६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीले चाहेर पनि केशव स्थापितले किन टिकट पाएनन्?

काठमाडौं– एमालेले पहिलो चरणको स्थानीय चुनावमा आफ्नो पार्टीका दुई सय ८३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको जनाएको छ । ‘३४ जिल्लाका चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका र एक सय ८६ गाउँपालिका गरी दुई सय ८३ वटै तहका सबै वडामा हाम्रो पार्टीले उम्मेदवारी दर्ता गरेको छ’, एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष ओलीले लामो समयसम्म चुनाव जित्ने सम्भावना बढी भएको भन्दै पूर्व मेयर स्थापितको नाममा अडान लिएका थिए । स्थापितलाई माधवकुमार नेपाल र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले अस्वीकार गरेका थिए।

एमाले पहिलो चरणको चुनावमा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको छ । एमालेले ठाउँअनुसार प्रमुख प्रतिस्पर्धी दल कांग्रेसबाहेकका दलसँग चुनावी तालमेल गरेको हो ।

एमालेले काठमाडौं र ललितपुर महानगरपालिकाको दुई शीर्ष पद मेयर र उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको छ ।

‘काठमाडौंमा मेयर उपमेयरमा सहमति भएको छ । उम्मेदवारी फिर्ता हुन्जेलसम्म कुनकुन स्थानमा तालमेल गर्न सकिन्छ छलफल जारी रहन्छ,’ एमाले प्रचार विभागमा प्रमुख योगेश भट्टराईले भने, ‘सविधान निर्माण गर्ने र यसको कार्यान्वयनका पक्षधर दलहरूबीच एकताका लागि यो तालमेल भएको हो । यसमा स्थानीय आवश्यकताअनुसार पनि काम भएको छ ।’ तालमेल गर्दा दुवै दलले मेयर र उपमेयरमा महिला उम्मेदवार भने दिएका छैनन्।

एमालेले काठमाडौं जिल्लाभित्र उम्मेदवारीमा सहमति जुट्न नसक्दा लामो समयसम्म पार्टीको टिकट कसले पाउने भन्ने विषयमा अन्योल देखिएको थियो । एमाले उम्मेदवारले अधिकांश स्थानमा सबैभन्दा ढिलो उम्मेदवारी दर्ता गराएका थिए।

केशव स्थापितले पाएनन्

काठमाडौं महानगरपालिकामा केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, पूर्वमेयर केशव स्थापित र मानवअधिकारकर्मी गौरी प्रधानको नाम चर्चामा थियो ।

अध्यक्ष ओलीले लामो समयसम्म चुनाव जित्ने सम्भावना बढी भएको भन्दै पूर्व मेयर स्थापितको नाममा अडान लिएका थिए । स्थापितलाई माधवकुमार नेपाल र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले अस्वीकार गरेका थिए। नेपालले श्रेष्ठलाई उम्मेदवारी दिनुपनै जोड दिएका थिए ।

प्रदेश कमिटीले नगरपालिकामा मेयर तथा उपमेयर उम्मेदवार छनोट गर्न पाउने भए पनि एमालेको काठमाडौंमा भने समस्या देखिएपछि अध्यक्ष केपी शर्मा ओलीसहितका टोलीले टुंगो लगाएको हो । काठमाडौंमा मेयर तथा उपमेयरको उम्मेदवारमा अध्यक्ष ओली  र नेपाल समूहमा विभाजित बनेको थियो ।  प्रदेश कमिटीको बैठकमा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र उपत्यका इन्चार्ज सानु श्रेष्ठबीच सहमति बन्न सकेको थिएन । 

शाक्यसँग सहमति जुट्न नसकेपछि श्रेष्ठ निर्णय प्रक्रयामा सहभागी नहुने भन्दै बैठक बहिष्कार गरेर हिँडेका प्रदेश कमिटीका एक सदस्यले बताए । त्यसपछि एउटा मापदण्ड बनाएर शाक्यले शीर्ष नेताहरूसँग मेयर तथा उपमेयरको सूची बुझाएकी थिइन् । त्यसलाई शीर्ष नेताहरूले थपघट गरेर टिकट दिएका थिए।

कस्ता छन् उम्मेदवार?

एमालेले काठमाडौं नगरपालिकामा मेयरमा जिल्ला कमिटी सचिव विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएको छ भने उपमेयरमा राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठलाई सघाउने भएको छ।

चन्द्रगिरीको मेयरमा प्रह्लाद कार्की, उपमेयरमा लिसा नकर्मी, कीर्तिपुरमा रमेशमान महर्जन र उपमेयरमा सरस्वती खड्का, कागेश्वरी मनोहरामा कृष्णहरि थापा र उपमेयरमा बिन्दु सिम्खडा, बूढानीलकण्ठ नगरपालिकामा मेयरमा उद्धव खरेल र उपमेयरमा रमा राई, टोखाको मेयरमा प्रकाश अधिकारी र उपमयेरमा ज्ञानमाया डंगोल, गोकर्णेश्वर मेयरमा पुण्य चौलागाईं र उपमेयरमा शान्ति श्रेष्ठ उम्मेदवार भएका छन् ।

त्यसैगरी नार्गजुनको मेयरमा कृष्णहरि खत्री र उपमेयरमा सुशिला अधिकारी, दक्षिणकालीको मेयर शशी शर्मा अर्याल र उपमेयरमा मीरा आचार्य महर्जन, तारकेश्वरको मेयरमा रामेश्वर बोहरा र भानु डोटेल भवानी, शंखरापुरका मेयरमा सुवर्ण श्रेष्ठ र उपमेयरमा सुकलक्ष्मी श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

ललितपुर महानगरपालिकाको मेयरमा एमालेका जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारलाई प्रमुख बनाएको छ । उनी जिल्लाबाट सर्वसम्मत सिफारिस भएर आएका नेता हुन्। उपप्रमुखमा राप्रपा उम्मेदवारलाई सघाउनेछ। त्यसैगरी गोदावरी नगरपालिकाको मेयरमा श्यामकृष्ण सिलवाल र उपमेयरमा तारा सञ्जेल घिमिरे, महालक्ष्मी नगरपाकिलाका मेयरमा रामेश्वर श्रेष्ठ र उपमेयरमा निर्मला थापालाई उम्मेदवार बनाएको छ।

महांकाल गाउपालिकाको अध्यक्षमा रामचन्द्र दाहाल र उपाध्यक्षमा कमला तामाङ तथा बागमती गाउँपालिका अध्यक्षमा दुर्गा घिमिरे र डोलकुमारी स्याङ्तान र कोन्ज्योमसोम गाउँपालिका  अध्यक्षमा कृष्णमान लामा र उपाध्यक्षमा सुस्मिता घिमिरे दुलालको उम्मेदवारी परेको छ।

एमालेले भक्तपुरमा मध्यपुर ठिमी नगरपालिकामा नेपाल मजदुर किसान पार्टीसँग गठबन्धन गरेको छ । चार नगरपालिकामा रहेको सो जिल्लामा मध्यपुरको मेयरमा मदनसुन्दर श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने चाँगुनारायणमा मेयर सोम मिश्र र उपमेयरमा वीणा बास्तोला, भक्तपुरको मेयरमा विष्णु सुवाल र उपमेयरमा रीता अवाल, सूर्यविनायक नगरपालिकाको मेयरमा वासुदेव थापा र उपमेयरमा जुना बस्नेतलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: २० वैशाख २०७४ ०१:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App