१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश नम्बर २ मा उम्मेदवारी मनोनयन दर्ता उत्साहपूर्ण

काठमाडौ- स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार ती जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फाराम लैजाने र मनोनयन दर्ता गराउने कार्य भइरहेको छ।

बिहान १० बजेदेखि आठ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका कार्यकता तथा उम्मेदवारको सहयोगी र समर्थकको बाक्लो उपस्थितिमा उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्णरुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउन फारम लिने र दर्ता गर्नेको निर्वाचन अधिकृतको कार्यालयअगाडि बिहानदेखि नै भीड लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ताका लागि फारम लैजाने र मनोनयन दर्ता गराउने कार्य सुचारु ढङ्गबाट भइरहेको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको हो। आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । यस निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस

 

प्रकाशित: २१ भाद्र २०७४ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App