२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

चीनले माग्यो रेलमार्ग निर्माण प्रस्ताव

काठमाडौं- चीनका राष्ट्रपति सी जिनपिङले केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणका लागि ठोस प्रस्ताव ल्याउन नेपाललाई आग्रह गरेका छन्। चीनको महŒवाकांक्षी योजना 'वान बेल्ट वान रोड' (ओबिओआर) अन्तर्गत पर्ने सडक तथा रेल कनेक्टिभिटी (सञ्जाल) लाई सहयोग गर्ने चीनको घोषित नीति रहेको औंल्याउँदै उनले नेपालले रेलमार्ग निर्माणको प्रस्ताव गरे उचित हुने बताएका हुन्।

साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति सीबीच सोमबार बेइजिङमा भएको भेटमा उक्त प्रस्ताव चिनियाँ राष्ट्रपतिबाट आएको हो। 'केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सर्भे गर्ने प्रस्ताव नेपालले गर्दा उचित हुन्छ। ओबिओआर अन्तर्गत पर्ने सडक तथा रेल सञ्जाललाई सहयोग गर्न चीन तयार छ', दाहाल र सीबीचको भेटमा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले राष्ट्रपति सीलाई उद्धृत गर्दै नागरिकसँग भने। 

ओबिओआर चिनियाँ राष्ट्रपतिले विशेष चासोका साथ अघि बढाएको चिनियाँ महŒवाकांक्षी योजना हो। दाहालसँगको भेटवार्ता पनि चिनियाँ राष्ट्रपतिले ओबिओआरलाई विशेष रूपमा उठाएका थिए। भेटमा राष्ट्रपति सीले भने, 'हामी ओबिओआरका सम्बन्धमा विभिन्न पक्ष राष्ट्रहरूसँग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरी छिट्टै ओबिओआर सम्मेलन गर्दैछौं। नेपालले पनि सम्मेलनअगावै एमओयुमा हस्ताक्षर गरिदियोस् भन्ने हाम्रो अपेक्षा छ।'

चिनियाँ राष्ट्रपतिले ओबिओआरलाई गम्भीरताका साथ उठाएपछि प्रधानमन्त्री दाहालले यसअघि यससम्बन्धी एउटा एमओयुमा नेपालले हस्ताक्षर गरिसकेको स्मरण गराउँदै विस्तृत एमओयुमा हस्ताक्षर गर्ने तयारी भइरहेको जानकारी गराएका थिए।

कनेक्टिभिटीका क्षेत्रमा सहयोग गर्न नेपालले आग्रह गरेपछि चिनियाँ राष्ट्रपति केरुङ–काठमाडौं रेल ओबिओआर योजनाअन्तर्गत पर्ने जनाउँदै निर्माणका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरेका थिए।

'ओबिओआरसम्बन्धी विस्तृत समझदारीपत्रमा हस्ताक्षर गर्न हामीले तयारी गरिरहेका छौं। छिट्टै यो समझदारीपत्रमा नेपालले हस्ताक्षर गर्नेछ', प्रधानमन्त्री दाहालले सीसँगको भेटमा प्रतिबद्धता जनाएका थिए।

भेटमा प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपतिसँग आग्रह गरेका थिए। तातोपानी नाकाको ऐतिहासीक महŒव रहेको उनले स्मरण गराएका थिए। २०७२ वैशाख १२ गते गएको भूकम्पले तातोपानी नाकामा ठूलो क्षति पुर्‍याएपछि सो नाका सञ्चालनमा आउन सकेको छैन। नेपालले बारम्बार नाका खोल्न आग्रह गरे पनि चीनले 'संवेदनशील' भन्दै खोल्न आनाकानी गर्दै आएको छ।

'तातोपानी नाका खुलाउन म व्यक्तिगत रूपमा कोसिस गर्छु। यो नाका तिब्बतमा पर्ने हुँदा तपाईंले तिब्बत सरकार प्रमुखसँग पनि कुरा गर्नुहोला,' चिनियाँ राष्ट्रपति सीले भनेका थिए।

भेटमा चिनियाँ राष्ट्रपतिले नेपाल–चीनबीच भएका सन्धिसम्झौता कार्यान्वयनमा ल्याउन आग्रह गरेका थिए। सन्धिसम्झौता कार्यान्वयनमा आएमात्र दुई देशबीच विकासका गतिविधि बढ्ने धारणा उनले राखेका थिए। उनले विगतमा भएका विभिन्न एमओयुलाई पूर्णता दिन पनि प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। 'पुराना सन्धिसम्झौता कार्यान्वयनमा ल्याउनुपर्छ र एमओयुलाई अन्तिम रूप दिनुपर्छ। यसले दुई देशबीच सहयोग र सहकार्य बढाउँछ', राष्ट्रपति सीले भने।

गत वर्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा चीनको भ्रमण गर्दा नेपाल र चीनबीच १० वटा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको थियो भने थप २७ वटा मुद्दामा छलफल भएको थियो। ओली सरकार ढलेपछि ती सम्झौता र समझदारीपत्र कार्यान्वयन हुनसकेका छैनन्। यसैप्रति लक्षित गर्दै राष्ट्रपति सीले पुराना सन्धिसम्झौता र समझदारीपत्रलाई पूर्णता दिनुपर्ने कुरा उठाएका थिए। उनले नेपालमा जुनसुकै सरकार आए पनि चीनको हेर्ने दृष्टिकोण एउटै हुनेसमेत बताएका थिए।

जबाफमा प्रधानमन्त्री दाहालले नेपाल चरणबद्ध रूपमा कार्ययोजना बनाएर सन्धिसम्झौता कार्यन्वयन गर्न अघि बढ्ने जनाएका थिए।

भेटमा चिनियाँ राष्ट्रपति सीले छिमेकी राष्ट्रसँग सन्तुलित व्यवहार गर्नसमेत दाहाललाई आग्रह गरेका थिए। 'नेपालको सबै देशसँग सम्बन्ध राम्रो होस्, नेपालमा स्थितरता होस् र भूकम्पपछिको पुनर्निर्माण छिटो होस् भन्ने चीन चाहन्छ', राष्ट्रपति सीले भनेका थिए। राजनीतिक स्थिरता भएमात्र नेपाल सामाजिक समृद्धि तथा विकासका पथमा अघि बढ्न सक्ने उनले बताएका थिए। राजनीतिक अस्थिरता हुँदा अन्यले चलखेल गर्नसक्ने तर्फ सचेत गराउँदै उनले राजनीतिक स्थिरता भए मात्र विदेशी लगानी भित्रिन सक्ने जनाए।

भेटमा स्थानीय निर्वाचनका लागि ९० लाख चिनियाँ युआन (करिब साढे १३ करोड रुपैयाँ) नेपाललाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा पनि राष्ट्रपति सीले गरेका थिए। चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दाहालबीच ३० मिनेट कुराकानी भएको थियो। स्थानीय समयअनुसार दिउँसो ४ बजे भेटवार्ता सुरु भएको थियो। 'भेटवार्ता आधा घन्टा चलेको थियो। चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दाहाल ज्यूबीच नेपाल–चीन सम्बन्धका सबै पक्षमा छलफल भएको थियो।

चीनले नेपालको पर्यटन, कनेक्टिभिटीलगायत क्षेत्रमा सघाउने प्रतिबद्धता जनाएको छ', भेटवार्तामा सहभागी बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर काउन्सिलर हरिचन्द्र घिमिरेले टेलिफोनमा भने। उनले दुई नेताबीचको भेटवार्ता फलदायी भएको दाबी गरे।

प्रकाशित: १५ चैत्र २०७३ ०१:३६ मंगलबार

चीनले माग्यो रेलमार्ग निर्माण प्रस्ताव