काठमाडौं – स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले सबैलाई धन्दवाद दिएका छन्।
‘नेपाली जनताको लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक खुट्किलो स्थानीय तहको पहिलो चरणको निर्वाचन मतदाताहरुको भव्य र उल्लाससहित मनदान सम्पन्न भएको छ,’ कार्यवाहक राष्ट्रपति पुनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘ स्थानीय तह देशको समृद्धि र सुदृढ् लोकन्त्रको आधार स्तम्भ भएकोले यस निर्वाचनले लोकतन्त्रलाई सुदृढ् गर्नुका साथै समृद्धिको ढोकासमेत खोल्नेछ ।’
सिंहदबारमा केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनमा पुर्याउने, जनताले आफ्नो शासन आफै गर्ने स्थानीय तहको पहिलो चरणको निर्वाचनमार्फत छनोट गर्न लागेको शुभकामना समेत दिएका छन् ।
‘नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । संघीय शासन व्यवस्थामा रहेको तीन तह संघ, प्रदेश र स्थानीयमध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता हो ,’विज्ञप्तिमा उल्लेख गरिएको छ,‘स्थानीय तहको पहिलो चरणको निर्वाचनसम्पन्न भएसँगै दोस्रो चरणको निर्वाचनपनि सफलतापूर्ण सम्पन्न हुनेछ भन्ने विश्वास लिएको छु। ’
प्रकाशित: ३१ वैशाख २०७४ १२:२३ आइतबार