४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हाम्रो पार्टी पार्टीजस्तो भएनः पुष्पकमल दाहाल

प्रधानमन्त्री एवं (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन्।  

बुधवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय समितिको चौथो बैठक शुभारम्भ गर्दै उहाँले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गरेका हुन्।

अध्यक्ष दाहालले विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रिय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्ने समेत बताए।  

नेता, कार्यकर्ताको विशाल पंक्ति पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो। अध्यक्ष दाहालले पार्टी पुननिर्माणका लागि ऐतिहासिक कदम चाल्नका लागि केन्द्रिय समितिका नेताहरुले गम्भिरतापूर्वक जिम्मेवारी भएर अनुशासित ढंगले बहस र छलफललाई अघि बढाउने समेत बताए। पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरु, लिएका पहलकदमीहरु र गरिएका गतिविधिहरुबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी गर्दै अध्यक्ष दाहालले त्यसलाई पार्टी निर्माणको अभियानमा जोडेर अघि बढ्नुपर्ने आवश्यक्ता समेत औंल्याए।  

उनले भने, ‘यो बैठक हामी देशको विशिष्ट राजनीतिक परिस्थितिको बीचमा हामी बस्दैछौं। यसो त यो बैठक यसअघि नै बस्नुपर्ने थियो। पक्कै पनि यसमा बिलम्व हुुन गएको छ। देशका राजनीतिक समिकरण, उतारचढाव पनि एकहदसम्म जिम्मेवार छन् भने हाम्रो आफ्नै आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब हुनु पनि एउटा कारण भएको छ। ढिलै भएपनि हामी यो केन्द्रिय समिति बैठकमा उपस्थित भएका छौं। अहिले देशको राजनीति जुन बिन्दुमा छ। र, जनताले हाम्रो पार्टीबाट र आन्दोलनबाट जेजस्ता आशा र अपेक्षा गरेका छन्। पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरु, लिएका पहलकदमीहरु र गरिएका गतिविधिहरुबाट एउटा नयाँ आशा जनतामा पलाएको छ। र, हाम्रो केन्द्रिय समितिको यो बैठकले जनतामा उत्पन्न भएको एउटा आशा र भरोसाको स्थितिलाई संगठनमा रुपान्तरण गर्ने, जनतासँगको हाम्रो सम्बन्धलाई अझ सुदृढ गर्ने, अभियानमा बदल्नु छ। केन्द्रिय समितिको यो ऐतिहासिक बैठकको काँधमा त्यही मुलभुत जिम्मेवारी रहेको छ। र, हामीले अहिले देशको राजनीतिमा देखापरेको विभिन्न विचार, प्रवृत्तिहरुको बारेमा र अनि हाम्रो पार्टी भित्रकै विगतका स्थितिहरुको सिंहावलोकन र समिक्षा गर्ने, आउने दिनमा एक्शन ओरेन्टेट भएर जाने आवश्यक्ता छ। मैले हाम्रो पार्टीको सन्दर्भमा विगतमा बेला मौकामा भन्ने गरेको छु–हामीसँग नेता, कार्यकर्ताको विशाल पंक्ति त छ। तर पार्टी चाहीँ पार्टीजस्तो भइराखेको छैन। यसलाई साँचो अर्थमा एउटा कम्युनिष्ट पार्टी निर्माण, पुनर्निर्माणको अभियान हामीले यो बैठकबाट थाल्नु छ। मलाई विश्वास छ–केन्द्रिय समिति तपाई सम्पूर्ण जिम्मेवार कमरेडहरुले गम्भिरताका साथ, जिम्मेवारीका साथ अनुशासित रुपले रचनात्मक बहस, छलफल गरी यो बैठकलाई साँचै पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन सहयोग पु¥याउनु हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। र, पक्कै पनि अहिले हाम्रो पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकार, जसले सकारात्मक र रचनात्मक राष्ट्रको पक्षमा, जनताको पक्षमा हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पका साथ अगाडि बढ्ने पहल गरिराखेका छौं। मलाई विश्वास छ–केन्द्रिय समितिको बैठकले ती कामहरुलाई अझ व्यवस्थित गर्ने, अझ प्रभावकारी बनाउने र राष्ट्र र जनताको आवश्यक्ता अनुसार अगाडि बढ्न अझ सहज वातावरण बनाउनेछ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु।’

प्रकाशित: १७ श्रावण २०८० ०९:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App