५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पर्सि कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दैछन। प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन।

जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा महासचिव गुटेरेसले ३० अक्टोबर २०२३ मा सङ्घीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्नेछन।

उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग सङ्क्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ। उनले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्नेछन।

महासचिवका साथमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्रसङ्घको टोली पनि सहभागी हुनेछ।

भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन। महासचिव गुटेरेस १ नोभेम्बरमा काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १० कार्तिक २०८० १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App