१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

भ्रष्टाचार विरोधी अभियानमा विराम लाग्दैन: गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानमा कुनै विराम नलाग्ने बताएका छन्।

सोमबार निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपाल अनलाइनको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन हेटौंडा आएका उनले भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ्ने बताएका हुन्।

‘सरकारमा रहिरहनका लागि तैं चुप मै चुप रहने भन्ने हुँदैन। भ्रष्टाचार वा गृहमन्त्री दुवैको निरन्तरता सम्भव छैन। हामी भ्रष्टाचार विरोधी अभियानलाई निरन्तर अघि बढाउनेछौं’, श्रेष्ठले भने, ‘हामीले थालेको सुशासन अभियानलाई तुहाउन विभिन्न तानाबाना बुनिँदैछ भन्ने पनि हामीलाई थाहा छ। यो अभियान कुनै पनि बाहनामा रोकिन्न। हामी अपराध विरोधी अभियान र दण्डहिनतालाई अन्त्य गर्ने अभियानमा छौं। सुशासनको अभियानमा छौं, सबैबाट साथ सहयोगको अपेक्षा राख्दछौं।’

भुटानी शरणार्थी प्रकरण अहिले पनि अनुसन्धानकै क्रममा रहेको जानकारी दिँदै उनले सुन तस्करी प्रकरणमा पनि बाँकी अनुसन्धान खुला रहेको बताए। सामान्तवादको एउटा अवशेषको रुपमा रहेको मिटरब्याज प्रकरणलाई समेत निस्कर्षमा पु¥याउने क्रममा रहेको उनको दाबी थियो। विशेषगरी तराईका धेरै मिटरब्याज पीडितले न्याय पाएको श्रेष्ठले जिकिर गरे। आफूहरुले सिस्टम बसाउने प्रयास गरेको भन्दै उनले सरकारको एउटै ध्यान सुशासन र समृद्धितर्फ रहेको जानकारी दिए।

‘मुलुकमा सामाजिक, आर्थिक रुपान्तरण तथा विकास र समृद्धि अपेक्षाकृत हुन नसकेकै हो। तर केही पनि भएन भन्ने चैं होइन’, गृहमन्त्री श्रेष्ठले थपे, ‘सुशासन, समृद्धि र सामाजिक न्याय नभए राजनीतिक परिवर्तनको औचित्य पुष्टी हुँदैन भन्ने विषयलाई राम्रोसँग बुझेका छौं।’ पदक खारेज र सुराकी खर्च कटौती सुशासनकै अभियान अन्तर्गत रहेको उनले सुनाए। शक्ति केन्द्र धाएर हुने सरुवा, बढुवाले सुशासन नहुने उनको भनाइ थियो।

सरकारले सुरु गरेको सुशासन अभियानबाट समाजमा आशा पैदा भएको दाबी गर्दै उनले यस अभियानमा आम सर्वसाधारणको साथ र सहयोग जरुरत् रहेको औंल्याए। 

प्रकाशित: १५ आश्विन २०८० ०८:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App