१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मधेसमा चुनाव: पैसा र कुटुम्ब धेरै हुनेको बेग्लै रवाफ

सिरहा-बरियारपट्टी गाउँपालिका–१ मा वडाध्यक्षका प्रत्याशी रामऔतार यादव (५५) ले पार्टीबाट अझै टिकट पाइसकेका छैनन् । कांग्रेस कार्यकर्ता उनले टिकट पाए आफू घरमै बसीबसी चुनाव जित्ने दाबी गर्छन्। उनको दाबीपछाडिको कारण हो– बलियो नाता सञ्जाल । व्यक्तिगत प्रभाव र बलियो नाता सम्बन्धका कारण यहाँ आपूmबाहेकले पार लगाउन नसक्ने आधार प्रस्तुत गर्दै यादवले सिरहा क्षेत्र नम्बर २ का कांग्रेस नेताद्वय विष्णुप्रसाद गुप्ता र शैलेन्द्र यादवलाई टिकटका लागि रिझाउँदैछन् । चुनावी समीकरणको तथ्य खुलाउँदै उनले नागरिकसँग भने, ‘स्थानीय चुनावको नतिजा हात पार्न जाति, नातासम्बन्धको प्रभावका साथै अर्को पक्षको मत काटेर आफ्नो पक्षमा ल्याउन सक्नुपर्छ ।’

आफूसँग अर्को उम्मेदवारको मत काट्न सक्ने क्षमताका साथै नातेदारको सञ्जाल ठूलो भएकाले बसीबसी जित्न सक्ने दाबी उनले गरे ।

                बरियारपट्टी गाउँपालिकाको अध्यक्ष पदका प्रत्याशी बालेश्वर यादवको हातमा पनि टिकट परिसकेको छैन । तर, उनले  चुनाव प्रचारप्रसार थालिसकेका छन् । यसअघि पुरानो तेनुवापट्टी गाविसमा दुई कार्यकाल अध्यक्ष भइसकेका उनी पाँचवटा गाउँ मिलेर बनेको गाउँपालिकामा पनि बाजी मार्नेमा ढुक्क छन् । उनी ढुक्क बन्नुको कारण उनको पाँचवटै वडामा रहेको बलियो नाता सम्बन्ध हो ।

मधेसमा चुनाव जिताउन नातासम्बन्ध, धन र जातिको मतले महŒवपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय राजनीतिकर्मीको बुझाइ छ ।    विगतमा पैसाले पनि यहाँको चुनावी नतिजा पल्टाउन महŒवपूर्ण भूमिका निर्वाह गरेको अनुभव छ । स्थानीय अगुवाले पैसा लिएपछि आफ्नो पकड क्षेत्रको मत चाहेको उम्मेदवारको पक्षमा ल्याइदिन सक्छन् । यो मत हासिल गर्न उम्मेदवारले समाजका अगुवालाई रिझाउन पैसा खर्च गर्छन् । कुन टोलमा कुन अगुवासँग कति मत प्रभावित पार्न सक्ने पकड छ, त्यसै आधारमा उम्मेदवारले एकमुष्ठ रकम दिएपछि चुनाव आफ्नो प्रभावमा पर्ने गरेको छ ।

अहिले छनोटमा परिसकेका उम्मेदवारले ‘धन’ जुटाउन थालिसकेका छन् । यसका लागि उम्मेदवारले आफ्ना पकडका व्यापारीसँग अप्रत्यक्ष रूपमा चुनावी सहयोग माग्न थालिसकेका छन् । ‘उम्मेदवार बनेको छु, सहयोग चाहिन्छ है’ भन्न सुरु भएको लहानका एक व्यापारीले सुनाए ।

मधेसमा पार्टीको सांगठनिक मतले त्यति ठूलो प्रभाव नपार्ने स्थानीयको भनाइ छ । ‘स्थानीय चुनावमा जात र नातासम्बन्ध हेरेर मत खसाल्ने चलन छ मधेसमा,’ बरियारपट्टी–४ तेनुवापट्टीका बेचन यादव (४५) ले भने, ‘भोट जस्तो महŒवपूर्ण कुरा नाता सम्बन्धलाई नै दिन्छु ।’

                यहाँ महिला मतदाताको संख्या उल्लेख्य छ । पुरुष मतदाताको तुलनामा महिला बढी भएकाले महिला मत निर्णायक मानिन्छ । महिला मत रिझाउन सक्ने उम्मेदवारको सम्भावना बलियो मानिन्छ ।

बरियारपट्टी–४ सोहपुरका शिक्षक रामसुन्दर यादव भन्छन्, ‘चुनावी परिणाममा उम्मेदवारको व्यक्तित्व पनि महŒवपूर्ण पक्ष हो । स्थानीय चुनावका लागि पार्टीका भन्दा स्थानीयस्तरमा भिजेका नेतालाई बढी रुचाउँछन् मतदाताले,’ उनले भने ।

नेपाली कांगे्रसबाट नवराजपुर गाउँपालिका अध्यक्ष उम्मेदवार विश्वमोहन यादव आफ्नो व्यक्तिगत प्रभावकै कारण पार्टीले टिकट दिएको बताउँछन् । जनतामा भिजेर काम गरेकाले आफूलाई यहाँका मतदाताले सजिलै चुनाव जिताउनेमा उनी विश्वस्त छन् । ‘व्यक्तिगत प्रभावका कारण चुनाव नजिता पार्टीको पक्षमा पार्न मैले टिकट पाएको हुँ,’ उनले भने ।

चुनावमा जातीय प्रभावले पनि नतिजा उलटपुलट पार्न भूमिका निर्वाह गर्छ । त्यसैले दलहरू जातीय समीकरण मिलाएर उम्मेदवार उठाउँछन् ।

अन्तिम समयमा मधेसको चुनावी नतिजा अनुमानबाहिर पनि जान सक्ने खतरा हुन्छ । आफूले नजित्ने भएपछि प्रतिस्पर्धामा दोस्रो नम्बरको उम्मेदवारलाई सघाएर पहिलो नम्बरलाई हराउने चलन पनि छ । एउटा पदमा सघाएर अर्को पदमा त्यो दल वा उम्मेदवारको समर्थन लिने चलन छ । यसलाई मत साटासाट भनिन्छ ।

               

प्रकाशित: ३१ जेष्ठ २०७४ ०२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App