४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

जब कर्णालीका मुख्यमन्त्री, मन्त्रीहरु र सांसदहरु बेलुका आठ बजेसम्म संसद भवनमै अड्किए..

कर्णाली प्रदेश सरकारले असार १ गते बजेट ल्याउने जानकारी पाएका दलितका लागि दलित आन्दोलनका सदस्यहरु एक सातादेखि हिंसात्मक आन्दोलनको तयारीमा थिए। त्यसको जानकारी सुरक्षा संयन्त्रलाई पहिल्यै थियो। तर, सुरक्षा जोखिमको ख्याल नगर्दा शुक्रबार कर्णाली प्रदेशसभा रणमैदान बन्यो ।

प्रदेश सरकारले दिउँसो तीन बजे संसदबाट बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको थियो। आन्दोलनकारीहरु दिउँसो एक बजेबाटै प्रदेशसभाको मुख्य सडकमा जम्मा भइसकेका थिए। प्रदेशसभा बैठकका लागि आएका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यहरु बैकल्पिक सडक प्रयोग गरेर प्रदेशसभाभित्र प्रवेश गरिरहेका थिए।

संभावित दुर्घटनालाई रोक्न सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपानेले दिउँसो एक बजेनै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई प्रदेशसभास्थलको अवस्थाका बारेमा जानकारी गराइसकेका थिए। तर, प्रमुख जिल्ला अधिकारीले ‘लोकतन्त्र हो, बोल्न र आन्दोलन गर्न पाइन्छ’ भन्ने जवाफ सभामुख र उपसभामुखलाई फर्काए।  

दिउँसो तीन बजेबाट आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले आर्थिक वर्ष २०८०–८१ को बजेट संसदमा प्रस्तुत गरे। बजेट भाषणपछि आधा घण्टाका लागि प्रदेशसभा बैठक स्थगित भयो। दोस्रो बैठक १० मिनेटमा सकियो। मन्त्रीहरु र प्रदेशसभा सदस्यहरु आ–आफ्नो निवासतर्फ लाग्ने तयारी गर्दै गर्दा ढुंगामुढा सुरु भयो । एकैछिनमा प्रदेशसभा बैठकस्थल बाहिर कोलाहल मच्चियो।

‘हामीले दिउँसै संभावित घटनाका बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेका थियौं,’ उपसभामुख न्यौपानेले भनिन्, ‘प्रजिअले उतिबेला गैरजिम्मेवार अभिव्यक्ति दिनुभयो, समयमै सावधानी अपनाएको भए यस्तो घटना हुँदैनथ्यो।’

आन्दोलनकारीहरुले ढुंगामुढा गर्न थालेपछि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बेस क्याम्पबाट थप सुरक्षा बल आइपुग्यो । भीड नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रसिंह थापा आफै खटिए। भीड नियनत्रण गर्ने क्रममा आन्दोलनकारीको आक्रमणबाट उनीसहित पाँच जना प्रहरी घाइते भए।

असुरक्षाका कारण मुख्यमन्त्री राजकुमार शर्मासहित मन्त्रीहरु र सांसदहरु बेलुका आठ बजेसम्म संसद भवनमै बस्नुपर्यो। आन्दोलनकारीहरु दिउँसैदेखि ढुंगा, इट्टा र लाठी बोकेर सडकमा बसिराखेका थिए। ‘यस्ता दृष्यहरु देख्दा पनि प्रशासनले सही निर्णय नलिँदा घटना हुन पुग्यो,’ मुख्यमन्त्री शर्माले भने, ‘यो घटनालाई हामीले गम्भीर रुपमा लिएका छौं।’ आन्दोलनकारीले हानेका ढुंगाले प्रदेशसभा भवनको भौतिक संरचनामा क्षति पुगेको छ । उनीहरुले नजिकै रहेको मुख्यमन्त्रीको निवासमा पनि ढुंगामुढा प्रहार गरेका थिए।  

दलितका लागि दलित आन्दोलनले बजेटमा दलित समुदायलाई प्राथमिकता दिइनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको थियो। यसअघि मुख्यमन्त्री कार्यालय अघि धर्ना दिएका उनीहरुले मुख्यमन्त्री कार्यालय पनि तोडफोड गरेका थिए। प्रहरीले दलितका लागि दलित आन्दोलनका संयोजक खगेन्द्र सुनारसहित सात जनालाई पक्राउ गरेको छ।  

प्रकाशित: २ असार २०८० ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App