२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

दोहोरो चुनौतीमा ओली

झापा- एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावसँग जुधिरहेका छन् । एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने अर्कातिर वाम गठबन्धनमा संलग्न माओवादी केन्द्र र राप्रपा उम्मेदवारलाई पनि जिताउनैपर्ने दबाबमा उनी छन् । यसै कारण ओली यसपटक गृहजिल्लामा अघिल्ला चुनावमा भन्दा बढी व्यस्त छन् ।

आफनो निर्वाचन क्षेत्रको प्रचारप्रसारमा जुट्नुपर्ने र गठबन्धनमा संलग्न माओवादी केन्द्र र राप्रपा उम्मेदवारलाई पनि जिताउनैपर्ने दोहोरो दबाबमा छन्, ओली ।

हम्मेसी अनुहारमा तनावको बाछिटा पर्न नदिने स्वभावका ओली आफू र गठबन्धनका उम्मेदवार सबैलाई जिताउन कार्यकर्तासँगै चुनावी दौडाहामा छन् । उम्मेदवारी दर्ताका बेला केही दिन गृहजिल्ला रही चुनावी वातावरण तताएर काठमाडौं पुगे पनि पछिल्ला दुई दिनयता ओली आफनै गृह जिल्लामा सक्रिय छन् । अहिले आफ्नै क्षेत्र केन्द्रित अभियानमा जुटेका उनले समय निकालेर माओवादी र राप्रपालाई सघाएका क्षेत्रका कार्यक्रम पनि भ्याउँदैछन् । ‘उहाँलाई आफूले मात्रै चुनाव जित्ने छुट कहाँ छ र ?’, झापाका एमाले नेता डिल्लीराम घिमिरेको भनाइ छ, ‘आफू पनि जित्ने र अरुलाई पनि जिताउने जिम्मेवारी छ । त्यसैले उहाँलाई बढी नै धपेडी छ ।’
चुनावी राजनीतिका माहिर खेलाडी मानिने ओलीका लागि यसपटक झापा निर्वाचन क्षेत्र नं ५ मा जित हात पार्न सहज छैन । यता ओलीले भने आफू कुनै पनि दृष्टिबाट चुनौतीमा नरहेको मात्रै होइन, विपक्षी उम्मेदवार कमजोर रहेको बताइरहेका छन्  । ‘मलाई प्रतिस्पर्धी उम्मेदवार को–को छन् भन्ने पनि थाहा छैन’, शनिबार धुलाबारीमा उनले भने, ‘लोकतन्त्रमा चुनाव लड्न पाइन्छ, त्यस्तो अभ्यास गर्ने साथीप्रति सम्मान नै छ ।’ ओलीले यस्तो दावी गरेपनि अहिले उनका सामु चुनाव जित्नका लागि दुई चुनौती छन् ।
अलग भूगोल
२०५६ पछिको लामो समय ओली क्षेत्रगत रुपमा अलग रहेको ठूलो भूगोल यसपटक उनकै निर्वाचन क्षेत्रमा परेको छ । जहाँ, उनी झन्डै दुई दशकपछि फेरि भोट माग्न जाँदैछन् । पुरानै क्षेत्रमा ओली फर्केका कारण बेग्लै उत्साह सञ्चारित भएको एमाले पंक्तिको बुझाइ छ ।  निर्वाचन क्षेत्र पुनर्संरचना क्रममा ओलीले चुनाव लड्दै आएको सात नम्बर क्षेत्र क्षेत्र नम्बर पाँच मात्रै बनेन, केही भूगोल पनि घटबढ भयो । उनको गृहनगर दमक, कमल गाउँपालिका, गौरादह नगरका  १ देखि ८ नम्बर सम्मका वडा र गौरीगञ्ज गाउँपालिकाका ३, ४, ५ र ६ नम्बर वडा निर्वाचन क्षेत्र नं ५ मा छन् । साबिकका गौरादह, कोहबरा, जुरोपानी, गौरीगञ्ज, खजुरगाछी र गौरादह ०५६ को चुनावसम्म ओलीकै निर्वाचन क्षेत्र (क्षेत्र नम्बर ६) मा थिए ।  यही क्षेत्र नम्बर ६ बाट उनले ०४८, ०५१ र ०५६ को चुनाव जिते । २०५६ मा झापा २ बाट पनि जितेका ओलीले ६ नम्बर छाडेपछि उपनिर्वाचनमा कांग्रेसले बाजी मारेको थियो ।  
२०६४ मा झापामा सातवटा चुनावी क्षेत्र कायम गरियो, जुन क्रममा ओली क्षेत्र नम्बर ७ बाट प्रतिस्पर्धी भए । सो क्षेत्रमा जसमा दमक नगरपालिका, लखनपुर, धरमपुर र तोपगाछी गाविस थिए । फलस्वरुप पहिलो संविधानसभामा क्षेत्र नम्बर ७ बाट ओली पराजित भए, क्षेत्र नम्बर ६ बाट एमालेकै दीपक कार्की विजेता बने । उतिबेलाका ६ र  ७ नम्बर अधिकांश भूभाग निर्वाचन क्षेत्र पुनर्संरचनाका क्रममा अहिले ५ नम्बरा छन्, जहाँबाट ओली चुनावी प्रतिस्पर्धा गर्दैछन् । कांग्रेसले  यसैलाई मुख्य चुनावी अस्त्र बनाएको छ । ओलीले ‘सधैं क्षेत्र परिवर्तन गरेको’ भन्दै कांग्रेसले चुनावी मुद्दा बनाएको छ । ओलीका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारी भनिरहेका छन्,   ‘म यसै क्षेत्रको मतदाता हुँ, उहाँ (ओली) भक्तपुरको हुनुहुन्छ ।’
एकताबद्ध हुँदै कांग्रेस
स्थानीय तह निर्वाचनमा यही क्षेत्रमा केही राम्रो नतिजा ल्याएको कांग्रेस तुलनात्मक रुपमा एकताबद्ध बनेर ओलीसँग भिड्दैछ । गौरादह वामपन्थीको पुरानो किल्लाका रुपमा स्थापित थियो । तर, स्थानीय निर्वाचनमा गौरादहमा मेयर जितेर कांग्रेसले आफूलाई स्थापित ग¥यो ।  
गौरीगञ्जको प्रमुखचाहिँँ राप्रपाले जितेको छ भने उपप्रमुख कांग्रेसले । वामगढ मानिने कमल गाउँपालिकामा पनि एमाले र कांग्रेसको बराबरी मत आएपछि गोलामा एमालेको भाग्य खुलेको थियो । दमकमा भने एमालेले स्थानीय तहमा प्यानलै जितेको छ । ‘स्थानीय चुनावमा हामीभित्र असन्तोषका स्वर धेरै थिए’, दमकमा मेयर पदका पराजित कांग्रेस उम्मेदवार ढुण्डीराज भण्डारीले भने ‘तर, यसपटक वामपन्थी मिलेपछि कांग्रेसमा इतिहासमै नदेखिएको एकता देखिएको छ ।’ कांग्रेसले यही एकताको बलमा ओलीलाई हराउने दाबी गरेको छ ।
तर, स्थानीय चुनावको मतसंख्या र अहिलेको समीकरण हेर्दा कांग्रेसको दाबी पत्यारलाग्दो छैन । १ लाख ३७ हजार ५ सय ११ मतदाता रहेको झापा ५ बाट स्थानीय चुनावमा यहाँका वडाध्यक्षले पाएको मत हेर्दा एमालेले ३० हजार ६ सय ७८, माओवादीले १३ हजार १ सय ६३ र राप्रपाले ८ हजार ९ सय ७० मत प्राप्त गरेका थिए । यसरी वाम गठबन्धनको मत ५२ हजार ८ सय ११ हुन्छ भने कांग्रेसको २१ हजार १ सय ५१ मत हुन्छ । यसले ओली ३० हजारभन्दा ठूलो अन्तरले अघि देखिन्छन् । तर, यही गणित नदोहोरिने आशामा कांग्रेस छ ।  
प्रधानमन्त्री भएपछिको छवि
पहिलो संविधानसभा चुनाव हार्दा ओलीले बेहोरेको राजनीतिक क्षति उनका लागि बिर्सनलायक थियो । पार्टी नेतृत्वका लागि गरेको दाबी कमजोर हुनुमा उनको चुनावी हार पनि मुख्य थियो । तर, २०७० मा चुनाव जितेपछि उनी पार्टी अध्यक्ष मात्रै भएनन्, मुलुकको कार्यकारी प्रमुख पनि बने । आफू प्रधानमन्त्री बनेकै बेला आफ्नो क्षेत्रमा औद्योगिक करिडोरको प्रस्ताव अघि बढाउँदै  सडक र पुल निर्माणजस्ता देखिने काम गरे । दमकमा विश्वकै अग्लो बुद्ध प्रतिमा राख्ने काम पनि सुरुआत गरे  । त्यसअघिसम्म ‘भारतमुखी’ नेताको रुपमा चिनिएका ओलीले प्रधानमन्त्रीत्वकालमा बनाएको ‘राष्ट्रवादी नेता’ को छवि अहिले पनि कायमै छ । भारतको विरोधलाई नै राष्ट्रवाद ठान्ने वाममत उनको यो छविबाट प्रभावित छ । केही अघिसम्म माओवादीका कटु आलोचक उनी यसबेला सहयात्रामा छन्, त्यो पनि पार्टी एकताको लक्ष्यसहित । त्यसैले विगतमा माओवादीलाई गएको मत पनि उनलाई आउनेछ । उनका समर्थकले यिनै आधार देखाएर सहज जितको व्याख्या गरिरहेका छन् ।
एमाले कार्यकर्ताको दाबी पत्याउने हो भने झापा ५ मा ‘ओली इतिहासमै पहिलोपटक चुनौतिरहित’ रुपमा चुनाव लड्दैछन् । भारतीय ‘नाकाबन्दीसँग जुधेको’ जस लिएका ओलीका लागि त्यही राजनीतिक सफलता र त्यसको आडमा अग्लिएको छवि, पछिल्लो समयमा बनेको चुनावी समीकरण तथा आफ्नो क्षेत्रमा गरेका कामलाई आधार देखाउँदै कार्यकर्ता ढुक्क बनेका हुन् ।
कांग्रेसको दबी
कांग्रेसको दाबीचाहिँ फरक छ । लोकतान्त्रिक शक्तिलाई यसपटक मतदाताले रोज्ने कांग्रेसको विश्वास छ । ‘यसपटक लोकतन्त्र रोज्ने कि कम्युनिज्म रोज्ने भन्ने विकल्प मतदाताका सामु छ’, त्रिविबाट (त्रिचन्द्र कलेज) बाट प्राध्यापन सेवा छाडेर ओलीसँग प्रतिस्पर्धा गर्न आएका अधिकारीको दाबी छ ‘मतदाताले लोकतन्त्र रोज्नेमा म ढुक्क छु । राप्रपाका धेरैले र माओवादीका पनि धेरैले मलाई भोट दिनेछन् ।’ तर, ओली कांग्रेस लोकतान्त्रिक हुनै नसक्ने दाबी गर्छन् । उनले शनिबार धुलाबारीको चुनावी सभामा भने, ‘अहिले वामपन्थी र लोकतान्त्रिक गठबन्धन भनेर लेखिन्छ, त्यो नै गलत छ । कांग्रेस भएको ठाउँ लोकतान्त्रिक होइन, लुटतान्त्रिक गठबन्धन हो ।’
आफ्नो क्षेत्रको चुनौतीबाहेक ओलीका लागि टाउको दुखाइ बनेका झापामै अरु दुई क्षेत्र छन् । झापा १ र ३ नम्बर क्षेत्र । चुनावको मुखैमा माओवादीसँग भएको सहयात्रालाई सहज रुपमा लिएका एमालेका झापाली कार्यकर्ताले झापा ३ मा राप्रपासँग भएको सहकार्यप्रति सुरुमै असन्तोष प्रकट गरेका थिए । एमाले वृत्तमै ‘ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच गोप्य साँठगाँठ’ भएको हल्लाले त्यहीबेला उचाइ लियो । संयोग कस्तो भने गठबन्धनको अर्को सहयात्री माओवादी कार्यकर्ताले त राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनको समर्थक–प्रस्तावक बस्न नै अस्वीकार गरे । त्यसैले त्यो हल्ला चिर्न ओली जोडबल लगाएर लिङदेन जिताउन लागेका छन् ।
शुक्रबार काठमाडौंबाट आउनेबित्तिकै ओलीले लिङदेनको चुनावी सभामा सम्बोधन गर्दै उनलाई जिताउन आग्रह गरे । र, कार्यकर्तालाई दायाँबायाँ नगर्न निर्देशन पनि दिए । शनिबार झापा १ मा माओवादीका राम कार्कीको चुनावीसभामा पनि ओलीले झन्डै डेढ घन्टा बोले । ओलीले कार्कीमाथि घात नगर्न भनिरहे । कार्की कांग्रेस नेता विश्वप्रकाश शर्मासँग प्रतिस्पर्धा गर्दैछन् । ‘यहाँ राम कार्कीले जित्दा सिंगो एमाले जितेको ठान्नेगरी लाग्नुहोस्’, ओलीले भने ‘यहाँ यताउता गर्ने छुट कसैलाई हुनेछैन ।’ 

प्रकाशित: २६ कार्तिक २०७४ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App