१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेसका अन्तरघातीमाथि कारबाही गर्न सिफारिस

गाईघाट – भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघातका कारण चुनाव हार्नु परेको भन्दै नेपाली कांग्रेसले आधादर्जन अगुवा कार्यकर्तामाथि कारबाहीको सिफारिस गरेको छ । पार्टीको त्रियुगा नगरपालिका १३ वडा समितिले अन्तरघातका कारण आधिकारिक उम्मेद्वारले हारेको निश्कर्ष निकाल्दै ५ जना अगुवा कार्यकर्तामाथि कारबाही गर्न माथिल्लो निकायमा सिफारिस गरेको जनाएको छ । 

३ दिनअघि सम्पन्न वडा समिति बैठकले जिल्ला र क्षेत्रीयस्तरका कार्यकर्तामाथि कारबाही सिफारिस गरिएको १३ नम्बर वडा सभापति गोविन्द दाहालले बताए । दाहालका अनुसार जिल्ला कार्य समिति सदस्य शिवकुमार कटुवाल, क्षेत्रीय समिति सदस्य दिपनारायण चौधरी, पूर्व क्षेत्रीय सदस्य धर्मराज थापा, पूर्व क्षेत्रीय प्रतिनिधि भोला भट्टराई र पूर्व जिल्ला सदस्य समुद्रीप्रसाद चौधरीमाथि कारबाही गर्न सिफारिस गरिएको छ । 

पार्टीका उम्मेद्वारलाई जिताउन छाडेर एमाले, राप्रपा र माओवादीलाई भोट माग्दै हिडेको तथ्य प्रमाणको आधारमा उनीहरुमाथि कारबाही माग गर्दै सिफारिस गरेको सभापति दाहालले बताए । ‘उहाँहरुले पनि मत दिएको भए हामी निश्चय नै जित्थ्यौं, तर साथीहरुबाट गम्भीर अन्तरघात भयो’ सभापति दाहालले भने ‘अन्तरघातकै कारण कांगे्रसका वडाध्यक्ष उम्मेद्वार नविन चौधरी १ सय १० मतको अन्तरले पराजित हुनुपरेको हो । वडा सस्यहरू पनि सबै हार्न पुगे ।’ 

अन्तरघातीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुपर्ने माग वडा समिति बैठकमा दुईतिहाई बहुमतले पारित गरेको दाहालले बताए । पार्टीको भविष्य र संगठन सुद्धिकरणका लागि वडा बैठकले अन्तरघातीमाथि कारबाहीको माग गरेको भन्दै दाहालले अन्तरघात रहेसम्म पार्टीले चुनाव जित्न नसक्ने भएकाले सुद्धिकरणका लागि कारबाही गर्ने निर्णय भएको बताए । 

कारबाहीको सिफारिसमा परेका कार्यकर्तामाथि एमाले, राप्रपा र माओवादीलाई भोट खसालेको तथा उनीहरुको पक्षमा रातिराति भोट मागेर हिडेको प्रमाण वडा समितिले जुटाएको उनले बताए । अन्तरघातकै कारण कांग्रेसले वडाध्यक्ष, वडा सदस्य र महिला तथा दलित महिला सदस्यमा पराजय भोग्नुपरेको निश्कर्ष निकालेको सभापति दाहालले बताएका छन् । 

असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमा त्रियुगा नगरपालिका १३ मा एमाले उम्मेद्वार पशुपति चौधरीले कांग्रेसका नविन चौधरीलाई पराजित गरेकी थिईन् । उनले ७ सय १३ मत पाएकी थिईन् भने नविनले ५ सय ३ मत ल्याएका थिए । माओवादी केन्द्रका प्रत्यासी लिलबहादुर खड्काले ३ सय ३६ र राप्रपाका विमल रेग्मीले ३ सय १८ मत पाएका थिए । 

कांग्रेस जिल्ला सभापति विदुर बस्नेतले भने कारबाहीको सिफारिस गर्ने अधिकार वडा समितिलाई नभएको बताए । जिल्ला समितिलाई पनि कारबाही गर्ने अधिकार नभएको भन्दै चुनावी समीक्षासम्म भएको तर, अहिलेसम्म कसैमाथि कारबाही नगरिएको बस्नेतले बताए । 

प्रकाशित: २० श्रावण २०७४ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App