१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय चुनाबभन्दा फेरिन सक्छ 'भोटिङ ट्रेन्ड'

काठमाडौं— प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिएसँगै चुनावी माहोल र यसको परिणामबारे अड्कालबाजी सुरु भएका छन्। पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा प्रतिनिधि सभाका ३७ र प्रदेश सभाका ७४ क्षेत्रमा हुने निर्वाचनका लागि ११ दिन बाँकी छ। दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लाका १ सय २८ क्षेत्रको निर्वाचन आउन २२ दिन बाँकी छ।

वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरण्मा सम्पन्न स्थानीय निर्वाचनमा पार्टीहरुले पाएका मतका आधारमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आउनसक्ने मतका आधारमा पूर्वाअनुमान गर्न थालिएको छ। यसरी स्थानीय मतका आधारमा नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतको पूर्वानुमान गर्नु कतिको सान्दर्भिक छ भन्ने विषयमा यहाँ चर्चा गरिएको छ।

स्थानीय निर्वाचनमा नेकपा एमालेले २ सय ९४ स्थानीय तहमा मेयर र ३ सय ३१ स्थानाीय तहमा उपमेयर पदमा जित हात पार्दै पहिलो पार्टी बनेको थियो। नेपाली कांग्रेसले २ सय ६६ स्थानीय तहमा मेयर र २ सय २३ स्थानीय तहमा उपमेयर पदमा विजयी हुँदै दोस्रो भएको थियो। माओवादी केन्द्रले १ सय ६ स्थानमा मेयर र १ सय ११ स्थानमा उपमेयर, संघीय समाजवादी फोरमले ३४ स्थानमा मेयर र ३२ स्थानमा उपमेयर जित हात पारेको थियो। प्रदेश नम्बर दुईमा मात्रै प्रतिस्पर्धा गरी पाँचौं स्थानमा रहेको राष्ट्रिय जनता पार्टीले २५ तहमा मेयर र ३० स्थानमा उपमेयर जित हात पारेको थियो।

त्यसैगरी नेपाल लोकतान्त्रिक फोरमले ९ तहमा मेयर र ८ उपमेयर, स्वतन्त्रले ६ तहमा मेयर र ५ उपमेयर जित हात पारेको थियो भने राष्ट्रिय जनमोर्चाले ३ तहमा मेयर र ४ तहमा उपमेयर जित हात पारेको थियो। राजनीतिक दलहरुले यसै आँकडालाई आ–आफ्नो अनुकुल हुनेगरी परिभाषित गरिरहेका छन्। यदि यही आँकडालाई आधार मानेर प्रतिनिधि सभाको निर्वाचनको मूल्याकंन गर्ने हो भने पार्टी एकताको अजेण्डासहित चुनावी मैदानमा होमिएको नेकपा एमाले र माओवादी केन्द्रसँगै चुनावी तालमेलमा गएको राष्ट्रिय जनमोचा मिलेर बनेको वाम गठबन्धन पहिलो पार्टी बन्ने कुरा नकार्न सकिँदैनँ। प्रदेश नम्बर दुईमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच तालमेल छ भने अन्य ठाउँहरुमा नेपाली कांग्रेससँगै, मधेसवादी दल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नयाँ शक्तिबीच चुनावी तालमेल छ।

देशभर ९ स्थानीय तहमा विजयी भएको लोकतान्त्रिक फोरम नेपाल कांग्रेसमै समाहित भएको छ।

‘स्थानीय निर्वाचनमा स्थानीय व्यक्ति उम्मेदवार बनेका हुन्छन्। जसमा नाता–सम्बन्धले पनि ठूलो भूमिका खेल्छ भने स्थानीय स्तरमा कसले विकास गर्न सकेको छ त्यस आधारमा मतदान गरिन्छ’, उनले भने। दाहालले यसअघि सम्पन्न स्थानीय निर्वाचन र आगामी प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम फरक हुने तीन वटा मुख्य आधार औंल्याए।

बाम गठबन्धन आगामी निर्वाचनबाट बहुमत ल्याएर पाँच वर्षसम्मका लागि स्थायी सरकार बनाउने रणनीतिका साथ अघि बढेको छ। एमाले नेताहरुले स्थानीय निर्वाचनमा पहिलो पार्टी बनेको एमाले र तेस्रो बनेको माओवादी मिलेर बनेको वाम गठबन्धन पहिलो हुने र कांग्रेसलाई पाखा लगाउने अभिव्यक्तिहरु दिइरहेका छन्। एमालेले स्थानीय निर्वाचनको मतका आधारमा आफूलाई पहिलो पार्टी बन्ने दाबी गरिरहेको छ।  
नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई भन्छन्, ‘अहिले जनता एमालेको पक्षमा छन्। स्थानीय निर्वाचनलाई मात्रै आधार मान्दा पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हामी पहिलो पार्टी बन्छौं। स्थानीय निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रलगायत साना दलहरु पनि हामीसँग सहकार्यमा हुनुहन्छ। त्यसले वाम गठबन्धन पहिलो पार्टी बन्ने भन्नेमा कुनै शंका छैन।’

नेपाली काँग्रेस नेता एमालेको यो तर्कमा सहमत छैनन्। नेपाली कांग्रेसले वाम गठबन्धनले मुलुकलाई साम्यवाद तथा अधिनायकवादको बाटो लग्ने भन्दै जनताले लोकतान्त्रिक शक्तिलाई नै भोट दिने दाबी उनीहरु गर्छन्। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद भन्छन्, ‘स्थानीय तहमा नेपाली काँग्रेसको तयारी कम थियो। जसले गर्दा कांग्रेसले दोस्रो हुनुपर्‍यो। स्थानीय तहको निर्वाचनमा स्थनीय विकासका मुद्दा उठाइने भएकोले र जाती, क्षेत्रका आधारमा मतदान गरिने हुन्छ। प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय मुद्दाका आधारमा मतदान गरिन्छ।’

स्थानीय निर्वाचनपछि भएको वाम गठबन्धन कांग्रेसको मत तान्ने आधार भएको नेता साउदले बताउँछन्। ‘वाम गठबन्धन केन्द्रमा भएको छ तर जिल्ला तहका नेता कार्यकर्तामा अझै अन्र्तविरोध छ। जनताले यस्तो अन्यौलमा भएको पार्टीलाई कसरी मत दिन्छन्’, उनले भने।

माओवादी केन्द्रको पनि आफ्नै तर्क छ। माओवादी केन्द्रमा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले स्थानीय निर्वाचनका आधारमा प्रतिनिधि सभाको नतिजा आँकलन गर्नु त्यति सान्दर्भिक नहुने तर्क गर्छन्। मतदाताले हरेक निर्वाचनमा फरक टेस्ट गरिरहेका बताउँदै भट्टले भने, ‘स्थानीय निर्वाचनमा को व्यक्तिले कसलाई के–कति गरे भन्ने आधारमा मत दिन्छन भने प्रतिनिधि सभा निर्वाचनमा कुन पार्टीले राष्ट्रका लागि कस्ता कामहरु गरेको छ भन्ने आधारमा मत दिन्छन्।’

स्थानीय तहको निर्वाचन र प्रतिनिधि सभाको निर्वाचनमा मतदाताले फरक मनोविज्ञानबाट मतदान गर्ने भएकोले स्थानीय निर्वाचनलाई हेरेर आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको नतिजा आँकलन गुर्न उपयुक्त नभएको राजनीतिक विश्लेषकहरु बताउँछन्। राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालका स्थानीय निर्वाचनमा स्थानीय व्यक्ति र स्थानीय मुद्दामा केन्द्रित हुने तर प्रतिनिधि सभा निर्वाचन राष्ट्रिय मुद्दाहरुमा आधारित हुने भएकोले नतिजा पनि फरक पर्ने बताउँछन्।

‘स्थानीय निर्वाचनमा स्थानीय व्यक्ति उम्मेदवार बनेका हुन्छन्। जसमा नाता–सम्बन्धले पनि ठूलो भूमिका खेल्छ भने स्थानीय स्तरमा कसले विकास गर्न सकेको छ त्यस आधारमा मतदान गरिन्छ’, उनले भने। दाहालले यसअघि सम्पन्न स्थानीय निर्वाचन र आगामी प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम फरक हुने तीन वटा मुख्य आधार औंल्याए। विश्लेषक दाहाल स्थानीय निर्वाचन पार्टी विशेषभन्दा पनि स्थानीय उम्मेदवारका नाता सम्बन्ध, गाउँठाउँमा गरेको सहयोग आधारमा मत खसेको बताउँछन्।

दोस्रो, स्थानीय निर्वाचनपछिका केही महिनामा स्थानीय प्रतिनिधिले गरेको कामको मूल्याकंनका आधारमा मत दिन्छन्। प्रतिनिधि सभाको निर्वाचनमा स्थानीय प्रतिनिधिको पनि प्रभावशाली भूमिका रहन्छ। यसमा कुन पार्टीबाट विजयी भएका उम्मेदवारले कसरी काम गरेका छन् त्यसका आधारमा पनि मत खस्ने देखिन्छ। अहिलेका स्थानीय जनप्रतिनिधिहरुले काम गर्न सकेन भन्दै चौतर्फी आलोचना भइरहेको छ। यसबाट जनता आजित छन्। यस कारणले पनि मत परिणाम पर्ने उनको तर्क छ।

तेस्रो, वाम गठबन्धन र एमाले–माओवादीको पार्टी एकताको प्रसंगले पनि मत परिणाम फरक हुने देखिन्छ। केपी शर्मा ओली र पुष्पकमल दाहालको निहित स्वार्थका लागि गरिएको वाम गठबन्ध र त्यसको उम्मेदवारहरुलाई जिल्ला तहका नेता कार्यकर्ता तथा मतदाताले सहजै स्वीकार्ने अवस्था छैन। वाम गठबन्धनका शीर्ष नेताहरुले दुई तिहाइ बहुमत ल्याएर दश वर्षसम्म एकल रुपमा शासन गर्ने नाराले पनि जनतामा शंका उत्पन्न भएको छ। वाम गठबन्धनले यस कुरालाई जनतासामु सही तरिकाले बुझाउन नसकेमा ठुलो घाटा व्यहोर्नुपर्ने देखिन्छ।

राजनीतिक दलहरुले जेजसरी व्याख्या गरेपनि घोषणापत्र हेरेर मत दिने मतदाता पाँच प्रतिशत पनि नरहेको उनको बुझाइ छ। ‘अहिले दलले जारी गरेका घोषणापत्र पढ्ने फुर्सद मतदातालाई छैन। आगामी निर्वाचनमा मतदाताले वाम तथा लोकतान्त्रिक गठबन्धनमध्ये कसले आगामी दिनमा राम्रो गर्न सक्छ भन्ने कुरालाई यसअघिका घटनाक्रमका आधारमा मूल्यांकन गरी मतदान गर्ने देखिन्छ।’

अहिले दलहरु आ–आफ्ना घोषणापत्र र चुनावी अजेण्डा लगेर घरदैलो अभियानको दौडधुपमा छन्। मतदाताले पनि आफ्ना गुनासाहरु उम्मेदवार सामु राखिरहेका छन्। मतदाताले कसलाई मुलुकको आगामी जिम्मेवारी सुम्पिने हुन त्यो भने मतपरिणाम पछि मात्रै यकिन हुनेछ।

प्रकाशित: ३० कार्तिक २०७४ ०८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App