४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कार्यशैली चित्त नबुझे पनि ‘आफनै पार्टी’लाई भोट

काठमाडौं – ललितपुर खुमलटारका रमेश घिमिरे (नाम परिवर्तन) विद्यार्थी जीवनदेखि नै हालका ठूलो दलमध्ये एउटामा आबद्ध छन् । काम गर्ने शैली, अडान तथा स्थानीय निर्वाचनमा उठाएका प्रतिनिधिका आधारमा उनी आफ्नो दलभन्दा फरक दललाई सम्मान गर्छन् । उनलाई आफूले आस्था राख्ने दलको काम गर्ने प्रवृत्तिप्रति चित्त बुझेको छैन । यति हुँदाहुँदै पनि निर्वाचनमा भने आस्थाकै दललाई भोट दिने उनी बताउँछन् ।

उनको जस्तै सोच खुमलटारका विक्रम पाण्डे (नाम परिवर्तन) को पनि छ । उनी भन्छन्, ‘आस्था र सम्मान फरक कुरा हो, कसैले राम्रो काम गर्छ भने त्यसलाई सम्मान गर्न सकिन्छ तर मत दिँदा आस्थाकै आधारमा दिनुपर्छ ।’ पाण्डे यसपालि पनि आफूले पहिलेदेखि भोट दिँदै आएको दललाई नै भोट दिने बताउँछन् । 

ललितपुर सातदोबाटोकी अस्मिता कँडेल (नाम परिवर्तन) राजनीतिमा खासै रुचि राख्दिनन् । उनी व्यक्तिगत रुपमा नयाँ दलले उठाएका उम्मेदवारप्रति सद्भाव राख्छिन् । निर्वाचनमा भोटचाहिँ कसलाई दिनुहुन्छ भन्ने प्रश्नमा भने उनले अलि अकमकाउँदै जवाफ फर्काइन्, ‘स्थानीय निर्वाचनमा पहिलोपटक भोट हाल्दै छु, पहिलेदेखि जेमा आस्था छ, त्यसैमा भोट हाल्छु ।’

घिमिरे, पाण्डे र कँडेल प्रतिनिधिमात्र हुन् । उनीहरुजस्तै अधिकांश मतदातामा आफूले समर्थन गर्दै आएको दलप्रतिको आस्था यथावत् देखिन्छ तर काम गर्ने शैलीमा भने असन्तुष्टि पाइन्छ । कतिपय मतदाताले भने परम्परागतभन्दा पनि नयाँ र युवा उम्मेदवारलाई पनि भोट दिनुपर्ने तर्क गर्छन् ।

नेपाली मतदाताको मनोभाव बुझेपछि पत्रकारिता छोडेर साझा पार्टी खोलेका रवीन्द्र मिश्रले केही दिनपहिले पोखरामा मतदाताको मनोभावमाथि व्यंग्य गरेका थिए । चैत १८ गते  पोखरामा आयोजित एक कार्यक्रममा मतदाताप्रति असन्तुष्टि व्यक्त गर्दै उनले मेनु हेरेर अन्तिममा मम छनोट गरेजस्तै नेपालका मतदातामा पनि त्यस्तो प्रवृत्ति रहेको संकेत गरेका थिए ।

राजनीतिक विश्लेषक सिके लाल भने मतदातामा रहेको व्यापक उदासीनताका कारण परम्परागत आस्था नै उनीहरुको रोजाइमा पर्ने दाबी गर्छन् । निर्वाचनमा आफन्त वा नजिकको उम्मेदवार भएको खण्डमा दललाई भन्दा उम्मेदवारलाई प्राथमिकतामा राख्ने मतदाताले मतदानका लागि उपयुक्त विकल्प नभेटेपछि नराम्रो भएपनि परम्परागत दललाई नै भोट हाल्ने उनको तर्क छ । उनी भन्छन्, ‘जुन दललाई दिए पनि खासै फरक पर्दैन भन्ने मतदाताले राम्रोसँग बुझेका छन्, त्यही कारणले गर्दा नचिनेको दललाई दिनुभन्दा खराबै भए पनि चिनेको दल उनीहरुको रोजाइमा पर्छ ।’

प्रकाशित: २७ वैशाख २०७४ ०२:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App