७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

काँग्रेसद्वारा मिडिया सेन्टर स्थापना, बहुमत ल्याउने दाबी

काठमाडौं—प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पूर्ण बहुमत ल्याउने दाबी गरेको छ। आसन्न निर्वाचनका लागि काँग्रेसको मिडिया सेन्टर उद्‌घाटन कार्यक्रममा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले दुवै तहका प्रत्यक्ष निर्वाचनमा मुलुकभर सबैभन्दा बढी काँग्रेसले मात्र उम्मेदवारी दिएकाले बहुमत ल्याउने बताए।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा १५४ र प्रदेश सभाको प्रत्यक्षतर्फ ३३० सिटमा ३१० स्थानमा उम्मेदवारी दिएको अवगत गराउँदै पार्टीका नेता खाँडले भने, 'तसर्थ काँग्रेसले प्रत्यक्षतर्फको निर्वाचनमा ५५ प्रतिशत र समानुपातिक निर्वाचनतर्फ ४५ प्रतिशत मत ल्याउने निश्चित छ।'

पार्टी केन्द्रीय सदस्य एवं काँग्रेस प्रचारप्रसार समन्वय उपसमितिका संयोजक समेत रहेका नेता खाँडले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले ६०-४० प्रतिशतको भागबण्डा गरेर उम्मेदवारी दिई दुईतिहाई बहुमत ल्याउछु भन्नु हास्यास्पद भएको जनाए।

निर्वाचन लोकतन्त्रलाई स्थायित्व गर्ने र कम्युनिष्ट शासन स्थापना गर्नेबीचको जनमत संग्रह भएको धारणा व्यक्त गर्दै नेता खाँले भने, “स्वतन्त्र पत्रकारिताका लागि पनि मुलकमा लोकतन्त्र अपरिहार्य छ।'

पार्टीले निर्वाचनको तयारीका लागि केन्द्रमा आधुनिक मिडिया सेन्टर स्थापना गरेको छ। साथै एक दुई दिनमै प्रदेश नं १ को इटहरीमा, प्रदेश नं दुईको जनकपुर र विरगंजमा, प्रदेश नं ३ को चितवनमा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को वुटवल र नेपालगञ्जमा, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढीमा स्थापना गर्ने जनाएको छ।

कार्यक्रममा प्रचार प्रसार उपसमितिका सहसंयोजक बद्री पाण्डेले संविधानले व्यवस्था गरेको बहुलवाद र लोकतान्त्रिक व्यवस्था उल्ट्याउन आसन्न निर्वाचनमा कम्युनिष्ट दलहरुले गठबन्धन गरेको टिप्पणी गर्दै काँग्रेसले ढृढताका साथ संविधानको रक्षा गर्ने बताए।
 

निर्वाचनमा पार्टीको प्रचार प्रसारका लागि काँग्रेसले ताप्लेजुङ, पाँचथर र सोलुखुम्बुबाट चुनावी आमसभा यही कात्तिक २५ गतेदेखि थालनी गर्ने र आमसभामा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।

कार्यक्रममा पार्टी नेता एवं वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा पार्टीका नेताहरु सुरेन्द्र पाण्डे, मानबहादुर विश्वकर्मा, डा.डिला संग्रौलालगायत उपस्थित थिए।

 

प्रकाशित: २२ कार्तिक २०७४ ११:४१ बुधबार

काँग्रेसद्वारा मिडिया सेन्टर स्थापना बहुमत ल्याउने दाबी