कलेन्द्र सेजुवाल/नगेन्द्र उपाध्याय
सुर्खेत- दुई दशकअघिको स्थानीय निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको 'मताकार' अहिलेभन्दा चार भाग सानो थियो। ९ हजार ८ सय १६ मत खसेकोमा एमालेका बालाराम शर्मा ४ हजार ८ सय ५१ मतसहित विजयी भएका थिए।
अहिले साविकका ६ गाविस जोडिएर वीरेन्द्रनगरको मत संख्या झण्डै ५२ हजार पुगेको छ। उतिबेलाका बिजेता शर्मासँग चुनावी मैदानमा उत्रिएका सबै अनुहार नयाँ छन्।
दुई दशकअघि मेयर बनेका एमाले नेता बालाराम शर्मासँग 'छोरो पुस्ता'का कांग्रेसका देवकुमार सुवेदी र माओवादी केन्द्रका रत्नबहादुर गाहा भिड्दैछन्।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा राजनीतिशास्त्रका उपप्राध्यापक दुर्गाप्रसाद सापकोटा भन्छन्, 'दुई दशकअघिको परिणामले आसन्न निर्वाचनमा मेल खान्छ भन्ने आधार देखिँदैन।' उनको भनाइमा नगरपालिकाको संरचनामात्र बदलिएको छैन, मैदानमा नयाँ अनुहार र नयाँ राजनीतिक शक्ति देखिएका छन्।
हाल नगरपालिकामा गाभिएका लाटीकोइली, उत्तरगंगा, जर्बुटा, गढी, रतु र गर्पन छुट्टाछुट्टै गाविस थिए। गर्पनबाहेक सबैमा एमाले विजयी भएको थियो। कांग्रेस रतु र उत्तरगंगामा दोस्रो भयो भने लाटीकोइली, गढी र जर्बुटामा तेस्रो भयो। यी तीन गाविसमा राप्रपा दोस्रोे थियो भने कांग्रेसले जितेको गर्पनमा एमाले दोस्रो थियो।
दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा माओवादी केन्द्र 'नयाँ शक्ति'का रूपमा देखिएको छ। उतिबेला भूमिगत अवस्थामा रहेको माओवादी पार्टी निर्वाचन बहिस्कारमात्र होइन, हुनै नदिने अभियानमा थियो। सोही पार्टी अहिले निर्वाचनमा सहभागी भएपछि 'पोजिसन' के हुने विषय पेचिलो बनेको छ। निर्वाचनलाई नजिकबाट नियाल्ने विश्लेषकहरू स्थानीय तह निर्वाचनमा नयाँ राजनीतिक शक्तिका रूपमा प्रवेश गरेको माओवादी केन्द्रले दुई दशक अघिको नतिजालाई फेरबदल गर्ने बताउँछन्। 'माओवादी केन्द्र दुईपटक संविधानसभा निर्वाचनमा सहभागी भएर राष्ट्रिय रूपमा प्रभावशाली शक्तिका रूपमा स्थापित भइसकेको छ,' बाम बुद्धिजीवी एवं लेखक कमलेश डिसी भन्छन्, 'स्थानीय तह निर्वाचनमा उसको सहभागिताले परिणामलाई पक्कै पनि प्रभावित पार्नेछ।'
पछिल्लो दुई संविधानसभा निर्वाचनमा एमाले–कांग्रेस–माओवादीबीच त्रिपक्षीय टकराव भयो। वीरेन्द्रनगर नगरपालिका रहेको निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ २०६४ मा एमाले र २०७० मा कांग्रेसले बढी भोट ल्याए। माओवादी तेस्रो भयो। २०५४ को स्थानीय निर्वाचनमा कांग्रेसलाईसमेत पछि पार्दै दोस्रो स्थानमा रहेको राप्रपा भने चौथो स्थानमा झर्यो। 'त्यसैले बृहत संरचना समेटिएर बनेको हालको वीरेन्द्रनगर नगरपालिका कुनै एक दलको पकड क्षेत्र हो भन्न सकिने अवस्था छैन,' उपप्राध्यापक सापकोटा भन्छन्, 'जसले मतदातालाई आकर्षित गर्नेगरी चुनावी माहोल बनाउन सक्यो, उसैले परिणाम पोल्टामा पार्न सक्छ।'
वीरेन्द्रनगरमा चुनावी परिणामलाई प्रभावित पार्ने अर्को महŒवपूर्ण 'फ्याक्टर' हो– प्रतिस्पर्धी नयाँ अनुहार, नयाँ मतदाता। दुई दशकअघि मेयर बनेका एमाले नेता शर्मासँग 'छोरो पुस्ता'का कांग्रेसका देवकुमार सुवेदी र माओवादी केन्द्रका रत्नबहादुर गाहा भिडँ्दैछन्। यीबाहेक राप्रपाका ईश्वर श्रेष्ठ, स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दहाल पनि पहिलोपटक नगर–निर्वाचनमा प्रतिस्पर्धी बनेका छन्। 'मतदाताहरू पुरानो र अनुभवी नेता छान्ने की 'टेस्ट' भइनसकेका, तर उज्यालो संभावना बोकेका नयाँ अनुहार छान्ने भन्ने विमर्शमा देखिन्छन्,' डिसी भन्छन्, 'मतदाताको यहीँ रोजाइले नतिजालाई प्रभावित पार्ने देखिन्छ।'
शर्माबाहेक प्रमुख प्रतिस्पर्धी सुवेदी, गाहा र स्वतन्त्र उम्मेदवार दहाल जनप्रतिनिधिमूलक निकायमा पहिलोपटक चुनाव लड्ँदैछन्। सुवेदीसँग सुर्खेत क्याम्पस (शिक्षा)मा स्ववियु सभापति भएको र दहालसँग नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष भएको चुनावी विजयको इतिहास छ। गाहा भने पार्टी राजनीतिमै बढी भिजेका र सामाजिक संघसंस्थामा स्थापित अनुहार हुन्।
निर्वाचनमा नयाँ उम्मेदवारमात्र होइनन्, नयाँ मतदाताको बाहुल्यता पनि उत्तिकै छ। २०५४ को निर्वाचन सेरोफेरोमा जन्मिएका र उतिबेला भोट हाल्न नपाएका किशोरकिशोरी अहिले स्थानीय जनप्रतिनिधि छान्ने लाइनमा छन्। उनीहरूको रोजाइ कतातिर ढल्किन्छ, त्यसले नतिजालाई प्रभावित पार्नेछ। 'पछिल्लो पुस्ता कुनै राजनीतिक दलको 'हार्डलाइनर' भन्दा पनि क्षमता र योग्यताको पक्षधर देखिन्छ,' डिसी भन्छन्, 'त्यसर्थ पहिलोपटक सहभागी हुँदै गरेको नयाँ पुस्ता यस पटकको निर्वाचनमा निर्णायक हुने देखिन्छ।'
स्वतन्त्रबाट सशंकित
गेहेन्द्रप्रसाद दहाल आवरणमा कांग्रेस देखिए पनि उनले काट्ने संभावित भोटबाट प्रमुख तीनै दल झस्किएका देखिन्छन्। एमाले लाटिकोइली क्षेत्रमा दहालबाट बढी सशंकित देखिन्छ। लामो समय शिक्षण गरेको र स्थानीयसँग घुलमिल भएकोले दहाल पनि लाटीकोइलीबाट अपेक्षित भोट आउने बताउँछन्। लाटिकोइली एमालेको बलियो प्रभाव भएको क्षेत्र हो। साविकको लाटिकोइली गाविसमा एमालेले २०५४ को स्थानीय निर्वाचन जित्नुका साथै दुई वटै संविधानसभा निर्वाचन बढी भोट ल्याएको थियो।
कांग्रेस गर्पन, रतु र गढी क्षेत्रबाट दहालप्रति सजग देखिन्छ। यी क्षेत्रमा तुलनात्मक रूपमा कांग्रेसको जनाधार राम्रो हुनु र दहाल सोही क्षेत्रको बासिन्दा हुनुले निर्वाचनमा यसको प्रभाव पर्ने आँकलन गरिएको छ। यसका साथै दहालले असन्तुष्ट कांग्रेसी मतदातालाई पनि आकर्षित गर्ने प्रयास गरिरहेका कांग्रेस स्रोतको भनाइ छ। पछिल्लो समय दलित, जनजाति र सुकुम्बासी बस्तीमा दहालको प्रभावले माओवादी केन्द्र झस्किएको छ। तुलनात्मक रूपमा यी समुदायमा माओवादी केन्द्रले बढी नै अपेक्षा गरेको छ।
जनजातिमाथि नजर
करिब १० हजारको संख्यामा रहेका जनजाति मतदाता माओवादी केन्द्रले अपेक्षा गरेझैं 'कन्भिन्स' भए भने परिणाम धेरै हदसम्म प्रभावित हुनसक्छ। त्यही आशाका साथ माओवादीले जनजाति समुदायका रत्नबहादुर गाहालाई उम्मेदवार बनाएको छ। 'हाम्रो ध्यान सुरुदेखि नै जनजाति मतदातामाथि छ,' गाहानिकट एक कार्यकर्ताले भने, 'हामीले सोचेझैं भयो भने परिणाम हाम्रो पोल्टामा पर्नसक्छ ।'
वीरेन्द्रनगर 'महत्वपूर्ण'
६ नम्बर प्रदेशको संभावित राजधानीका रूपमा हेरिएकोले पनि वीरेन्द्रनगरको नेतृत्वमा सबै राजनीतिक दलले उत्तिकै ध्यान दिएका छन्। प्रदेशअन्तर्गत २५ नगरपालिका छन्। तर, सबै दलको ध्यान वीरेन्द्रनगरमै केन्द्रित देखिन्छ।
वीरेन्द्रनगरको नेतृत्व गर्ने व्यक्ति भोलिको प्रदेश राजनीतिमा मात्र होइन, राष्ट्रिय राजनीतिमै पुग्ने भएकोले पनि दलहरू वीरेन्द्रनगमा बढी केन्द्रित देखिन्छन्। वीरेन्द्रनगरको नगरप्रमुख भएका कांग्रेसका पूर्णबहादुर खड्का पटकपटक मन्त्री हुनुका साथै राष्ट्रिय राजनीतिमा स्थापित भए। अर्का नगरप्रमुख एमालेका यामलाल कँडेल मन्त्री भए भने अहिले पार्टी पोलिटव्युरो सदस्य छन्। नगरको जनप्रतिनिधि भएका कांग्रेसका हृदयराम थानी अहिले मन्त्री छन्।
'प्रदेश र देशको लागि पार्टीको तर्फबाट नेता जन्माउने अवसर भएरमात्र होइन, भोलि प्रदेशको राजधानीमा प्रभुत्व जमाउने लालसालेसमेत दलहरू वीरेन्द्रनगरकेन्द्रित भएका हुन सक्छन्,' राजनीतिशास्त्रका उपप्राध्यापक सापकोटा भन्छन्, 'यही होडले वीरेन्द्रनगरको चुनावी रौनक अझ बढेको छ।'
प्रकाशित: २३ वैशाख २०७४ ०३:३१ शनिबार