९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मिति सार्ने निर्णयले राष्ट्रिय एकता कमजोर : एमाले

काठमाडौं- सरकारले प्रदेश नम्बर २ को चुनाव मिति सारेकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ। मिति सार्ने सरकारी निर्णयले 'राष्ट्रिय एकता' कमजोर पारेको ठहर पनि एमालेको छ।

'सरकारी निर्णयले मुलुकको राष्ट्रिय एकता कमजोर बनाउनुका साथै विखण्डनकारी तत्वको मनोबल बढाएको छ', एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले नागरिकसँग भने, 'कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तासीन गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ।'

भट्टराईले चुनाव नगराउने सरकारको निर्णयको एमालेले भण्डाफोर गर्ने बताए। 'मधेसलाई राजनीतिको मूलधारबाट बाहिर राख्ने काम सरकार र राजपाले गरेका छन्। त्यो एमालेका लागि स्वीकार्य छैन,' भट्टराईले भने, 'यो निर्णयविरुद्ध भण्डाफोर अभियान लिएर प्रदेश नम्बर २ मा जान्छौं।स्थानीय कमिटीलाई पनि त्यसैअनुसार गर्न निर्देशन भइसकेको छ।' एमालेले चुनाव मिति सार्ने निर्णयले अन्योल थपेको निष्कर्ष पनि निकालेको छ।

निर्वाचन सार्ने कदमबाट प्रदेश नम्बर २ का जनताले आफ्ना प्रतिनिधि आफैं छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार कुण्ठित भएको उल्लेख गरेको छ। 'यसले संविधान कार्यान्वयनमा पनि गम्भीर धक्का पुर्‍याएको छ', एमालेको विज्ञप्तिमा उल्लेख छ।

राजपालाई चुनावमा सहभागी गराउन भन्दै उनीहरुको मागअनुसार प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णय गरेको सरकारले जनाएको छ। राजपाले प्रदेश नम्बर २ को मात्रै चुनाव मिति सारेर मात्रै आफ्नो माग सम्बोधन नहुने जनाएको छ। राजपाले प्रदेश नम्बर ५ को पनि चुनाव स्थगित हुनुपर्ने माग गरेको छ।

प्रकाशित: २ असार २०७४ ०२:०२ शुक्रबार

सार्ने निर्णयले राष्ट्रिय एकता कमजोर एमाले