४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भ्रष्टाचारविरुद्धको लडाई अझै रोकिने छैनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उनले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचार लगायतका विकृतिहरुविरुद्धको लडाई नरोकिने बताएका हुन्।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सफलता हातपारेसँगै उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको दावी समेत गरे।

उनले आफूले सरकार संचालन गरेयता सबैभन्दा ठूलो उपलब्धि जनतामा राज्य र व्यवस्थाप्रति भरोसा जगाउनु रहेको जिकीर समेत गरे।

प्रधानमन्त्री दाहालले भने, ‘मैले संसदमा संकल्प गरेको थिएँ–सुशासन सरकारको उच्च प्राथमिकता हुनेछ। मैले सरकारको यस बीचको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु। मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्यप्रति र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो। अहिले त्यसमा सुधार भएको छ। र, यसलाई मैले जनतामा राज्यप्रति र सरकारप्रति भरोसामा जो अभिवृद्धि भएको छ। यसबीचको सबैभन्दा ठूलो उपलब्धिको रुपमा मानेको छु। हाई प्रोफाईल व्यक्तिहरु कानुनभन्दा माथि छन आम मनोविज्ञान बनिरहेकोे थियो। त्यसले जनतामा ठूलो आक्रोश जन्माईरहेको थियो। त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो। र, नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाही पछि जनतामा विश्वास जाग्न सुरु भएको छ। नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वाेच्चतामात्रै प्रमाणित गरेको छैन। लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ। लोकतन्त्र भित्र देखापर्ने समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुन्छ भन्ने एउटा ऐतिहासिक मापदण्ड यो राम्रोसँग स्थापित भएको छ। उच्चपदस्थहरु र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अव लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सूरु भएको छ। संसद र आम जनसमुदायलाई म यही रोष्टमबाट विश्वास दिलाउन चाहन्छु–यो शुद्धिकरण यतिमा रोकिने छैन। यो निरन्तर अगाडि बढनेछ। हिजोबाट प्रधानमन्त्री निवासनै निल्न खोज्ने ललिता निवास काण्डको अभियुक्तहरु पक्राउ पर्न थालेका छन। मिटरब्याजी र सहकारीका ठगहरुमाथि कारबाही सुरु भइसकेको छ। वर्षाैदेखि विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यक्ता रहेको मैले महशुस गरेको छु। र, यो लडाईमा मलाई सदनको पनि र आम जनताको पनि अझ ठूलो हौसला र सहयोग प्राप्त हुने विश्वास पनि म व्यक्त गर्न चाहन्छु।’

प्रकाशित: १३ असार २०८० ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App