१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राजपा निर्वाचनमा आए संशोधन

काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता गरे प्रमुख दलहरू चुनावपछि संविधान संशोधनमा लिखित प्रतिबद्धता जनाउन लचिलो देखिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार अपराह्न सिंहदबारमा बोलाएको बैठकमा राजपाले निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता जनाए स्थानीय तह चुनावपछि संविधान संशोधनसहित उसका माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाउन प्रमुख दलहरू पनि तयार भएको स्रोतको भनाई छ । बैठकमा सहभागी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले बुधबार सहमति जुटाउन राजपासँग छलफल गर्ने समझदारी गरेका छन् ।

प्रमुख दलहरूले संविधान संशोधन नगरीकन आफूलाई निर्वाचनमा धकेल्न लागेको आरोप लगाउँदै राजपाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । चुनाव बिथोल्ने गरी राजपा आन्दोलनमा उत्रिएपछि प्रमुख दलहरू निकासका लागि पुनः छलफलमा जुटेका हुन् ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले राजपा नेपाललाई निर्वाचनमा आउन देखिएका अप्ठेरोका विषयमा छलफल गर्न प्रमुख दलहरू तयार रहेको बताए ।  उनले प्रमुख राजनीतिक दलहरू राजपाको अप्ठेरो समाधान गर्न सकारात्मक बनेको दाबी गरे । ‘उहाँहरू (राजपा) बाट निर्वाचनमा आउने लिखित प्रतिबद्धता आए (सहमति बन्ने अवस्थामा) आवश्यक निर्णय लिन सकिन्छ,’ पुनले बैठकपछि भने, ‘चुनावमा आउने प्रतिबद्धता आए अजेन्डा  र अप्ठेरो (संविधान संशोधन र स्थानीय तह संख्या) का विषयमा सकारात्मक छलफल गर्न सकिन्छ ।’

पुनले स्थानीय तह निर्वाचनअघि संविधान संशोधन भने सम्भव नरहेको स्पष्ट पारे । ‘निर्वाचनअघि संशोधन सम्भव छैन ,’ उनले भने, ‘निर्वाचनमा आउने उहाँहरूको प्रतिबद्धता आए अजेन्डा र अप्ठेरोका विषयमा छलफल गर्न प्रमुख दल तयार छन् ।’

राजपा निर्वाचनमा आउन तयार भए असार १४ मा तोकिएको  निर्वाचन मिति केही दिन ‘तलमाथि’ गर्न वा प्रदेश नम्बर २ र ५ को निर्वाचन तेस्रो चरणमा गर्ने विषयमा पनि बैठकमा छलफल भएको स्रोतको दाबी छ । तर, माओवादी नेता पुनले सरकार निर्वाचन सार्ने पक्षमा नरहेको दाबी गरे । ‘सरकार र प्रधानमन्त्रीको सोच असार १४ गतेको निर्वाचन सार्ने छैन,’ उनले भने, ‘निर्वाचन मिति तय छ । सुरक्षाको पूर्ण तयारी छ। चुनाव सार्ने विषयमा अहिले कसैले सोचेको छैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार विभिन्न बहनामा निर्वाचन सार्ने पक्षमा रहेको आरोप लगाए । ‘दोस्रो चरणको चुनाव कसरी शान्तिपूर्ण र विवादरहित बनाउने भन्ने विषयमा छलफल गर्न बोलाएको बैठकमा त सरकारले अर्कै कुरा उठायो, त्यो पनि प्रस्ट भन्न सकेन, भन्नभन्न खोज्यो तर भन्न नसकेर अड्केको छ,’ बैठकपछि एमाले अध्यक्ष ओलीले भने, ‘उहाँहरू चुनाव गराउन जटिलता छ भन्नुहुन्छ तर के भन्न खोजेको हो प्रस्ट छैन । चुनाव सार्न खोजेको हो कि नगर्न खोजेको हो ।’

राजपालाई देखाएर सत्तासीन दल नै निर्वाचन सार्न लागिपरेको त होइन भन्ने प्रश्न गर्दै ओलीले निर्वाचनको मुखमा संविधान संशोधन सम्भव नरहेको स्पष्ट पारे । एमाले संविधान संशोधनको विपक्षमा नरहेको बताउँदै ओलीले थपे, ‘संविधान र कानुन संशोधन हुनै नसक्ने विषय होइन । संविधान संशोधन हुनसक्छ।’

संशोधन गोलमोटोलमा भने हुन नसक्ने दाबी गर्दै ओलीले भने, ‘२ गते उम्मेदवारी मनोनयन छ । चुनावअघि संशोधन सम्भव छैन ।’

संविधान संशोधनको विक्षमा उभिँदै आएको एमालेले प्रमुख दलहरूको बैठकमा निर्वाचनपछि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउने विषयमा छलफल गर्न तयार रहेको धारणा राखेको थियो । ओलीले संशोधनबाहेक तत्कााल राजपालाई चुनावमा आउन परेको अप्ठेरो फुकाउन पनि छलफल गर्न तयार रहेको धारणा राखेका थिए । निर्वाचन मिति सार्नेबाहेक अन्य विषय सम्बोधन गरेर जान एमाले सकारात्मक देखिएको स्रोतको दाबी छ ।

कांग्रेस र माओवादीका नेताले भने चुनावअघि नै राजपाका माग सम्बोधन गरेर जानसके राम्रो हुने प्रस्ताव बैठकमा राखेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेलले राजपा नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रयास गर्ने बताए । ‘असार १४ गतेको निर्वाचन सार्ने कुरा भएको छैन,’ पौडेलले पत्रकारसँग भने, ‘उहाँहरू (राजपा) लाई कुनै उपायबाट चुनावमा सरिक गराउन सकिन्छ कि भन्नेमा हामीहरू लागिपरेका छांै ।’

राजपालाई मनाउन कांग्रेस र माओवादीका नेताहरूले मंगलबार साँझ पनि छलफल गरेका छन्। यसै विषयलाई लिएर  प्रधानमन्त्री देउवाले बुधबार सत्तासीन दल, प्रमुख प्रतिपक्षी एमाले र राजपाको बैठक बोलाएका छन् ।

यसैबीच कांग्रेसका २ नम्बर प्रदेशका सांसद र पार्टी जिल्ला सभापतिको बैठकले राजपालाई मनाएरमात्र निर्वाचनमा जानुपर्ने सुझाव सभापति एवं प्रधानमन्त्री देउवालाई दिने भएका छन् । पुरानो बानेश्वरस्थित आनन्द पार्टी भेन्युमा मंगलबार भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

प्रकाशित: ३१ जेष्ठ २०७४ ०१:१० बुधबार

राजपा निर्वाचनमा आए संशोधन