देवेन्द्र बस्नेत/दिनेश सुवेदी
रोल्पा- एमालेका शान्तकुमार ओली पहिलो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ मा चुनाव लडे। उनका प्रतिस्पर्धी थिए माओवादी अध्यक्ष पुष्पकमल दाहाल। ओली निकै फराकिलो मतान्तरले दाहालसँग पराजित भए।
‘मतान्तर धेरै भए पनि म दोस्रो भएको थिएँ,’ ओलीले भने, ‘कांग्रेस तेस्रो भएको थियो ।’ चुनावी दौडमा कडा चुनौती बनेका दाहाललाई उछिन्न नसक्दा संविधानसभा प्रवेश गर्ने ओलीको सपना सफल भएन।
संविधानलेखनमा उपस्थिति जनाउन नसके पनि संविधान कार्यान्वयनको चरणमा सहभागी हुने इच्छा नमरेको ओली बताउँछन् । ओली अहिले रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्षमा एमालेबाट उम्मेदवार तोकिएका छन् ।
‘संविधानसभा निर्वाचन लडेको मान्छे गाउँपालिकाको प्रमुखमा चुनाव लड्दा अप्ठ्यारो मान्नुपर्ने अवस्थै होइन,’ उनले भने, ‘म त्यो बेला पनि जनताका लागि भनेर निर्वाचन लडेको थिएँ र अहिले पनि जनताकै हितका लागि भनेर होमिएको छु । दुवै निर्वाचनमा म फरक देख्दिन ।’
माओवादी अध्यक्ष दाहाल र एमालेका ओलीसँगै चुनाव भिडेका राप्रपाका दलवीर पुन पनि स्थानीय तहमा भिडेका छन् । पहिलो संविधानसभा निर्वाचनमा राष्ट्रिय जनशक्ति पार्टीबाट चुनाव लडेका पुन अहिले रोल्पा नगरपालिकाको मेयरमा भिडेका हुन् । ‘त्यस बेला सभासद् चुनिने दौडमा प्रतिस्पर्धी थिएँ, अहिले मेयरको दौडमा छु,’ उनले भने, ‘हामी जनताका लागि लडेका व्यक्ति हौं, कार्यक्षेत्र र काम एउटै हो ।’
संविधानसभाका दुवै निर्वाचनमा भिडेर पराजित थुप्रै उम्मेदवारले अहिले स्थाानीय निकाय ताकेका छन् । संविधानसभामा बेहोर्नुपरेको ‘पराजित नतिजा’ लाई स्थानीय तहको निर्वाचनमा उल्ट्याउने रणनीतिमा उनीहरू छन् ।
रोल्पाकै कांग्रेस नेता लेखनाथ आचार्य २०५६ को संसदीय निर्वाचनमा क्षेत्र नम्बर १ बाट ६ हजार ६ सय ९५ मत प्राप्त गर्दै सांसद निर्वाचित भए । पहिलो संविधानसभा निर्वाचनमा मैदानबाहिरै रहेका उनी पछिल्लो संविधानसभा निर्वाचनमा भने उम्मेदवार तोकिए । तर उनले माओवादीका कृष्णबहादुर महरालाई उछिन्न सकेनन् । आचार्यले आठ हजार चार सय नौ मत प्राप्त गरे भने महराले ११ हजार चार सय सात मतसहित विजयी भए । महरासँग पराजित आचार्य पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन भएका छन् । रोल्पा नगरपालिकाकम आचार्य र महराका ज्वाइँ पुरण क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ ।
आचार्य जनताको हितका निम्ति सांसदभन्दा स्थानीय तहको प्रतिनिधित्व महŒवपूर्ण रहेको बताउँछन् । ‘जनताले विकास निर्माण र सेवासुविधामा सहजता खोजेका छन्,’ उनले भने, ‘सांसद बनेर काठमाडौं केन्द्रित हुनु भन्दा स्थानीय जनताको प्रतिनिधि बनेर उनीहरूको आवश्यकता पूरा गर्न पाउनु ठूलो कुरा हो।’
उनले जनताकै रायबाट आफू उम्मेदवार चुनिएको बताए । ‘तपाईं नै निर्वाचन लड्नुपर्छ भन्ने आमकार्यकर्ताको मागले पनि मलाई मेयरका लागि प्रतिस्पर्धामा उत्रन प्रेरित गरेको हो,’ उनले भने ।
पहिलो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा तेस्रो स्थानमा परेका एमालेका नरुलाल चौधरीलाई घोराही उपमहानगरपालिकामा पहिलो नम्बरमा पर्ने उत्साह चुलिएको छ । उनी भन्छन्, ‘संविधानसभामा प्रतिनिधित्व नभए पनि स्थानीय तहमै बसेर जनताको सेवासुविधाका लागि केही गर्नुपर्छ भन्ने भावना जीवितै रह्यो ।’
संविधानसभामा माओवादीकी दामा शर्मा विजयी हुँदा कांग्रेसका कृष्णकिशोर घिमिरे दोस्रो बनेका थिए भने चौधरी तेस्रो स्थानमा थिए । ‘त्यो बेलाको पराजयले पनि मलाई चुनावमार्फत जनतामा जान उक्साएको हो,’ उनले भने ।
घोराही उपमहानगरको मेयरमा माओवादीले जीवन गौतमलाई अघि सारेको छ कांग्रेसले उम्मेदवार चयन गरिसकेको छैन ।
नरुलाल जस्तै दाङ क्षेत्र नम्बर २ मा पछिल्लो संविधानसभा निर्वाचनमा पराजय व्यहोरेका राप्रपाका नुमाकान्त कुँवर गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् । बंगलाचुली गाउँपालिकाको अध्यक्षका उम्मेदवार कुवँरले यसपाला भने आफ्नो विजय ‘पक्कापक्की’ नै दाबी गरेका छन् । ‘संविधानसभा निर्वाचनमा चौथो स्थानमा परेको थिएँ,’ उनले भने, ‘अहिले भने गाउँपालिकाको चुनावमा एक नम्बरमा पर्छु भन्ने विश्वासमा छु ।’
तुलसीपुरकी कमला जिसीलाई पनि पछिल्लो संविधानसभा निर्वाचनमा भोग्नुपरेको पराजय मेटाउनु छ । उनी त्यतिबेला दाङ निर्वाचन क्षेत्र ५ बाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार बनेकी थिइन् । अहिले जिसी तुलसीपुर महानगरपालिकाको उपमेयरको उम्मेदवार हुन् । ‘संविधानसभा निर्वाचनमा पराजय भए पनि उपमेयरमा चुनाव जितेर त्यो बेलाको हार बिर्सने योजनामा छु,’ उनले भनिन् ‘हेरौं जनताको मतले कस्तो नतिजा ल्याउँछ ?’ उनी पनि संविधानसभा र स्थानीय तहको निर्वाचनलाई सानोठूलोका रूपमा तुलना गर्न नहुने बताउँछिन्। ‘संविधानसभाको चुनाव जनताको संविधान लेख्ने प्रतिनिधि चयनका लागि थियो,’ उनले भनिन्, ‘अहिलेको स्थानीय चुनाव संविधान कार्यान्वयनका लागि हो, त्यसैले म कुनै फरक देख्दिनँ ।’
विश्लेषकहरू भने दलहरूमा देखिएको स्तरीयताको कमीका कारण यस्तो परिस्थिति आएको टिप्पणी गर्छन् । दलहरूले कुन व्यक्तिलाई कुन हैसियतमा राख्ने भन्ने स्तयरीता तय गर्न नसक्दा हरेक तहका निर्वाचनमा उम्मेदवार दोहोरिने क्रम बढेको टिप्पणी विश्लेषक विनोद पोख्रेलको छ । ‘कुन हैसियताामा कसलाई राख्ने भन्ने स्तरीयताको ज्ञान दलहरूमा नहुँदा यो अवस्था देखिएको हो,’ पोख्र्रेलले भने, ‘कसलाई टिकट दिएपछि व्यक्तिगत लाभ लिन सकिन्छ भन्ने नेताहरूको मानसिकताले संविधानसभा र गाउँपालिकाका उम्मेदवार एउटै व्यक्ति परेका हुन् ।’
उनले संविधानसभा र हालको स्थानीय तहलाई बराबरी मान्नै नसकिने बताए । ‘संविधानसभा र स्थानीय तहको हैसियत र जिम्मेवारीमा धेरै ठूलो अन्तर छ,’ पोख्रेलले भने, ‘यी दुई निकाय समान होइनन् ।’
प्रकाशित: २४ जेष्ठ २०७४ ०२:३९ बुधबार