नेपालको चारदिने भ्रमणका लागि आइतबार काठमाडौं आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले द्वन्द्वपीडितका आवश्यकता पूरा गरी अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतका आदेशलाई ध्यानमा राखेर शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय चाँडै टुंगोमा पुर्याउन सुझाव दिएका छन्। उनले संक्रमणकालीन न्यायले पीडित परिवार र समुदायमा शान्ति कायम गर्न सक्नुपर्ने बताए।
महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, द्वन्द्वसँग सरोकारवालालगायतसँगको भेटमा नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा गम्भीर चासो राख्दै यसलाई टुंगोमा पुर्याउन आवश्यक सहयोग गर्न राष्ट्रसंघ तयार रहेको बताएका हुन्। उनले शान्ति प्रक्रिया टुंग्याउन यहाँका सरोकारवाला पक्षले बढी ध्यान दिनुपर्ने पनि बताए।
प्रधानमन्त्री दाहालसँग करिब आधा घण्टा कुराकानी गरेका महासचिव गुटेरेसले पछिल्ला २० वर्षमा नेपालमा आश्चर्यजनक रूपमा विकास भएको बताएका थिए। ‘तपाईंहरूले गणतन्त्र स्थापना गर्नुभयो, शान्ति स्थापना गर्नुभयो, दिगो विकासका लक्ष्य र जलवायुसम्बन्धी कार्य गरिरहनुभएको छ,’ भेटमा गुटेरेसले भनेका थिए।
अति कम विकसित देशको हैसियतबाट माथि उक्लिने तयारीमा रहेको नेपालका लागि आगामी केही वर्ष निर्णायक हुने पनि उनले बताएका थिए।
प्रधामन्त्री दाहालसँग आधा घण्टा र राष्ट्रपतिदेखि अन्य सबैसँग १५÷१५ मिनेट भेटवार्ता गरेका गुटेरेसले नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई नै प्राथमिकतामा राखेका थिए। भेटमा गुटेरेसले नेपालका समस्या समाधानका लागि राष्ट्रसंघ र नेपालले कसरी मिलेर काम गर्न सक्छन् भनेर अन्वेषण गर्न आफूले चाहेको बताएका थिए। ‘विद्यमान समस्या समाधान गर्न, सम्भावनाहरूको खोजी गर्न र अन्तर्राष्ट्रिय समर्थनमा सुधार गर्नका लागि अझ बढी मिलेर कसरी काम गर्न सकिन्छ भनेर अन्वेषण गर्न चाहन्छु’, उनले भने, ‘किनभने नेपाल विश्वको मित्र भए पनि विश्व नेपालका लागि असल मित्र हुनुपर्छ। मिलेर काम गर्दा हामी यसलाई वास्तविक बनाउन सक्छौं।’
गुटेरेसका अनुसार नेपाल पनि विश्वव्यापी विभिन्न संकटको आँधीमा फसेको उल्लेख गरेका थिए। ‘कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु संकटले निम्त्याएका असरबाट नेपाल पनि प्रभावित भयो’, उनले भने। उनले विकसित देशहरूले दिगो विकासलाई समर्थन गर्न र जलवायु संंकटसँग जुध्न नेपाललगायत विकासशील अर्थतन्त्र भएका देशलाई सहयोग गरेर अघि बढ्नुपर्ने औंल्याए। ‘यस यात्रामा, म हिमालयहरूको भ्रमण गर्नेछु। हिमनदीहरूमा जलवायु संकटको भयावह प्रभाव आफैं हेर्न जान्छु। स्थिति नाजुक छ र यो द्रुत गतिमा छ। नेपालले ३० वर्षको अवधिमा झन्डै एक तिहाइ हिउँ गुमाएको छ’, उनले भने।
गुटेरेसले हिम नदीहरू द्रुत गतिमा पग्लिरहेको बताउँदै अगाडि भने, ‘समुदायहरूमा विनाशकारी प्रभाव परेको छ। म हिमाली क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई भेट्ने छु। उनीहरू कसरी प्रभावित छन् भनेर प्रत्यक्ष सुन्ने छु। भगवान् बुद्धको शान्ति र अहिंसाको शिक्षालाई प्रतिविम्बित गर्न म पोखरा र लुम्बिनी पनि जानेछु।’ भेटघाटका क्रममा गुटेरेसले नेपाली सेना र प्रहरीले विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए।
संयुक्त राष्ट्रसंघका महासचिव गुटरेससँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया, मौसम परिवर्तन, नेपालले विश्व समुदायमा शान्ति कायम गर्न निर्वाह गरेको भूमिकालगायतका विषयमा कुराकानी भएको बताए।
‘नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा छ। यसलाई टुंगोमा पु¥याउन संयुक्त राष्ट्रसंघको भूमिका आवश्यक छ। बडो सौहाद्रपूर्ण वातावरणमा दुईपक्षीय हित र राष्ट्रिय अन्तर्राष्ट्रिय महŒवका विषयमा छलफल भयो,’ दाहालले भने। भेटमा आर्थिक विकास र समृद्धिका विषयमासमेत कुराकानी भएको दाहालले बताए। उनले जलवायु परिवर्तनका कारण उत्पन्न असर न्यूनीकरण गर्ने विषयमा पनि गम्भीर छलफल भएको बताए।
‘मौसम परिवर्तनका विषयमा पनि हामीले गम्भीर रूपले चर्चा गर्यौं। नेपालमा मौसम परिवर्तनको नकारात्मक परिणाम छ। त्यसलाई कम गर्न अन्तर्राष्ट्रिय समुदाय, त्यसमा पनि संयुक्त राष्ट्रसंघको महासचिवका हैसियतले उहाँले खेलेको भूमिकाको विषयमा पनि कुराकानी भयो’, प्रधानमन्त्री दाहालले भने। भेटबाट आफू खुसी र सन्तुष्ट रहेको दाहालले बताए।
छिट्टै प्रक्रिया अघि बढाइन्छ: देउवा
गुटेरेसले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन्। भेटमा उनले संक्रमणकालीन न्यायको विषयमा चासो राखे। गुटेरेसको चासोलाई सम्बोधन गर्दै देउवाले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक संसद्बाटै छिट्टै पारित हुने र शान्ति प्रक्रियाका बाँकी काम पूरा गरिने बताएका थिए।
गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन भइरहेका कामको विषयमा चासो राखेपछि देउवाले ऐन संशोधन विधेयक संसद्बाट छिट्टै पारित गरी प्रक्रिया अघि बढाइने बताएको जानकारी भेटमा सहभागी कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले दिए। देउवाले गुटेरेसलाई जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वको ध्यान केन्द्रित गरिदिन आग्रह गरेका थिए। गुटेरेसले यो नेपालको मात्रै नभएर विश्वकै समस्या भएकाले आफ्नो ध्यान केन्द्रित भएको बताएका थिए।
प्रधानमन्त्री दाहालकै कारण समस्या: ओली
यसैगरी गुटेरेसले शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्याउन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। ओलीसँग संसद् भवनमा भएको भेटवार्ताका क्रममा गुटेरेसले पीडितको अधिकार र अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुसार शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्याउन सुझाव दिएका हुन्। ओली–गुटेरेस भेटवार्तामा शान्ति प्रक्रियालगायत विषयमा छलफल भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
ओलीले संक्रमणकालीन न्यायलाई छिटो टुंग्याउन चाहेको बताएका थिए। प्रधानमन्त्री दाहालले नै हिंसालाई बढवा दिँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन कठिन भएको जानकारी ओलीले गराएका थिए। ‘पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायका नाममा अन्याय हुनुहुँदैन भन्नुभयो। संक्रमणकालीन न्याय पीडितलाई ध्यान राखेर टुंग्याइनुपर्छ।
हामी त्यसलाई छिटोभन्दा छिटो टुंग्याउन चाहन्छौं तर प्रधानमन्त्रीज्यू, जो हिजोको विद्रोही नेता हुनुहुन्थ्यो, ले नै यी सबै विषय टुंग्याउन भूमिका खेल्नुपर्नेमा अलिअलि हिंसालाई बढवा दिने खालका क्रियाकलाप गर्दा अलिकति असहज जस्तो भएको छ। खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रूपमा मान्यता दिने काम भयो। यसले पीडित अलिकति चिन्तामा छन्’, भेटमा ओलीलाई उद्धृत गर्दै ज्ञवालीले भने।
चाँडै निष्कर्षमा पुग्छौं: सभामुख घिमिरे
गुटेरेसले सभामुख देवराज घिमिरेसँगको भेटमा पनि शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंग्याउन विलम्ब भएको विषयमा चासो राखे। सिंहदरबारमा भएको भेटमा गुटेरेसले यस्तो चासो राखेपछि सभामुख घिमिरेले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत संक्रमणकालीन न्यायलाई चाँडै तार्किक निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे।
‘दुवै आयोगसम्बन्धी ऐन संशोधनका लागि तयार पारिएको विधेयकमा संसद् र संसदीय समितिमा गम्भीरतापूर्वक छलफल भइरहेको छ, आशा छ हामी निकट समयमा नै यो काम गर्नेछौं,’ सभामुख घिमिरेले भनेका थिए। उनले विधेयकमा प्रस्ताव गरिएका विषयबारे गुटेरेसलाई ब्रिफिङ गरेका थिए।
‘नेपालको संक्रमणकालीन न्याय प्रकिया सन् २००६ मा सरकार र तत्कालीनन विद्रोही पक्षबीच भएको विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतका निर्देशनहरू, सम्बन्धित अन्तर्राष्ट्रिय प्रतिबद्वता, पीडित पक्षको चासो एवं धरातलीय वस्तुस्थितिबाट निर्देशित छ,’ सभामुख घिमिरेले भनेका थिए। उनले नेपालको शान्ति प्रक्रिया अघि बढाउन राष्ट्रसंघीय मिसन (अनमिन) को मध्यस्थताले ठूलो सहयोग गरेको पनि बताए। गुटेरेसले नेपाल संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्याउन राष्ट्रसंघ आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए।
पाटन दरबार क्षेत्र भ्रमण
गुटेरेस राजनीतिक भेटघाट गरेपछि पाटन दरबार क्षेत्र पुगे। गुटेरेसलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्दै दरबार क्षेत्रको भ्रमण गराए। त्यसपछि गुटेरेस नेपाल सरकारबाट होटल सोल्टीमा आयोजना गरिएको रात्रीभोजमा सरिक भए।
गुटेरेस सोमबार बिहान सोलुखुम्बुको खुम्बु पासङल्हामु गाउँपालिकास्थित नाम्चे र सगरमाथा आधार शिविर जाने कार्यक्रम छ। जलवायु परिवर्तनको असर बुझ्न उनले त्यहाँको अवलोकन भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित युएन हाउसको कार्यक्रममा सहभागी भएर साँझ पोखरा जाने छन्। उनले मंगलबार अन्नपूर्ण आधार शिविर र लुम्बिनी भ्रमण गरी अपराह्न ४ बजे संघीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघि सन् २००८ मा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन नेपाल भ्रमणमा आएका थिए। मुनको नेपाल भ्रमणलगत्तै नेपालमा माओवादी लडाकुको व्यवस्थापन र समायोजन तथा हतियार व्यवस्थापनको काम सम्पन्न भएको थियो। अहिले पनि गुटेरेसको भ्रमणपछि शान्ति प्रक्रियाको बाँकी काम संक्रमणकालीन न्याय निरूपण हुने अपेक्षा गरिएको छ।
‘संकटग्रस्त विश्वमा बुद्ध–सन्देश झनै सान्दर्भिक’
एन्टोनियो गुटेरेस
सुन्दर नेपालमा पुनः आउन पाउँदा अत्यन्त खुसी छु। म र नेपालका प्रधानमन्त्रीबीच अत्यन्त सार्थक बैठक भर्खरै सम्पन्न भएको छ। न्यानो आतिथ्यका लागि म उहाँ र समग्र नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु।
वर्तमान समय अत्यन्त कठिन र तनावपूर्ण छ। मध्यपूर्वमा जारी द्वन्द्व हजारौं माइल टाढा भए पनि नेपाली जनताको घरआँगनलाई समेत प्रभावित पारेको छ। हमासले अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर ज्यान गुमाएका १० नेपाली विद्यार्थीका परिवारजनप्रति म गहिरो समवेदना प्रकट गर्न चाहन्छु।
यसैगरी आक्रमणका कारण हाल हराइरहेका विपीन जोशीको सकुशल फिर्ताको कामना गर्छु। म भर्खर कतारबाट आएको हुँ। गाजामा अपहरणमा परेका सर्वसाधारणको बिनासर्त र तत्काल रिहाइका लागि म निरन्तर प्रयासरत छ। म हमासले गरेको भयावह हमलाप्रतिको घोर निन्दालाई दोहोर्याउन चाहन्छु। सर्वसाधारणको हत्या गर्नु, घाइते बनाउनु र अपहरण गर्नुको कुनै औचित्य छैन।
हरेक पल गाजामा अवस्था चिन्ताजनक बनेको छ। गाजामा आवश्यक पर्ने मानवीय सहयोगका लागि आक्रमणलाई रोक्नुपर्नेमा इजरायलले आफ्नो सैन्य अपरेसनलाई तीव्र बनाएकोमा म खेद प्रकट गर्छु।
यो आक्रमणमा परेर ठुलो संख्यामा सर्वसाधारणको हताहती र घाइते हुनु सम्पूर्ण रूपमा अस्वीकार्य विषय हो। सम्बद्ध सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको परिपालन गर्नुपर्छ। यो कानुन लडाइँले ल्याएको त्रासदी र अनुभवका आधारमा बनेको हो। म सधैं स्थापित अन्तर्राष्ट्रिय मानवीय कानुनका परिपालन हुनुपर्छ भन्ने ठान्छु। सर्वसाधारणको सुरक्षा अहं विषय हो।
युद्ध कानुनले मानव जीवनको रक्षा र मानवीय चासोलाई सम्मान गर्ने दिशामा प्रस्ट नियमहरू बनाएका छन्। आफ्नो उपयुक्तताका लागि यी कानुनहरूलाई विकृत र तोडमोड गर्न सकिँदैन। हाम्रै्र आँखाअगाडि विश्वले मानवीय संकट खेपिरहेको छ। जान कहि सुरक्षित स्थान नभएका २० लाख मानिस बाँच्न आवश्यक पर्ने खाद्यपदार्थ, पानी, औषधि र बस्ने ठाउँबाट वञ्चित बनेका छन्। उनीहरूलाई लक्षित गरेर लगातार बम वर्षा भइरहेको छ।
म सम्बद्ध सबैलाई जिम्मेवारी लिएर यो द्वन्द्वबाट फिर्ता हुन आग्रह गर्छु। तत्काल मानवीय युद्धविराम हुनुपर्ने, अपहरणमा परेका सबैको निःसर्त रिहा गर्नुपर्ने, गाजाका सर्वसाधारणका लागि आवश्यक मानवीय सहायतालाई तत्काल पूरा गर्नुपर्ने माग म दोहोर्याउन चाहन्छु। गाजा, इजरायल, नेपाललगायत विश्वका अन्य सर्वसाधारणले भोगेको यो दुस्वप्नलाई अन्त्य गर्ने दिशामा सबैको सहकार्य आवश्यक छ।
महिला तथा सज्जनवृन्द!
म नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्धलाई सुदृढ पार्न काठमाडौंमा छु। शान्ति र बहुपक्षीयतको पक्षमा नेपालले धेरै अघिदेखि वकालत गर्र्दै आएको छ। यो नेपालको गर्व गर्न लायक परम्परा हो। बहुपक्षीय समाधानका उपायअन्तर्गत विश्वमा विभिन्न स्थानमा शान्ति सेना पठाएर नेपालले गरेको योगदानप्रति संयुक्त राष्ट्रसंघ कृतज्ञ छ।
यसैगरी नेपालले विगत २० वर्षमा गरेको प्रगति उत्साहजनक छ। यो अवधिमा नेपाल संघीय बनेको छ, शान्ति स्थापना भएको छ, दिगो विकास र जलवायु परिवर्तन न्यूनीकरण गर्ने कार्यमा नेपाल लागिपरेको छ। अझै धेरै गर्न बाँकी छ। अल्प विकसित राष्ट्रबाट नेपाल स्तरोन्नति हुने तयारी गरेको सन्दर्भमा आगामी पाँच वर्ष नेपालका लागि निर्णायक हुनेछ।
यसैगरी नेपाल शान्ति प्रक्रियाको अन्तिम चरणमा रहेकाले संक्रमणकालीन न्यायको विषय पनि महŒवपूर्ण छ। संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरूप, सर्वाेच्च अदालतको आदेश, पीडितको आवश्यकताका आधारमा यो विषयमा आवश्यक प्रक्रिया निर्धारण गर्ने र कार्यान्वयन गर्ने दिशामा नेपाललाई सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार छ।
आफूले सिर्जना नगरेको कोभिड १९ महामारी, मुद्रास्फीति तथा जलवायु संकटका कारण नेपाल पनि विश्वव्यापी संकटको भुमरीमा छ। यो विषयलाई सम्बोधन गर्न अझै धेरै अन्तर्राष्ट्रिय कार्य आवश्यक छन्। दिगो विकासका लक्ष्य हासिल गर्न र जलवायु संकटलाई सम्बोधन गर्न नेपाललगायत विकासोन्मुख देशलाई सहयोग गर्ने दिशामा विकसित देश अगाडि बढ्नुपर्छ।
यो भ्रमणको अवसरमा जलवायु परिवर्तनले हिमनदीमा पारेको प्रभावको स्थलगत अध्ययन गर्न म हिमालय क्षेत्रमा जाँदैछु। अवस्था गम्भीर छ र यो द्रुत गतिमा अगाडि बढेको छ। गत ३० वर्षमा नेपालले झन्डै एक तिहाइ हिउँ गुमाएको छ।
रेकर्ड स्तरमा हिमनदीहरू पग्लिरहेका छन्। यो संकटले स्थानीय समुदायलाई नराम्ररी प्रभावित गरेको छ। म हिमालय क्षेत्रका स्थानीयसँग यो विषयमा प्रत्यक्ष कुराकानी गर्नेछु। यसैगरी भगवान् बुद्धको शान्ति र अहिंसाको सन्देशलाई आत्मसात् गर्न म पोखरा र लुम्बिनीको भ्रमण गर्नेछु। संकटग्रस्त विश्वका लागि बुद्धका सन्देशको सान्दर्भिकता हाल झन् बढेको छ।
यसैगरी नेपाल र संयुक्त राष्ट्रसंघले कसरी समस्याहरूको समाधान, अवसरहरूको पहिचान र अन्तर्राष्ट्रिय सहयोगलाई सुधार गर्न सक्छन् भन्ने विषयमा थप छलफल गर्न चाहन्छु। नेपाल विश्वका लागि मित्रवत् छ, विश्व पनि नेपालका लागि राम्रो साथी हुनुपर्छ। मिलेर काम गर्न सक्यौ भने यो लक्ष्य वास्तविकतामा परिणत हुन सक्छ। धन्यवाद!
(सिंहदरबारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आधारित)
प्रकाशित: १३ कार्तिक २०८० ००:१७ सोमबार