२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपालाई जनताको विश्वासलाई पुष्टि गर्न चुनौती: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताको विश्वासलाई पुष्टि गर्ने चुनौति रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले जनताले विश्वास गरेर छोटो समयमै चौथो ठूलो दल बनाएका कारण जनताको विश्वासलाई पुष्टि गर्ने चुनौति रहेको बताए।

मुख्यमन्त्री कार्कीले राजनीतिक दलहरूलाई जनताले विचार, व्यवहार, अवस्था, परिस्थिति सबै पक्षबाट मूल्याँकन गरिरहेको हुनाले पार्टीमा कमी कमजोरी भेटे जनताले मत बदल्ने गरेको  बताए। कार्कीले राजनीतिक व्यवस्था परिवर्तनभएसँगै जनताको अवस्थामा पनि परिवर्तन भएको दाबी गरे।

उनले भने ‘हुनु पर्नेजति नभए पनि राजनीतिक व्यवस्थासँगै जनताको अवस्थामा पनि सुधार भएको छ।’ कार्कीले कोशी प्रदेशमा सत्ता सम्हालेको छोटो समयमै दोस्रो पटक विश्वासको मत लिनु पर्ने अवस्थामा आफू पुगेको बताए। मुख्यमन्त्री कार्कीले भने ‘सत्ता साझेदार दलहरूले सरकारलाई दिएको समर्थन  फिर्ता लिइसकेको अवस्थामा पुनः विश्वासको मत लिनुपर्ने चुनौति थपिएको छ।’ कार्कीले आफ्नै कार्यकालमा प्रदेशले नाम पाए पनि कोशी नाम प्रति विरोध भइरहेका कारण नामाकरणमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने जिम्मेवारी पनि आफूमा रहेको बताए। 

कार्यक्रममा विराटनगर महानगरपालिकार्की उपमेयर शिल्पा निराला कार्की ,नेकपा एकिकृतसमाजवादीका केन्द्रिय सदस्य महेश रेग्मी, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेकपा माओवादी केन्द्रका नेता कुशल लिम्बु, नेपाली कांग्रेस कोशी प्रदेश समिति कोषाध्यक्ष राजेश  गुप्तालगायतले शुभकामना मन्तव्य राखेका थिए।

राष्ट्रिय स्वतन्त्रपार्टीका कोशी प्रदेश सभापति  राजेश तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पेशागत संघ संगठनका प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र कोशी प्रदेशका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।  

प्रकाशित: ७ असार २०८० १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App