२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहिद परिवार भन्छन्– हामी भोटबैंक मात्र भयौं

सप्तरीको मलेठ घटनामा मारिएका पीताम्बर मण्डलकी पत्नी सोमनीदेवी मण्डल। तस्बिर : जितेन्द्रकुमार झा

मलेठ – राजविराज–रुपनी सडक खण्डको छेउमै पर्ने मलेठ गाउँ पछिल्लो समय चर्चामा छ । राजविराज नगरपालिकाअन्तर्गत पर्ने मलेठलाई स्थानीयले ‘सहिद गाउँ’ समेत भन्छन् । गत फागुन २३ गते एमालेको मेची–महाकाली अभियान क्रममा भएको झडपमा प्रहरीको गोली लागेर यहाँ पाँचजनाको मृत्यु भयो । तीमध्ये तीनजना मलेठ गाउँकै बासिन्दा थिए। 

प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी प्रचार मलेठबाटै सुरु गरे । चुनावी रौनक थपिएसँगै दैनिकजसो मलेठमा उम्मेदवार तथा दलका नेता आवतजावत क्रम बढिरहेको छ । तर, जलहरी मलेठका ८५ वर्षीय गोसाइ मण्डल र उनकी बुहारी सोमनीदेवीलाई निर्वाचनले छोएको छैन । मलेठ घटनामा बूढेसकालको सहारा छोरा (पीताम्बर) गुमाएका मण्डललाई अझै सो घटनाले झस्काइरहन्छ।

मलेठ घटनाका सहिद पिताम्बर मण्डलका बुवा गोसाइ मण्डल भन्छन्, ‘शेरबहादुर देउवा, पुष्पकमल दाहाल र बाबुराम भट्टराईसँग भेट भयो भने मेरो छोरा किन मारियो म सोध्थें, अग्रह गर्थे, हात जोडेरै भन्थे सबैजना बाँडीचुँडी सत्ता भोग्नुस् तर कसैको सन्तानलाई अनाहकमा मार्ने काम नगरिदिनुस् ।’ 

निर्वाचनमा आफ्नो पक्षमा मत माग्न आउने राजनीतिक दल र उम्मेदवारलाई गोसाइको एउटै प्रश्न हुन्छ, ‘उसले (पीताम्बर) के गल्ती गरेको थियो र गोली ठोकेको?’ 

निरक्षर भए पनि राजनीतिप्रति सचेत मण्डलले छोराको हत्याको कारण खोजिरहेका छन् । ‘सहिद परिवार’ का पक्षमा बोल्ने दललाई मतदान गर्ने योजना उनको छ । तर, अहिलेसम्म दलका उम्मेदवार बिनायोजना र कार्यक्रम भोट माग्न आएको उनले सुनाए । ‘जितेपछि यहाँको विकास गर्छु, सहिद परिवारलाई हेर्छु भन्छन्, तर कुनै योजना नै छैन, कसरी पत्याउने?’ 

मजदुरी गरेर कमाएको पैसाले बिहानबेलुका छाक टारिरहेको  मण्डल परिवार अहिले बेसहारा छ । ‘पाँच वर्षअघिसम्म त काम गर्थें,’ उनले भने, ‘तपाईं बूढो हुनुभयो अब काम गर्नुपर्दैन भन्थ्यो, तर  उसै (छोरा) लाई गुमाउनुप¥यो । मलाई जस्तो दुःख अरूलाई नपरोस्।’ 

बुहारी र दुई नातिसँग बस्दै आएका मण्डल सहिद परिवारका लागि १० लाख रुपैयाँ नभएर रोजगारी दिए गुजारा चलाउन सजिलो हुने बताउँछन् । पीताम्बरका दुई छोरा र दुई छोरी छन् । छोरीको विवाह भइसके पनि छोराहरूको पढाइलेखाइ छैन । १८ वर्षका जेठा छोरा दर्शनले कक्षा आठ पढ्दापढ्दै पैसा नभएर स्कुल छाडेका हुन्।  
एकपटक तीन ठूला नेतालाई भेट्न इच्छा गोसाइको छ । ‘शेरबहादुर देउवा, पुष्पकमल दहाल र बाबुराम भट्टराईसँग भेट भयो भने मेरो छोरा किन मारियो भनेर सोध्थें’, उनले भने, ‘उनीहरूलाई अग्रह गर्थें, हात जोडेरै भन्थें सबैजना बाँडीचुँडी सत्ता भोग्नुस् तर कसैको सन्तानलाई अनाहकमा मार्ने काम नगरिदिनुस् ।’ 

गोसाइ मात्रै हैन । पछिल्ला आन्दोलनमा ज्यान गुमाएका अधिकांश परिवारको अवस्था चिन्ताजनक छ । मलेठ घटनामा प्रहरीको गोली लागेर पीताम्बर, वीरेन्द्र महतो, सञ्जन मेहता, इनर यादव र आनन्द साहको ज्यान गएको थियो । पीताम्बर, वीरेन्द्र र सञ्जन मलेठकै बासिन्दा थिए । मलेठ घटनासहित मधेस आन्दोलनका क्रममा सप्तरीबाट ११ जनाको मृत्यु भएको छ।  

निराश सहिद परिवार 
मधेसमा स्थानीय तह निर्वाचन सकिएको धेरै भएको छैन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । सहिद तथा सहिद परिवारको मुद्दालाई भावनात्मक रुपमा जोडेर चुनाव प्रचार पनि भइरहेको छ । के मधेसवादी, के अन्य सबै दल, सबै उम्मेदवारको प्रतिबद्धतापत्रदेखि भाषणमा सहिद, सहिदका सपना र सहिद परिवारको त्याग तथा बलिदानको गाथा गाइएको छ । तर, पनि सहिद परिवारलाई चुनावले छोएको देखिँदैन। 

सहिद परिवारमा चुनावले न त उत्साह ल्याएको देखिन्छ न त आशा र अपेक्षा नै । चुनावपछि पनि सहिदका सपना नेताहरूले पूरा गर्लान् भन्ने विश्वास छैन सहिद परिवारलाई । ‘स्वःनिहित राजनीतिक स्वार्थसिद्धिबाहेक सहिदको नाम र सहिद परिवार हाम्रा नेताहरूलाई चाहिएन’, मधेस आन्दोलनका सहिद रामकिशुन राउतका भाइ धर्मपाल राउत भन्छन्, ‘सहिदको नामलाई कमर्सियल ब्रान्डजस्तै प्रयोग गर्ने काम भइरहेको छ, भोट बैंक बनाउने काम भइरहेको छ, कहिले चुनाव जित्न त कहिले आन्दोलनका नाममा राज्य सत्तालाई तर्साउन यसको प्रयोग भइरहेको छ।’ 

चुनावी सभामा सहिद परिवारका सदस्यलाई बोलाएर दोसल्ला ओढाउने, सहिदको सपना पूरा गर्छौं भन्नेजस्ता भाषण गरेर  भोट हासिल गर्ने काममात्रै भइरहेको उल्लेख गर्दै राउत भन्छन्, ‘प्रत्यक्षतर्फका उम्मेदवारलाई हेर्नुस् न । कतिजना सहिद परिवारका सदस्य छन्, समानुपातिकतर्फ हेर्नुस् कतिजना सहिद परिवारका सदस्यको नाम छ ? नेताहरूको बोली र व्यवहारमा एकरुपता भएको भए पक्कै पनि यस्तो अवस्था आउने थिएन।’ 

तीन ठूला राजनीतिक दलबाहेक मधेसकेन्द्रित भन्ने दललेसमेत सहिद र सहिद परिवारलाई उपेक्षा गरेको उनको आरोप छ । ‘मधेस आन्दोलन कुनै दल विषेशको मात्रै थिएन र सहिद पनि कुनै दल वा समुदाय विषेशको हुँदैन’, उनले भने, ‘सहिदप्रतिको सम्मानका लागि पनि ठूला दलहरूले टिकट वितरण गर्दा सहिद परिवारलाई सम्झिनुपर्ने थियो, झन् मधेसवादीको त कुरै नगरे हुन्छ।’

स्थानीय तह निर्वाचनमा पनि संघीय समाजवादी फोरम, राजपालगायत कुनै पनि दलले सहिद परिवारका सदस्यलाई आधिकारिक उम्मेदवार बनाएका थिएनन् । सहिद रामकिशुनका भाइ धर्मपाल हनुमाननगर कंकालीनी नगरपालिका–३ मा सदस्य पदमा स्वतन्त्र उम्मेदवार बनेका थिए । अर्का सहिद दशनलाल यादवका छोरा सरोजकुमारले पनि विष्णुपुर गाउँपालिका–१ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।  

प्रकाशित: १३ मंसिर २०७४ ०१:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App