१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाणका तर्फको बहस जारी

फाइल तस्बिर।

नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस आज पनि जारी रहेको छ। खाणको पक्षका कानुन व्यवसायीले मङ्गलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो।

पहिलो दिन उनका तर्फबाट १० कानुन व्यवसायीले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्ने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।उनका अनुसार मङ्गलबार पूर्वगृहमन्त्री खाणका तर्फबाट कानुन व्यवसायी शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पङ्कज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए। आज सुरुमा वरिष्ठ अधिवक्ता श्रेष्ठले बहस थालेका छन्। खाणका तर्फबाट बहस गर्ने कानुन व्यवसायी धेरै भएकाले दुई दिन समय लागेको बताइएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी कानुन व्यवसायीको बहसपछि प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले निरन्तर बहस गर्दै आएका छन्। जिल्ला न्यायाधीश न्यौपानेले आज बहस सकेर आदेश दिनेगरी योजना बनाएको भए पनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने सूचना अधिकारी दाहालले बताए।

उनले भने, “सबै प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस थाल्ने छन्, जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ।”

भूटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा यही जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो। त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको हो।

तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरुको बहस भइरहेको छ। उक्त घटनामा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ। उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको मागदाबीसहित मुद्दा दर्ता गरिएको थियो।

उक्त प्रकरणमा २८ करोड ८१ लाख बिगो समेतको माग गरिएको छ। उक्त घटनाका आरोपीमध्ये १८ जना पक्राउ परेका छन् भने १२ जना अझैँ फरार रहेका प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८० ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App