पश्चिमेली ब्युरो
नेपालगन्ज- बैतडी पञ्चेश्वर गाउँपालिका–४ ,आम्चौराकी ५० वर्षीया रुवशी आउजीले स्थानीय तह निर्वाचनमा वारेसमार्फत भोट दिइन। मत बदर हुने चिन्ताले उनले वारेसमार्फत मतदान गरेकी हुन् । मतदाता शिक्षा नपाएकाले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि मतदान गर्न वारेस लिएर जानुपर्ने बाध्यता रहेको उनी बताउँछिन् । ‘कसैले पनि मत हाल्न सिकाएका छैनन्’, उनले भनिन्, ‘मत नबिग्रियोस् भनेर अरुलाई छाप लगाउन दिनुपरेको हो ।’ मत बदर हुनुभन्दा छाप लगाउन जान्नेलाई सँगै लगेर छाप लगाइमाग्ने गरेको उनी बताउँछिन् ।
रुवशीमात्रै होइन, मतदाता शिक्षा नपुग्दा धेरैले कसरी मतदान गर्ने भनेर जानेकै छैनन् । उनीजस्तै केहीले वारेसनामाबाट मतदान गर्ने गरेका छन् भने कयौंको मत बदर हुने गरेको छ । आगामी मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर ७ का बैतडी, दार्चुला, बझाङ र बाजुराका ४ जिल्लामा मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन । ग्रामीण क्षेत्रका अधिकांश मतदातालाई भोट कसरी हाल्ने भन्ने जानकारी छैन । ‘तीनवटा मतपत्र हुन्छन् भन्ने सुनेकी छु, भोट कसरी दिने भन्ने विषयमा अझै थाहा छैन, आफूले दिएको भोट बदर नहोस् भन्ने इच्छा हो तर सिकाउन कोही आएका छैनन्’, पुर्चौडी नगरपालिका–४, भटनाकी शान्ति भट्टले भनिन्, ‘गाउँका धेरै व्यक्ति मतदानको विषयमा अनविज्ञ छन् ।’
यी जिल्लामा मतदाता शिक्षा कार्यक्रम ढिलो सञ्चालन भएकाले अधिकांश मतदातासम्म पुगेको छैन । निर्वाचन आयोगले ठूलो मात्रामा रकम विनियोजन गरे पनि मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन । ‘मतदाता शिक्षा प्रभावकारी हुन सकेको देखिँदैन’, ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट भन्छन्, ‘मतदातालाई जुनरुपमा तालिम, प्रशिक्षण र अभ्यास दिइनुपर्ने हो, त्यो हुन सकेको छैन ।’ मतदाता शिक्षाका लागि विनियोजन भएको रकम परिणाममुखी हुन नसकेको उनको भनाइ छ । ‘मतदाता शिक्षा नभएकै कारण ठूलो संख्यामा मत बदर हुने गरेको छ’, उनले भने ।
प्रदेश नम्बर ७ अन्तर्गत मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुने जिल्लामा विगतका तुलनामा धेरै ढिलो मतदाता शिक्षा कार्यक्रम सुरु भएकाले यसपटक अझ बढी मत बदर हुने चिन्ता स्थानीयको छ ।
निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयंसेवक गाउँगाउँमा खटाए पनि उनीहरु सबै मतदातासम्म पुग्न सकेका छैनन् । समय कम भएकाले थोरै संख्यामा रहेका स्वयंसेवक सबै मतदातासम्म पुग्न नसकेका हुन् । ‘गाउँमा अहिलेसम्म मतदाता शिक्षा स्वयंसेवक पुगेका छैनन्,’ सिगास गाउँपालिका–६ का खगेन्द्र धामीले भने, ‘मतदाता शिक्षा अभावमा बदर मत बढ्ने देखिएको छ ।’ स्थानीय निर्वाचनमा समेत मतदाता शिक्षा दिन स्वयंसेवक नपुगेको उनले बताए । मतदाता शिक्षा राजनीतिक दलका कार्यकर्ताले मात्र दिने गरेको उनको भनाइ छ । दलका कार्यकर्ताले मतदाता शिक्षा सिकाउँदा सर्वसधारणको मत स्वतन्त्र ढंगले अभिव्यक्त नहुने खतरा बढेको स्थानीय बताउँछन् । दलका कार्यकर्ता आफ्नो पार्टीको चुनाव चिन्हमा मात्र मतदान गर्न सिकाउने गरेका छन् ।
बैतडीमा एक सय ८२ जना मतदाता शिक्षा स्वयंसेवक खटाइएको निर्वाचन कार्यालयले जनाएको छ । एकैपटक अलगअलग मतपत्रमा मतदान गर्नुपर्ने भएपछि मतदाता अन्योलमा परेका छन् । गाउँका सर्वसाधारण मतदान कसरी गर्ने भन्ने विषयमा अन्योलमा देखिन्छन् । मतदाता शिक्षाको कमीले प्रत्येक निर्वाचनमा बदर मतसंख्या घट्न सकेको छैन । गाउँगाउँमा मतदाता शिक्षा स्वयंसेवक पुग्न नसक्दा यस्तो समस्या उत्पन्न भएको हो । राजनीतिक दलका कार्यकर्तासमेत बदर हुने मतका कारण चिन्तित छन् । राजनीतिक दलका कार्यकर्ताले प्रचारसँगै मतदाता शिक्षा दिँदै आएका छन् । मत बदर नहोस् भनेर मत हाल्ने तरिका सिकाउने गरेको कांग्रेस जिल्ला सचिव वीरबहादुर बिष्टले बताए ।
स्थानीय तह निर्वाचनमा दुई दशमलव ३५ प्रतिशत मत बदर भएको थियो । खसेका ८९ हजार सात सय ८१ मतमध्ये दुई हजार एक सय ११ मत बदर भएको निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ ।
कात्तिक २६ गतेदेखि मतदाता शिक्षा स्वयंसेवक गाउँ पसेका छन् । सीमित संख्या भएकाले सबै गाउँमा पुग्न सकिने अवस्था नभएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले स्विकारेका छन् । यद्यपि बढीभन्दा बढी मतदातासम्म मतदाता शिक्षा पु¥याउन खोजिएको उनले बताए । ‘सकेसम्म अधिकतम नागरिकलाई मतदान प्रक्रियाका बारेमा सिकाउनेछौं,’ उनले भने, ‘मतदातालाई जहाँ भेट्यो त्यही नै मतदान प्रक्रियाका बारेमा सिकाउन मतदाता शिक्षा स्वयंसेवकलाई भनेका छौं ।’
मतदाता शिक्षा स्वयंसेवक भने दुर्गम ठाउँमा नपुग्ने गरेको स्थानीयको गुनासो छ । ‘स्थानीय तह निर्वाचनमा पनि मतदाता शिक्षा स्वयंसेवक खटिएका थिए । त्यो बेला धेरै गाउँमा उनीहरु पुग्न सकेनन्’, पञ्चेश्वर गाउँपालिका–२ का मोहन चन्दले भने, ‘निरक्षर र वृद्ध मतदातालाई भोट हाल्न सकस हुने गरेको छ ।’
दार्चुलामा पनि अधिकांश मतदाताकहाँ मतदाता शिक्षा पुग्न सकेको छैन । बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ ।
स्थानीय तहको निर्वाचनमा अत्यधिक मतपत्र बदर भएपछि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन निर्वाचन आयोगले निर्देशन दिएको थियो । तर पनि मतदाताकहाँ प्रभावकारी रुपमा मतदाता शिक्षा कार्यक्रम पुग्न सकेको छैन ।
दार्चुलाका दुई नगरपालिका र सात गाउँपालिकामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भनिए पनि मतदाता शिक्षाका लागि स्वयंसेवक नआएको स्थानीय बताउँछन् । ‘अहिलेसम्म मतदान गर्न कसैले सिकाएका छैनन्’, मालिकार्जुन गाउँपालिका–५ डाँडाकोटकी नन्दा गिरीले भनिन्, ‘चुनावमा मतपत्र तीन हुन्छन् भन्ने सुनेकी छु, मतपत्र नदेखेकाले मत बदर हुने हो कि भन्ने चिन्ता छ ।’ महाकाली गाउँपालिका–४ का तारा बडू आफ्नो गाउँमा मतदान गर्ने तरिकाबारेमा कसैले पनि नसिकाएको बताउँछन् । तीनवटा मतपत्रमा चार ठाउँमा उम्मेदवारलाई भोट दिनेबारे उनी निकै अन्योलमा छन् ।
पहिलो चरणमा निर्वाचन हुने विकट हिमाली जिल्ला दार्चुलामा पनि मतदाता शिक्षा नपुग्दा मत बदर हुनेमा स्थानीय चिन्तित छन् । जिल्लाभरि एक सय २९ मतदाता शिक्षा स्वयंसेवक खटिएका छन् । उनीहरु सबैतिर पुग्न सकेका छैनन् । मतदाता शिक्षा कार्यकर्ताका लागि एकदिने प्रशिक्षणपश्चात् कात्तिक २६ देखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो । थोरै दिन र कम संख्यामा स्वयंसेवक भएकाले सबै मतदाताकहाँ नपुग्न सकेका हुन् । मतदाता शिक्षा दिएर सबै मतदातालाई मत हाल्न उत्प्रेरित गर्नुपर्ने निर्वाचन आयोगको दायित्व भए पनि त्यो प्रभावहीन रहेको स्थानीय बताउँछन् ।
बझाङको तलकोट ४ निवासी नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष रणबहादुर सिंहले बझाङका गाउँमा मतदाता शिक्षा नपुगेको बताएका छन् । ‘म अहिले यहाँ गाउँमै छु, मतदाता शिक्षा दिन कोही आएको छैन’, उनले भने, ‘मतदाता शिक्षाको अभावमा धेरै मत बदर हुने चिन्ता छ ।’ सरकारले मोटो रकम मतदाता शिक्षाका लागि छुट्याए पनि मतदातासम्म मतदाता शिक्षा नपुग्नु दुःखलाग्दो कुरो भएको उनले बताए ।
‘मतदाता शिक्षाका लागि करोडौं बजेट छुट्याइए पनि मतदातालाई मतदान गर्ने तरिका थाहा नभएर मत बदर हुने भएको छ’, उनले भने, ‘मतदाता शिक्षा यसरी फितलो हुनु दुःखद कुरा हो ।’ मतदाता शिक्षा दिन तोकिएका स्वयंसेवक पनि राजनीतिक दलका कार्यकर्ता रहेको उनले बताए । ‘मतदाता शिक्षाजस्तो कार्यक्रम फितलो बनाएर छुट्याइएको बजेटको दुरुपयोग हुनु राम्रो होइन’, उनले भने । सबै मतदाताकहाँ पुगेर मतदान गर्न सिकाउने, तालिम दिने र ठाउँठाउँमा नमुना मतदानसमेत गराएर बदर मत घटाउन ध्यान दिनुपर्ने उनको भनाइ छ ।
प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो भए पनि तीन मतपत्रमा चार छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रिया झन्झटिलो छ । मतदाताले पहिलो मतपत्रमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिनुपर्छ । त्यो मतपत्र बाकसमा खसाइसकेपछि अर्को मतपत्र लिई प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई मत दिनुपर्छ । त्यसपछि अर्को मतपत्र लिई प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारलाई मतदान गर्नुपर्छ । समानुपातिकको मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका समानुपातिक र तल्लो भागमा प्रदेशसभाका समानुपातिकतर्फका उम्मेदवारका लागि मत संकेत गर्नुपर्छ ।
दिलबहादुर छत्याल/धनगढी, बिरा गडाल/बैतडी, प्रेम चुनारा/दार्चुला
प्रकाशित: ६ मंसिर २०७४ ०३:४१ बुधबार