१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

फोरम 'पकड' क्षेत्रमा आ-आफ्नै दाबी

छत्र कार्की/अमर खड्का

सुनसरी- भोक्राहा–६ का सगमलाल मेहता (६५) खेतमा लगाएको मकै थन्काउने चटारोमा थिए। चार महिला मजदुरसहित उनी असिनपसिन भएर मकै ओसारिरहेका थिए। मकै थन्क्याएर असार पहिलो सातादेखि रोपाईं सुरु गर्ने उनको सुरसार छ।

संघीय समाजवादी फोरमको 'पकड' क्षेत्र  मानिएको सुनसरी क्षेत्र नम्बर ५ मा कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।

असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह चुनावअघि तीन बिघा जग्गामध्ये आधामा धान रोपिसक्ने उनको योजना छ। मेहता कुनै दलमा आबद्ध छैनन्। 'राम्रो उम्मेदवारलाई सघाउनुपर्ला, गाउँ–ठाउँको विकास गर्नसक्नेलाई नै जिताउनुपर्छ,' उनले नागरिकसँग भने, '२० वर्षपछि हुन लागेको चुनावमा अलिअलि सक्रिय त हुनैपर्‍यो नि।'

स्थानीय तह पुनर्संरचनापछि भोक्राहा, कोसी र हरिनगरा गाउँपालिका संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभा चुनाव जितेको क्षेत्र नम्बर ५ मा पर्छन्। 'कुन पार्टीले जित्छ भनी अहिले आकलन गर्नु हतार हुन्छ, तथापि, यहाँ संघीय समाजवादी फोरमको उपस्थिति बलियो छ,' मेहताले भने। यादवको पुर्ख्यौली घर रहेको मधुवन अहिले क्षेत्र नम्बर ६ को बराह नगरपालिकामा पर्छ।

कोसी गाउँपालिकाकी सुलेखा मण्डल (३०) गरिबको हित गर्ने उम्मेदवारलाई भोट दिने बताउँछिन्। 'दिनभर काम गरेन भने घरमा चुल्हो बल्दैन,' कृषि मजदुरी गर्ने उनले भनिन्, 'नेताको अघिपछि लागेर मात्र कहाँ हुन्छ, काम नगरी खान पुग्दैन।' आफूले चिनेजानेको र परेको बेला काम गरिदिने उम्मेदवारलाई जिताउने उनको सोच छ।

समाजवादी फोरमको 'पकड'

सगमलाल र सुलेखा मात्र होइन, मधेसी समुदाय बहुल  सुनसरीका भोक्राहा, कोसी र हरिनगरा गाउँपालिकाका वासिन्दा चुनावमा सक्रिय छन्। उनीहरू बिहानभर खेतीमा व्यस्त हुने अनि दिउँसो गर्मी छल्न गाछीमुनि बसेका बेला चुनावी चर्चामा सहभागी हुन थालेका छन्। स्थलगत रिपोर्टिङकै क्रममा भोक्राहा गाउँपालिका–३ मा रुखमुनि शीतल तापेर बस्दै गरेको अवस्थामा पुराना कांग्रेस नेता लक्ष्मीदास खत्वे (७९) भेटिए। चुनावका बारे रिपोर्टिङमा आएको थाहा पाउनासाथ उनी कुराकानी गर्न अगाडि सरे। कुनै पनि दलले दाबी गरेजस्तो जित्न सजिलो नहुने उनको विश्लेषण छ। 'सबै पार्टीमा गन्जागोल छ। कांग्रेस र माओवादी केन्द्रले प्रमुखका लागि उम्मेदवार टुंगो लगाए पनि अरु पार्टीले निर्क्योल गर्न बाँकी छ। दलले कस्ता उम्मेदवार दिन्छन्, त्यसैमा जित भर पर्छ,' उनी भन्छन्, 'जातीय आधारले मात्र कहीं पनि चुनाव जित्न सकिँदैन। अधिकांश दलले जातीय आधारमा उम्मेदवार उठाउने भए पनि त्यो मात्र निर्णायक हुँदैन। मेरै गाउँमा खत्वे समुदायका २ सय ५० जति मत छ। अब खत्वे नै उम्मेदवार हुनुपर्छ भनेर मैले जिद्दी गर्न मिल्दैन।'

कांग्रेस, संघीय समाजवादी फोरम, नेपाल, एमाले र माओवादी केन्द्र घरदैलो अभियान चलाएर भोट माग्न व्यस्त  छन्। 'हाम्रो गाउँमा पार्टीमा एकदमै खुलेर हिँड्ने कम छन्। मतदाता मुख्यमुख्य पार्टीमा बाँडिएका छन्,' भोक्राहा–४ का उदय भगतले भने। उनका अनुसार भोक्राहामा संघीय समाजवादी फोरमको 'पकड' छ। राप्रपा र नेपाल लोकतान्त्रिक फोरमको भने प्रभाव कम छ। राष्ट्रिय जनता पार्टी (राजपा) को भोक्राहा, कोशी र हरिनगरा गाउँपालिकामै न्यून प्रभाव छ।

'भनिएजत्ति कमजोर छैन एमाले'

२०४८ सालको आमनिर्वाचन तथा २०५१ सालको मध्यावधि निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले जितेका थिए। संविधानसभाको पहिलो तथा दोस्रो निर्वाचनमा क्षेत्र नं. ५ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भए। पहिले दस गाविस रहेकामा स्थानीय तह पुनर्संरचनापछि यस क्षेत्रमा तीन गाउँपालिका भएका छन्।

तीनवटै गाउँपालिकामा कांग्रेसले उम्मेदवार टुंगो लगाइसकेको छ। कोसी गाउँपालिकामा कांग्रेसले अयुब अन्सारीलाई प्रमुख तथा अनितादेवी यादवलाई उपप्रमुखमा उठाउने भएको छ। माओवादी केन्द्रले कोशी र हरिनगरामा नाम टुंग्याए पनि अन्य दलले उम्मेदवार तोक्न सकेका छैनन्। संघीय समाजवादी फोरम कोसी गाउँपालिकाका नेता रामसुरज यादवका अनुसार यस क्षेत्रमा प्रमुख र उपप्रमुखमा फोरम नेपालको कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुन्छ। 'वडाध्यक्षमा चाहिँ एमाले, माओवादी र अन्य मधेसवादी दलबीच प्रतिस्पर्धा हुनसक्छ,' रामसुरजले भने।

सरस्वती आधारभूत स्कुल, भोक्राहाका प्रधानाध्यापक भोलिप्रसाद यादवले संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता ठूलो संख्यामा नभए पनि केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको गाउँ भएकाले राम्रो नतिजा आउनसक्ने अनुमान गरे। 'बाहिरबाट हेर्दा संघीय फोरमको ठूलो तामझाम देखिँदैन तर गाउँ–गाउँमा चाहिँ राम्रो पकड छ,' यादवले सुनाए।

भोक्राहा, कोसी र हरिनगरामा एमालेको राम्रो जनाधर भएको लौकहीस्थित सुनसरी मोडेल पब्लिक स्कुलका सञ्चालक पर्शुराम यादवको दाबी छ। 'सुनसरीको मधेसी बाहुल्य क्षेत्रमा बाहिर भनिएजस्तै एमाले कमजोर छैन। वडाहरूमा पनि एमालेको राम्रै स्थिति छ,' उनले भने। त्यस क्षेत्रमा राप्रपालेे पनि सम्मानजनक मत ल्याउने उनको भनाइ छ।

साख फर्काउने दाउमा कांग्रेस

हरिनगरामा नेपाल लोकतान्त्रिक फोरमको बढी प्रभाव रहेको स्थानीय बताउँछन्। लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रामनन्द पण्डितले कांग्रेसका असन्तुष्टलाई आफ्नो पार्टीमा भिœयाएर टिकट दिने तयारी भइरहेको बताए। 'कांग्रेससँग असन्तुष्ट स्थानीय नेतालाई पार्टीमा ल्याएर टिकट दिई चुनाव जित्ने रणनीति बनाइरहेका छौं,' उनले भने, 'अब केही दिनमै उम्मेदवारको टुंगो लाग्छ।'

हरिनगरामा कांग्रेसबाट अध्यक्षका लागि गफार मियाँ र उपप्रमुखमा रिमझिम भगतको टुंगो लागेको  छ। दोस्रो संविधानसभा चुनावमा फोरम लोकतान्त्रिकबाट उम्मेदवार भएका गफार संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए। माओवादी केन्द्रले यहाँ दिलु मियाँलाई प्रमुख र मुन्नी मेहतालाई उपप्रमुखमा उठाउने भएको छ।

भोक्राहामा एमालेले कांग्रेसबाट एमाले प्रवेश गरेका मुनिम अन्सारीलाई प्रमुखमा उठाउने तयारी गरेको छ। कांग्रेसले भने अजमल अजाजलाई प्रमुखको उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले पञ्चनारायण मण्डललाई प्रमुखमा उठाउने भएको छ।  राप्रपा तथा  मधेसकेन्द्रित दलले भने उम्मेदवार टुंगो लगाइसकेका छैनन्।

२०५४ सालको स्थानीय निकाय निर्वाचनमा क्षेत्र नं. ५ का  दस गाविसमध्ये राप्रपा र एमालेले एक–एक स्थानमा अध्यक्ष जितेका थिए। अन्य आठ गाविसमा कांग्रेसले अध्यक्ष जितेको थियो। 'पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसको पकड क्षेत्रलाई मधेस मुद्दाले खायो। दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले हचुवाको भरमा टिकट बाँड्दा हार खेप्नुपर्‍यो,' हरिनगरा गाउँपालिका कांग्रेसका अध्यक्षका उम्मेदवार गफार मियाँले भने, 'यसपालि गुमेको साख फर्काउने कांग्रेसको योजना छ।' भोक्राहामा कूल १८ हजार ८ सय ८३, कोसीमा २२ हजार ४ सय ३० र हरिनगरामा २० हजार ५ सय ६१ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

माओवादी केन्द्रको आफ्नै दाबी

माओवादी केन्द्रले सुनसरी क्षेत्र नम्बर ५ मा आफ्नो संगठन कमजोर भए पनि यसपालि चुनावी नतिजामा सुधार ल्याउने जनाएको छ। माओवादी केन्द्र सुनसरी इन्चार्ज रामकुमारी चौधरीले अन्य ठाउँको तुलनामा संगठन कमजोर भए पनि पार्टीले राम्रो उम्मेदवार उठाएकाले जित्ने दाबी गरे।

'उम्मेदवार राम्रा भएकाले हामीले जित्ने आस गरेका छौं, स्थानीय चुनावमा पार्टीभन्दा पनि व्यक्तिलाई हेरेर भोट दिने भएकाले त्यसको प्रभाव पर्छ,' उनले भनिन्।

गाउँपालिकाका प्रमुख–उपप्रमुखमा जित हासिल गर्ने उनको भनाइ छ। 'गाउँपालिकाका वडाहरूमा भने मिश्रित परिणाम आउनसक्छ,' उनले भने। यसपटकको चुनावमा घरदैलो, भेटघाट, सभा–सम्मेलन गरेर पार्टीको अजेन्डा बुझाएकाले सकारात्मक परिणाम आउने अपेक्षा छ।

आशाका केन्द्र  जनप्रतिनिधि

धरान–२ का राजा सुब्बा सात वर्षदेखि घन्टाघर व्यवस्थापन समितिअन्तर्गत कर्मचारीको हैसियतमा काम गर्दै आएका छन्। उनले घन्टाघर परिसर रेखदेख र त्यहाँ रहेका सामग्री मर्मतसम्भारको संयोजनक गर्दै आएका छन्। उनले जनप्रतिनिधि नहुँदा काममा ढिलासुस्ती बढ्नुका साथै घुसखोरी र आर्थिक अनियमितता बढ्दै गएको बताए।

'स्थानीय निकायको चुनाव समयमै भएको भए यस्तो बेथिति बढ्ने थिएन,' सुब्बाले सुनाए, 'दलीय संयन्त्र र कर्मचारीको मनोमानीले स्थानीय तहको विकास चौपट्ट भयो।' जनताका प्रतिनिधि भए उनीहरूले गुनासो सुन्ने र त्यसलाई कार्यान्वयन गर्न पहल थाल्ने उनको भनाइ छ।

जनप्रतिनिधि नहुँदा के हुन्छ भन्नेमा उनले आफ्नै अनुभव सुनाए। 'घन्टाघरको 'ट्युबलाइट' बिग्रिएको एक वर्ष भयो। 'ट्युब' फेर्नुपर्‍यो भनेर धेरैपटक कर्मचारीलाई भनें तर कसैले वास्ता गरेनन्, यति सानो कुरा त लथालिंग छ भने भित्र के–के भएको होला?,' उनी भन्छन्। गाउँ र सहरको विकृति देखेर दिक्क भएका सुब्बालाई चुनाव भएपछि पक्कै विकासका काम अगाडि बढ्ने आस छ। 'प्रमुख/उपप्रमुखलगायत पदाधिकारीलाई राम्रो गरिनँ भने जनताले भोटको बेला सजायँ दिन्छन् भन्ने लाग्दो रहेछ तर कर्मचारीलाई पैसाबाहेक अन्य कुरामा ध्यान नहुँदो रहेछ,' उनले भने।

सुनसरीको पर्यटकीय क्षेत्र भेडेटार क्षेत्रसमेत समेटिएको साँगुरीगढी गाउँपालिकाका मतदाता सजग र सचेत रहेको देखियो। ३३ वर्षअघि खुलेको लघुमाया तामाङको चियापसलमा १०–१२ जनाको समूह चुनावीगफमै केन्द्रित थियो। लघुमायाले पनि गफमा सक्रिय सहभागिता जनाइरहेकी थिइन्। 'पञ्चायत, प्रजातन्त्र अनि गणतन्त्रको चुनावमा पटक–पटक भोट दियौं, जितेर गएपछि नेताले जनताको पीरमर्का बुझेनन्,' उनले सुनाइन्, 'देशमा शान्ति आओस भनेर पहिलो संविधानसभा चुनावमा माओवादीलाई पनि भोट हालिएकै हो, तर, नेताहरूले खै के गरे त?' यसपटक भने मनस्थिति फेरिएको उनले सुनाइन्। 'पार्टी हेरिन्न, राम्रो उम्मेदवारलाई जिताउनुपर्छ,' लघुमायाले भनिन्।

उनको कुरा ध्यानपूर्वक सुनिरहेका साँगुरीगढी–६ का कुमार राईले दलहरूको अभियानले गाउँमा चुनावी माहोल तयार भइसकेको बताए। 'सहर–बजारभन्दा पनि साँच्चिकै चुनाव त गाउँमा पो लागेको छ, विभिन्न पार्टीका हुलका हुल कार्यकर्ता घरदैलोमा घुमिरहेका छन्। गाउँलेमा चासो र सचेतना बढ्दै गएको छ,' उनले भने। यसपालि धनकुटामा 'पहिचानवादी' पक्षधरभन्दा पनि मुख्य दलहरूको पक्षमा चुनावी माहोल बढ्दै गएको उनको ठम्याइ छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राप्रपा चुनाव प्रचारप्रसार लागेका छन् । यहाँ एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने कुमारको आकलन छ। 'केही गाउँपालिका र नगरपालिकामा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राप्रपाका उम्मेदवारले केही स्थान ल्याउन सक्छन्,' उनी भन्छन्।

००० ००० ०००

सुनसरी, कोसी गाउँपालिकाको लौकही बजारमा चुनावी गफ गर्दै स्थानीय। तस्बिर :  अमर खड्का/नागरिक

 

 

 

प्रकाशित: २७ जेष्ठ २०७४ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App