६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ललितपुरमा १३१ मतदान केन्द्र, ११ अति संवेदनशील

ललितपुर- नेपाली सेनासहितको जिल्ला सुरक्षा समितिले गोप्य सूचना र सुरक्षा विश्लेषणपछि जिल्लाका एक सय ३१ मतदान केन्द्रलाई तीन तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसहितको बैठकले ११ मतदान केन्द्रलाई अति संवेदनशील भन्दै सोहीअनुसारको सुरक्षा प्रबन्ध गरेको छ। अति संवेदनशील मानिएका निर्वाचन केन्द्र महानगर र गाउँपलिकामा रहेका छन्। यस्ता निर्वाचन केन्द्रमा सेनासहितको सुरक्षा व्यवस्था गरिएको छ।

ललितपुरका ५७ निर्वाचन केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषणअनुसार सुरक्षा व्यवस्था गरिएको छ। बाँकी ६३ निर्वाचन केन्द्रलाई सुरक्षा निकायले सामान्य रहेको विश्लेषण गरेका छन्।

प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले ललितपुरका सबै निर्वाचन केन्द्रमा आवश्यक सुरक्षा प्रबन्ध मतदाताले सोचेभन्दा अब्बल रहेको दाबी गरे। उनले प्रशासनले सबै निर्वाचन केन्द्रको भ्रमण, पछिल्ला घटनाक्रम र सुरक्षा चुनौती विश्लेषणपछि सुरक्षा व्यवस्था सोहीअनुसार गरिएको बताए।

'निर्वाचन केन्द्रमा कसैले धावा बोल्न सक्दैन, लुकेर साना घटना गराएर निर्वाचन बिथोल्ने प्रयास गरे सुरक्षाकर्मीलाई हदैसम्मको कारबाही गर्ने अधिकार दिएका छौं,' काफ्लेले भने। उनले थपे, 'मतदाता ढुक्क भएर मतदानका लागि आउनुस्, हल्लाले सुरक्षा व्यवस्था बिथोल्दैन।'

ललितपुरको निर्वाचन सुरक्षाका लागि महानगरीय प्रहरी परिसर ललितपुरले एक हजार चार सय ३७ प्रहरी अधिकारीलाई आवश्यक उपकरण र हातहतियारसहित निर्वाचन केन्द्र र क्षेत्रमा खटाएको छ। यस्तै नौ सय दुई जना म्यादी प्रहरी निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि खटिएका छन्। परिसरले मतदाता, मतदान केन्द्र र उम्मेदवारको सुरक्षाका लागि खटाएका सुरक्षा अधिकारीकै हाराहारीमा प्रहरी फौज तयारी अवस्थामा राखिएको जनाएको छ। यसबाहेक नेपाली सेना र सशस्त्र प्रहरीसमेत ठूलो संख्यामा निर्वाचन सुरक्षाका लागि परिचालित छन्।

परिसरका प्रवक्ता डिएसपी ईश्वर कार्कीले सुरक्षामा कुनै कमजोरी नहुने दाबी गरे। उनका अनुसार जिल्लाको विकट मानिएका क्षेत्रसहित महानगरका चोकचोकमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी सचेत छ।

उनले भने, 'केही छिटफुट घटनालाई आधार बनाएर केही व्यक्ति र दलले निर्वाचन बिथोल्ने प्रयास गर्ने सूचना पाएका छांै। यस्ता व्यक्ति हाम्रो निगरानीमा छन्। केहीलाई सुरक्षा संवेदनशीलताका आधारमा नियन्त्रणमा लिएका छौं,' कार्कीले भने।

परिसरका अनुसार नेकपाका जिल्ला स्वयंसेवकका संयोजक वैशाख ११ देखि प्रहरी हिरासतमा छन्। उक्त दलका सुरेश लामालाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही गरिरहेको छ। यस्तै चापागाउँ वृत्तले नेकपाका १६ जना नेताकार्यकर्तालाई पक्राउ गरी कारबाही गरेको छ।

डिएसपी कार्कीका अनुसार गुण्डा सूचीमा रहेका राजु बोगटी र प्रनिल गुरुङलाई दैनिक तारिखमा राखिएको छ। यस्तै बिहीबार मात्र सरोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निर्वाचन तयारी पूरा

ललितपुर महानगरपालिकासहित दुई नगरपालिका र तीन गाउँपालिकाको निर्वाचन तयारी पूरा भएको छ। निर्वाचन गराउन निर्वाचन अधिकारीसहितको टोली निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगिसकेको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै ललितपुरका ६ स्थानीय निकायका लागि तोकिएका एक सय ३१ मतदान स्थलबाट बिहीबार मतदाता परिचयपत्र वितरण भएको छ।

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित कर्मचारी ६ वटै स्थानीय निकायका मतदान स्थलमा पुगेका छन्।  उनका अनुसार ललितपुर महानगरपालिकासहित गोदावरी र महालक्ष्मी नगरपालिका तथा महाँकाल, बाग्ामती र कोन्ज्योसोम गाउँपालिकामा मतपत्रलगायतका सामग्री सुरक्षितसाथ पुगेका हुन।

'निर्वाचन सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पुगिसक्नुभएको छ। मतपत्र वितरण धमाधम भइरहेको छ। अब मतदानका लागि आवश्यक तयारीमा जुटेका छौं,' दुवाडीले नागरिकसँग भने।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरका दुई सय ६५ मतदान केन्द्रमध्ये महानगरमा एक सय ३२, गोदावरी नगरपालिकामा ५९, महालक्ष्मी नगरपालिकामा ३६ मतदान केन्द्र तोकिएको छ। यस्तै महाँकाल गापामा १३, बाग्ामतीमा १५ र कोन्ज्योसोममा १० मतदान केन्द्र तोकिएको छ। महानगरका एक लाख १२ हजार नौ सय २३ मतदाताले जनप्रतिनिधि चुन्ने छन। यस्तै गोदावरी नपाका ४७ हजार ४६ मतदाता र महालक्ष्मी नपाका २९ हजार पाँच सय ८८ मतदाताले मतदान गर्नेछन्। महाकाँल गापामा सात हजार ४१, बाग्ामतीमा नौ हजार ६९ र कोन्ज्योसोमका ६ हजार नौ सय ६ मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ।

ललितपुरमा रहेका ६ स्थानीय निकायका तीन सय ६७ पदका लागि एक हजार पाँच सय ५४ जना चुनावी प्रतिस्पर्धामा छन्।

दुई सवारीसाधन नियन्त्रणमा

प्रहरीले निर्वाचन आयोगको अनुमतिबिना निर्वाचन प्रयोजनमा प्रयोग भएका दुई सवारीसाधनलाई बिहीबार नियन्त्रणमा लिएको छ। परिसरका अनुसार बा.८ च १५७५ र बा.१५ च ७९०२ नम्बरका कार नियन्त्रणमा लिएर आयोगमा बुझाइएको हो।

परिसरका अनुसार कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनको प्रचारप्रसारमा प्रयोग भएका दुवै सवारीसाधनले आयोगबाट अनुमति लिएका थिएनन्।

प्रकाशित: २९ वैशाख २०७४ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App