११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन एकै चरणमा हुनुपर्ने कांग्रेसको निर्णय

तस्बिरः रासस

काठमाडौँ–  नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचन एकै चरणामा गर्नुपर्ने बतएका छन् । मधेशी माेर्चाकाे माग सम्बाेधन गर्न निर्वाचन २ चरणामा गर्न कांग्रेस लचक भएकाे चर्चा चलिरहेका बेला शुक्रबार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेकाे कांग्रेस केन्दीय समिति र संसदीय दलकाे संयुक्त बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे।

आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी र घोषणापत्र तयार गर्नका लागि घाेषणा पत्रमा समेटिनु पर्ने विषयहरूमा सुझाव लिन महेश अाचार्यकाे संयाेजकत्वमा रहेकाे घाेषणा पत्र मस्याैदा समितिले डाकेकाे बैठकमा उपस्थित नेताहरूले निर्वाचन एकै चरणमा हुनु पर्ने धारणा राखेका थिए।

दुर्इ चरणमा निर्वाचन हुनै नहुने र झन मधेस र पहाडमा छुट्टाछुट्टै निर्वाचन हुनै नहुने नेताहरूकाे धारणा थियाे ।

मधेशको समस्या सम्बोधन गर्न तरार्इ मधेशका जनताको हित एवं मागलाई सम्बोधन गर्ने गरी अधिकतम सहमतिका अधारमा संविधान संशोधन विधेयक अघि बढाउने निर्णय बैठकले गरेकाे छ । सीमांकन थाती राखेर ५ विषयलाई संशाेधन अघि बढाउने निर्णय गरेकाे हाे । 

बैठकमा सरकारका कांग्रेसका उपप्रधानमन्त्रीकाे वरियताक्रमकाे विषय पनि उठेकाे थियाे । पार्टीका वरिष्ठ नेता रामचन्द्र पाैडेललगायतका नेताहरूले कांग्रेस(उपप्रधानमन्त्री विमलेन्द्र निधि)ले नै प्रधानमन्त्रीपछिकाे दाेस्राे बरियता पाउनु पर्ने बताएका थिए।

बैठकमा बाेल्दै कांग्रेका २३ जना नेताले अानन्न निर्वाचनका लागि जनताकाे मन छुने कार्यक्रम समावेश गरेर घाेषणापत्र ल्याउनु पर्ने बताएका थिए।

उनीहरूले कृषि, युवा लक्षित, अार्थिक समृद्धि हासिल गर्ने किसिमका र जनताकाे मन छुने किसिमका सामाजिक सुरक्षालगायतका कार्यक्रम ल्याउनु पर्ने बताए । त्यस्तै, शिक्षामा पहुँच भन्दा पनि गुणस्तरीय शिक्षामा पहूँच बढाउने कार्यक्रम घाेषणा पत्रमा ल्याउन सुझाव दिए।

समग्रमा स्थानीय तहकाे नयाँ संरचनालार्इ केन्द्रमा राखेर घाेषणा पत्र बनाउनु पर्ने उनीहरूकाे सुझाव थियाे ।

बैठकमा अाएका सुझावहरूलार्इ घाेषणापत्रमा समेट्ने बैठकले निर्णय गरेकाे छ ।

बैठकले स्वर्गीय नेता रामहरी ढुंगेल र उद्याेग राज्यमन्त्री कञ्चनचन्द्र बादेकी अामाकाे निधनप्रति शाेक प्रस्तावसमेत पारित गरेकाे छ।

बैठकमा कुन नेताले के भने ?

केन्द्रीय सदस्य तथा सांसद रामकृष्ण यादवले संशोधनमार्फत संविधानको स्वीकार्यता बढाएर एकै चरणमा निर्वाचन हुनुपर्ने धारणा राखे।

त्यस्तै सांसद रामहरि खतिवडाले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरी निर्वाचनमा सबै सहभागी हुने वातावरण बनाउन व्यवस्थापिका–संसद्मा दर्ता संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजानुपर्ने धारणा राखेको जानकारी दिए।

पार्टीका नेता एवम् सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले विगतको घोषणापत्र, पार्टीको पछिल्लो महाधिवेशनले पारित गरेको दस्तावेज र स्थानीय आवश्यकताका मुद्दाका आधारमा घोषणापत्र बन्नुपर्ने धारणा राखे।

मन्त्री केसीले समग्र राष्ट्रियता बलियो बनाउन मधेसका माग सम्बोधन गर्नुपर्ने र निर्वाचनमा सबैले सहभागिता जनाउने वातावरण बनाउनुपर्ने धारणा राखे।

नेता फरमुल्ला मन्सुरले संविधान संशोधनको मुद्दा पारित गर्न संसद्मा दुईतिहाइ बहुमत पुग्दैन भनेर संशोधनको प्रस्ताव प्रक्रियामा अघि नबढाउनु गलत भएको भन्दै नेतृत्वप्रति गुनासो गरे।

घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले काँग्रेसले मुलुकका हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको र सबै सङ्कटको समाधान पनि काँग्रेसले नै गरेकाले मुलुकको वर्तमान सङ्कटको समाधानमा पुनः पार्टीको भूमिका एकपटक सम्झनामा ल्याउनुपर्न बताए।

अहिले पनि मधेसको समस्या समाधानमा काँग्रेसले अग्रसरता लिइरहेको उल्लेख गर्दै नेता आचार्यले काँग्रेसले स्थापनाकालदेखि नै समावेशी, सङ्घीयता र विकेन्द्रीकरण तथा संविधानसभाको नीति अवलम्बन गर्दै आएको बारेमा जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने बताए।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले तोकिएको मितिमा निर्वाचन हुनेमा आशङ्का नगर्न सबै नेता, कार्यकर्तालाई आग्रह गर्दै एकढिक्का भएर निर्वाचनमा होमिन निर्देशन दिए।

बैठकमा सरकारका कामकारबाहीका बारेमा टीकाटिप्पणी हुनुका साथै जनताको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको आलोचनासमेत भएको थियो ।

यसअघि पार्टीले घोषणापत्रका बारेमा भ्रातृ, शुभेच्छुक र पेसागत संस्थाका प्रतिनिधि तथा बुद्धिजीवीसँग छलफल गरी राय सुझाव सङ्कलन गरेकाे थियाे ।

पार्टीले सबैका राय सुझावसहित स्थानीय मुद्दा र आवश्यकता समेटिने तर संक्षिप्त घोषणापत्र आगामी वैशाख पहिलो साताभित्र तयार हुने जनाएको छ ।

प्रकाशित: २५ चैत्र २०७३ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App