११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुख-दुःखमा साथी बन्नेलाई भोट

रौतहटका मतदाताले आफ्नो पक्षमा काम गरिदिने उम्मेदवारलाई सघाउने बताउन थालेका छन् । उम्मेदवार पनि ‘हाम्रालाई भन्दा राम्रालाई भोट’ भन्न थालेका छन् । १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तहमा ८२१ पदका लागि असोज २ मा चुनाव हुँदैछ । उम्मेदवारी मनोनयनसँगै मतदातामा उत्साह देखिएको छ । सीमान्तकृत मतदाता भने सुख–दुःखमा सहयोग गर्ने तथा साथ दिने उम्मेदवारलाई भोट दिने बताउन थालेका छन् । देशको सबैभन्दा कम साक्षर जिल्लाको रुपमा रहेको रौतहटमा मतदाता शिक्षा पुग्न सकेको छैन । केही मतदाताको भनाइ उनीहरूकै शब्दमा:

रोेजाइमा इमानदार उम्मेदवार
सन्तोष पौडेल, गौर–४

विकास गर्न सक्ने सक्षम, राजनीति बुझेका युवा एवं इमानदार उम्मेदवार यसपटक मतदाताको रोजाइमा पर्छन् । उनी भन्छन्– रोगीलाई भोट दिँदैनौं । चुनावको समयमा जनतामा जाने र अरुबेला निदाएर बस्नेलाई भोट दिँदैनौं । जनताको मन जित्ने र क्रियाशील उम्मेदवारलाई भोट दिन्छौं ।

बाढीपीडितलाई सहयोग गर्नेलाई भोट
महम्मद अब्बास, गौर– ६

जसले जनताको सुख–दुःखमा साथ दिएका छन्, जसले जनतालाई कमारो ठान्दैनन्, जसले बाढीको समयमा निस्वार्थ भावले उद्धार र राहतको क्षेत्रका काम गरेका छन् उनै यसपटकको चुनावमा जनताको रोजाइमा पर्छन् । हामीलाई हृदयदेखि नै सहयोग गर्ने उम्मेदवारलाई हामीले पनि सहयोग गर्छौैं ।

करिना खातुन, मुस्लिम महिला
दुई दशकपछि हुनगइरहेको स्थानीय तहको निर्वाचनमा मुस्लिम महिलाको भोट निर्णायक हुन्छ । मुस्लिम महिला शिक्षा र चेतनामा पछाडि परेका भए पनि यसपटको निर्वाचनमा सचेततापूर्वक भाग लिने र मुस्लिम समुदायले हाम्रालाई भन्दा राम्रालाई भोट दिन्छ । देशमा सबैभन्दा बढी मुस्लिम समुदाय रौतहटमा भए पनि मुस्लिमको पहिचानलाई सम्मान गर्ने र मुस्लिम महिलालाई अगाडि बढाउने प्रतिबद्धता जनाउनेव उम्मेदवारलाई मत जान्छ । महिलालाई शिक्षा, स्वास्थ्य, चेतना र रोजगारीको क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनेलाई मुस्लिम महिलाको साथ हुने छ ।

दलितमुखी उम्मेदवारलाई जिताउँछौं
बचनीदेवी मुसहर, दलित महिला

रौतहटमा दलित अत्यन्तै पछाडि परेका छन् । दलित महिलाको अवस्था झन् कमजोर छ । बाढीले गर्दा दलितको अवस्था चिन्ताजनक भएको छ । शिक्षा र रोजगारीबाट वञ्चित दलित समुदायलाई तत्काल राहतभन्दा दीर्घकालीन फाइदा हुने काम गर्नेलाई भोट दिन्छौं । दलित सधैं अर्काको गोटी बनिरहेकोमा यो निर्वाचनमा आफ्नो भोटलाई निर्णायक बनाउने तयारीमा छन् । दलितले आफूलाई सक्षम बनाउने उमेदवारलाई भोट दिन्छन् ।

विकासप्रेमी उम्मेदवारका पक्षमा भोट खस्छ
फेकु झा, गौर–७

जनताको भावना बुझेर काम गर्ने, गौरलाई बाढीमुक्त बनाउने, स्मार्ट सिटी बनाउने र विस्तारै हराउँदै गएको रौनकलाई पुनः कायम गर्दै गौरलाई पर्यटन केन्द्र बनाई कम्तीमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आत्मनिर्भर बनाउन सक्ने उम्मेदवारलाई मत जान्छ । सदरमुकाम भएकाले सडक र अन्य पूर्वाधार क्षेत्रमा पनि विकासमा फड्को मार्ने योजना प्रस्तुत गर्न सक्ने उम्मेदवारलाई शिक्षित मतदाताको मत जाने देखिन्छ ।

वृद्धभत्ता घरमै ल्याइदिनेलाई जिताउने हो
कौशिलादेवी पासवान,
दलित ज्येष्ठ नागरिक

घरैमा वृद्धभत्ता हरेक महिना ल्याइदिन प्रतिबद्धता जनाउने उम्मेदवारलाई भोट दिन्छु । गरिब महिलालाई नसताउने र गरिबको बस्तीमा विकास गर्नेलाई दलित महिलाको भोट जान्छ । दलितलाई सधैं पछाडि पार्ने र आफ्नो काममा उपयोगमात्र गर्ने उम्मेदवारलाई दलित समुदायले चिनिसकेकाले अब नयाँ र राम्रा उम्मेदवारलाई भोट जान्छ ।

प्रकाशित: २५ भाद्र २०७४ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App