३ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले ल्यायो ४५ करोड भन्दा बढी बजेट

धनुषाको लक्ष्मीनिया गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड भन्दा बढी बजेट सार्वजनिक गरेको छ। लक्ष्मीनिया गाउँपालिकाको ११ औं गाउँसभाबाट ४५ करोड २७ लाख २८ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको हो।

आइतबार गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता दिइएको छ। गाउँपालिकाले आवश्यकता र वास्तविक जीवनसंग जोड्ने र काम सिकाउने जीवनउपयोगी सीपमा आधारित स्थानीय शैक्षिक पाठ्यक्रमको विकास गरी एक विद्यालयबाट नमूनाको रुपमा शुरुआत गर्ने र क्रमशः सबै विद्यालयमा सो अनुसारको पठनपाठनको व्यवस्था मिलाउने लक्ष्य लिएको छ।

शिक्षा नियमावली, शिक्षा नीति, बहुभाषा शिक्षा निर्देशिका जस्ता कानूनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तरीय एवं प्रवर्द्धन गर्ने जनाएको छ। विद्यालय बाहिर रहेका र बीचमै विद्यालय छोडने बालबालिकाहरुलाई विद्यालय शिक्षा पुरा गर्न प्रोत्साहनका लागि विशेष प्याकेज सञ्चालन गर्ने लक्ष्य लिएको छ। अंग्रेजी माध्यमबाट शिक्षा दिन इच्छुक सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा शिक्षक दरबन्दी लगायतका कार्यमा प्रोत्साहन दिई नीजि विद्यालय सरह सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गरिने कार्यक्रममा उल्लेख छ। पालिकाले प्रत्येक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गर्ने लक्ष्य लिएको छ।

गाउँपालिकालाई खुल्ला बहुसांस्कृतिक संग्रहालयको रुपमा विकास गर्न पूर्वाधार निर्माण गर्दा बहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने बस्तुकला, मुर्तिकला, चित्रकला जस्ता सिम्बोलहरु निर्माण गर्ने लक्ष्य राखिएको छ। युवा बेरोजगारी न्यूनिकरणका लागि सरकारी, गैरसरकारी, सहकारी तथा नीजि क्षेत्रको समन्वय र सहकार्यमा सीप तथा उद्यमशील क्षमता विकासका कार्यक्रमहरु संचालन गरिने जनाइएको छ। त्यस्तै गाउँपालिकाका गौरवका रुपमा रहेका खेलकुद प्रतियोगिताहरु आयोजन गरी सहकार्य र साझेदारी गर्ने जनाइएको छ।

महिला, बालबालिका, अल्पसंख्यक, भूमिहीन, गरिब, आदिबासी जनजाति र सामाजिक बहिस्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरु संचालन गरिनेछ। अपाङ्गता पुनस्थापनाको लागि पुर्नस्थापन गृह स्थापना गरिने लक्ष्य लिइएको छ। ज्येष्ठ नागरिक परिचयपत्र वडास्तरबाट नै उपलव्ध गराउने व्यवस्था मिलाइने जनाइएको छ। पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुको लागि निःशुल्क शिविर सञ्चालन गरिनेछ।

स्थानीय आर्थिक विकासलाई योजनावद्ध रुपमा कार्यान्वयनमा ल्याइनेछ। यस अन्तर्गत स्थानीय प्रतिस्पर्धी बस्तु वा सेवाको सहभागितामूलक पहिचान गरी ती बस्तु वा सेवाहरुको समग्र मुल्य श्रृखलामा गाउँपालिका नीजि क्षेत्र र सहकारी समेतको सहकार्यमा स्थानीय आर्थिक विकासका योजना अन्तर्गतका कार्यहरुमा सञ्चालन गरिने जनाइएको छ। औद्योगिक तथा व्यवसायिक विकासका लागि गाउँपालिका उद्योग बाणिज्य संघ संगै साझेदारीको नीति लिइनेछ। औद्योगिक प्रदर्शनी स्थलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य आगाडि बढाइनेछ।

उच्च मुल्यका फलफूल, तरकारी तथा अन्नबालीहरुको पकेट क्षेत्रहरु पहिचान गरी सघन कृषि क्षेत्र निर्धारण गरी ती स्थानहरुमा व्यवसायिक कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले सहकारी संस्थाहरुको संस्थागत सुशासन प्रवर्द्धन गर्दै निक्षेपकर्ताहरुको हित संरक्षणका लागि अनुगमन प्रभाविकारी तुल्याइनेछ। उत्पादनमूलक सहकारीहरुको स्थापना गरिएमा विउपूजी लगानीको रुपमा सहयोग उपलव्ध गराइने र वार्षिक उत्पादनका अनुदान दिने नीति लिइने जनाइएको छ।

त्यस्तै बेमौसमी/मौसमी, व्यवसायिक कुखुरा पालन, व्यवसायिक ट्राउट अन्य जातको माछा पालन, कृषि उत्पादन संकलन केन्द्रको निर्माण, कृषि उत्पादनको बजारीकरण, स्थानीय अवस्था अनुसार भू उपयोग योजनाबाट कृषि पकेट क्षेत्र निर्धारण, उत्पादनको ब्राण्डिङ्ग, पर्यटन विकास गुरुयोजना निर्माण, ऐतिहासिक, धार्मिक, भौगोलिक महत्वका पर्यटकीय स्थलमा पूर्वाधार निर्माण, स्थानीय उत्पादन बिक्री लगायतलाई प्राथमिकता दिइएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार, उद्योगिक ग्राम स्थापना, कृषि पकेट क्षेत्रमा स्थानीय कृषि उपज प्रशोधन सम्वन्धी उद्योग स्थापना, सहकारी एन अनुसार सहकारी संस्थाहरुको दर्ता, अनुगमन र नियमन सञ्चालन, व्यवसायिक कृषि तथा पशुपालनमा सहकारीको लगानी, सहकारी संस्थाको क्षमता, श्रम र श्रमको माग सम्बन्धी अभिलेखन, रोजगार सूचना केन्द्र स्थापना गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रकाशित: ११ असार २०८० १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App