको प्रमूख अजेण्डा बन्यो । नेकपा एमालेका उम्मेदबार प्रेम बहादुर आलेमगरले जोडदार रुपमा यहि अजेण्डा उठाएर ‘आफ्नो कार्यकालमा जसरी पनि जोड्ने नभए राजिनामा दिने’ घोषणा गरेर निर्वाचन जिते ।
२०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको बजेट भाषणमा यो सडक प¥यो । त्यसपछि ‘बहुबर्षिय योजना’मा परेको छ । त्यसलाई क्षेत्र नम्बर–२ बाट जितेका उम्मेदबार प्रेम आलेमगरले आफुले गरेको बताईरहदा कांग्रेसका नेताहरु ‘आफ्नो पार्टीको नेता अर्थमन्त्री हुदा गराएको’ भनेर मतदाता समक्ष पुगिरहेका छन् ।
अहिले सो सडकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदा प्रतिबद्धता गरेको ऋण सहयोग अन्तर्गत एक्जीम बैंकको दुई अर्ब रकमको ठेक्का केही समय अघि सम्पन्न भएको छ । सो रकम आफुले हालेको भौतिक पूर्बाधार तथा यातायात मन्त्री एबं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायर बताईरहदा आलेमगर आफुले हालेको भनेर भोट मागिरहेका छन् । दुबै अहिले प्रतिनिधी सभाका उम्मेदबार हुन् ।
बोगटान क्षेत्र लामो समय सडक सुबिधासंग नजोडिदा दुर्गम मानिन्छ । अहिले बिभिन्न साना स्रोतको बजेट मार्फत केही ठाउँमा अस्थायी सडक बनेका छन् । तर, त्यसले पर्याप्त सुबिधा नभएको स्थानीयको गुनासो छ । उत्पादनको भण्डार रहेको यस क्षेत्रका बासिन्दाले यो सडकलाई आफ्नो क्षेत्रको समृद्धीको द्वार सम्झेका छन् । ‘हामीकहाँ फलफुल, नगदेबाली, कृषिबाली, पशुपालन सबैको उल्लेख्य सम्भावना छ,’ बोगटान क्षेत्रमा पर्ने बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्द भन्छन्,‘हाम्रा दाजुभाईले डोकोनाङ्लोमा बोकेर पनि राम्रो कमाईरहेका छन् । कम्तीमा बाह्रैमास सडक उहिल्यै पुगिदिएको भए हाम्रो आयस्तर निकै माथि पुगिसक्थ्यो ।’
प्रकाशित: १६ मंसिर २०७४ ११:२६ शनिबार