११ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

एक वामपन्थीको गीताप्रेम

सामान्यतया राजनीतिकर्मी र मदिरा–चुरोटबीच अन्योन्याश्रित सम्बन्ध रहेको मानिन्छ। तर, नारायणकाजी श्रेष्ठका हकमा यो कुरा ठ्याक्कै उल्टो छ। उनी मदिरा र चुरोटसँगको सम्बन्धबाट कोसौँ टाढा छन्। यतिमात्र होइन उनले आफ्नो जीवनको सूत्र नै बनाएका छन्। उनको सूत्रमा मध्यपान, धुम्रपान, मासुजन्य पदार्थ, चिया तथा कफी टाढा रहन्छन्। पिउनै परे ग्रिन टि मात्रै पिउँछन्। खानामा साग हुनैपर्छ। त्यस्तै, उनी बसेको आसपासमा हरियाली अनिवार्य छ। आफू बस्ने कोठामा उनले ससाना हरिया विरुवाहरू लगाएका छन्।

५७ वर्ष पुगिसकेका नारायणकाजी श्रेष्ठको एकल जीवन कतिपय मान्छेका लागि एकप्रकारको 'पहेली' बन्दै आएको छ। उनले मनको गाँठो फुकाउँदै भने, 'विवाहसम्बन्धी सोचलाई अब मैले सधैँका लागि त्यागेको छु।' 

पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका श्रेष्ठको परिचय ४० वर्षपहिले एउटा स्वास्थ्यकर्मीमा सीमित थियो। आफ्नो गाउँ गोर्खाको जौबारीबाट एसएलसी उत्तीर्ण गरेका उनी उच्च शिक्षा अध्ययनका निम्ति २०३३ सालमा काठमाडौँ आए।

त्यतिबेला मेडिसिन अध्ययनका लागि महाराजगन्ज तथा इन्जिनियरिङका लागि पुल्चोकस्थित सरकारी कलेज चर्चित थिए। उनको रूचि चिकित्सा क्षेत्रमा भएकाले महाराजगन्ज कलेज रोजे। त्यहाँ उनी एचए(हेल्थ असिस्टेन्ट) पढ्न भर्ना  भए। अध्ययन पूरा भएपछि श्रेष्ठले नुवाकोटको सामरी भञ्ज्याङ स्वास्थ्यकेन्द्रमा काम गरे। त्यहाँ एक वर्ष काम गरेपछि उनी आफ्नै गाउँ फर्किए। गाउँको स्वास्थ्यकेन्द्रमा पनि उनले केही समय काम गरे। अध्ययनकै क्रममा राजनीतितर्फ पनि चासो बढ्न थालेकाले उनले यो पेशालाई लामो समयसम्म निरन्तरता दिन सकेनन्। करिब डेढ वर्षे स्वास्थकर्मीको भूमिका आफ्नो जीवनमा स्मरणीय रहेको श्रेष्ठ बताउँछन्।

६० रुपैयाँमा 'होमट्युसन' 

उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ आएका श्रेष्ठले पैसा जुटाउन होमट्युसन पनि गरे। त्यतिबेला आफूले काठमाडाँैको कालधारा धोबीचौरका घरघरमा पुगेर ट्युसन पढाउने गरेको उनी बताउँछन्। पुराना दिन सम्झँदै श्रेष्ठ भन्छन्, 'काठमाडौँमा पढ्दै गर्दा मानिसका घरघरमा पुगेर बालबालिकालाई ट्युसन पढाउने काम पनि गरेँ।' त्यसबेला घरघरमा गई पढाउँदा मासिक ६० रुपैयाँ कमाउने गरेको उनी बताउँछन्।

अर्थशास्त्र र जनप्रशासन विषयमा स्नाकोत्तर श्रेष्ठले ०४१/०४२ सालतिर सिद्धार्थ वनस्थली स्कुलमा गणित तथा नेपाल परिचय पढाए। स्कुल जीवनमा सधँै उत्कृष्ट भएर मेधावी विद्यार्थीको परिचय बनाएका उनले एसएलसीमा गणित विषयमा १०० नम्बर ल्याएका थिए। गणितमा राम्रो दख्खल भएका उनी पछि गणित विषयकै शिक्षक पनि बने। त्यतिबेला माध्यमिक तहसम्म गणित र कलेज तहमा नेपाल परिचय पढाउने गरेको श्रेष्ठ बताउँछन्।

भैँसीगोठालोदेखि घाँस काट्ने कामसम्म

श्रेष्ठको पुर्ख्यौली थलो ललितपुर हो। तर, चार पुस्ताअघि उनका जिजुबाजेहरू गोरखा गएका हुन्। किन उनका जिजुबाजेहरू ललितपुर छाडेर गोरखा पुगे भन्ने विषयमा उनलाई पनि जानकारी छैन। ६ जना दाजुभाइमध्ये श्रेष्ठ पाँचाँै सन्तान हुन्। पारिवारिक अवस्था रामै्र भए पनि उनले गाउँमा हुँदा भैँसी चराउनेदेखि घाँस काट्नेसम्मको काम गरे। पढाइमा सधैँ उत्कृष्ट हुने भएकाले परिवारका सदस्यले उनलाई घरको काममा भन्दा अध्ययनमा लाग्न सल्लाह दिन्थे। तर, गाउँमा हुँदा आफूले सामान्य मानिसले जस्तै घरको काम गर्ने गरेको उनी सम्झन्छन्। 

१६ वर्षमा जेल

विद्रोही स्वभावका उनी १६ वर्षको कलिलो उमेरमै जेल परे। त्यसबेला काठमाडौँ आएर कलेजमा पढ्न सुरु गरेका मात्रै थिए।   मेडिसिन अध्ययन गर्न काठमाडाँै आएका किशोर वयका उनको चासो विस्तारै राजनीतितर्फ ढल्कन थालेको थियो। अध्ययनकै सिलसिलामा उनी ०३३ सालमा विद्यार्थी आन्दोलनमा होमिए, सोही कारण प्रहरीले पक्रेर उनलाई जेल पुर्‍यायो। कलिलो उमेरमै केन्द्रीय जेलमा बसेका उनमा राजनीतिप्रतिको चासो तीव्र गतिमा बढ्न थाल्यो। जेल परेपछि उनी अध्ययनसँगै राजनीतिमा पनि थप सक्रिय हुन थाले। राजनीतिप्रतिको तीव्र चासोकै कारण अन्ततः उनले राजनीतिलाई नै जीवनको लक्ष्य बनाए।

पूरा हुन नसकेको प्रेम

५७ वर्ष पुगिसकेका श्रेष्ठको एकल जीवन कतिपय मान्छेका लागि एकप्रकारको 'पहेली' बन्दै आएको छ। उनले मनको गाँठो फुकाउँदै भने, 'विवाहसम्बन्धी सोचलाई अब मैले सधैँका लागि त्यागेको छु।' विवाह गर्ने उमेर राजनीतिक गतिविधिमा संलग्न भएर बितेकाले लगनगाँठो कस्ने साइत नजुरेको उनको भनाइ छ।

यसको अर्थ उनको जीवनमा कहिल्यै पनि प्रेम वा विवाहसम्बन्धी सोचले प्राथमिकता नै नपाएको भने होइन। श्रेष्ठ भन्छन्, 'सोह्र–सत्र वर्षको उमेरमा एउटी केटीसँग प्रेम हुनहुन खोजेको थियो। तर, राजनीतिक व्यस्तताका कारण त्यो प्रेम फक्रन पाएन।' उक्त प्रेम सफल नहुनुको दोष उनी समयलाई दिन्छन्। विवाह गर्ने उमेरमा परिवार तथा साथीभाइबाट पनि व्यापक दबाब आउने गरेको उनी बताउँछन्। विवाहबारे उनको छुट्टै मान्यता छ। औपचारिकता निर्वाह गर्नका लागि मात्र गरिने विवाहको पक्षमा उनी छैनन्। प्रेमपछि मात्र विवाह गर्नुपर्ने र विवाहपछि पनि प्रेमले निरन्तरता पाइराख्नुपर्ने मान्यता उनी राख्छन्। 'विवाहका लागि प्रेम हुनु आवश्यक छ, तर त्यस्तो प्रेम नै भएन, त्यसैले विवाह पनि गरिएन,' श्रेष्ठले भने। विवाहका बारेमा कार्ल मार्क्सको एउटा भनाइले प्रभावित गरेको हुन सक्ने श्रेष्ठको अनुमान छ। मार्क्सले समाजप्रति समर्पित मानिसले विवाहको बन्धनमा बाधिनु हुँदैन भन्ने तर्क गरेको र त्यसले गहिरो गरी आफूलाई छोएको उनी बताउँछन्। 'म राजनीतिमा सक्रिय भइरहेकाले मार्क्सको उक्त भनाइले कतै प्रभाव पारेको हुन सक्छ,' उनले भने। साथीभाइको घरजम भएको देख्दा रहर लाग्दैन भन्ने प्रश्नमा उनी जवाफ दिन्छन्, 'त्यस्तो लाग्दैन, बरु कहिलेकाहीँ साथीभाइका छोराछोरीको बिहे भएको तथा नातिनातिना जन्मेको सुन्दा बूढो भइयो भन्नेचाहिँ महसुस हुन्छ।'

कांग्रेससँग सम्बन्धविच्छेद  

०३३ सालदेखि जनमतसंग्रह अर्थात् ०३६ सम्म श्रेष्ठ नेपाली कांग्रेसको विद्यार्थी संगठनमा सक्रिय रहे। कांग्रेसप्रति आस्था राख्नुको कारणबारे उनी भन्छन्, 'गाउँमै स्कुल पढ्दै गर्दा एक जना शिक्षकले नेपाली कांग्रेससँग सम्बन्धित पत्रिका ल्याउने गर्नु हुन्थ्यो। सो पत्रिकामा बीपीका प्रभावकारी आलेखहरू छापिएका हुन्थे। त्यसले मेरो मस्तिष्कमा गहिरो छाप परेको थियो।' काठमाडौँ आएर कांग्रेसको विद्यार्थी राजनीतिमा सक्रिय हुँदा त्यतिबेला शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका सभापति थिए। विगत सम्झँदै श्रेष्ठ भन्छन्, 'त्यतिबेला शेरबहादुरजीले पश्चिम क्षेत्रमा मेरो अनुकूल काम गर्ने छुट दिनुभएको थियो।' ०३६ को एउटा घटनाले भने उनको कांग्रेसप्रतिको मोह भंग भयो। त्यतिबेला राजा वीरेन्द्रले बीपीलाई उपचारका लागि अमेरिका पठाएपछि देशका निष्ठावान् नेता कप्तान यज्ञबहादुर थापालाई फाँसी दिइयो।

बीपी अमेरिकाबाट फर्केपछि श्रेष्ठ तथा उनका साथीहरूले बीपीलाई भेटेरै उक्त विषयमा असन्तुष्टि व्यक्त गरे। तर, बीपीबाट सन्तोषजनक जवाफ नपाएपछि उनले कांग्रेसले सामन्तवादविरुद्धको आन्दोलनमा अडान लिन सक्दैन भन्ने निष्कर्ष निकाले। ०३६ पछि कांग्रेसबाट परिवर्तन सम्भव नभएको भन्दै कम्युनिस्ट राजनीतिमा सक्रिय भएको उनी बताउँछन्।

अब्बल मध्यस्थकर्ता

फरक धारमा गइरहेको राजनीतिलाई एउटै बिन्दुमा ल्याउने मध्यस्तकर्ताका रूपमा श्रेष्ठले जहिले पनि गोल गर्ने गरेका छन्। तथापि, उनी आफैले भने मध्यस्तकर्ताको उपमालाई सान्दर्भिक ठान्दैनन्। १९ वर्ष भूमिगत जीवन तथा अन्य कैयाँै आरोह/अवरोह सामना गरेका श्रेष्ठ भन्छन्, 'म राजनीतिक नेता नै हुँ। मलाई मिडियटरको आँखाले मात्र हेर्नुले मेरो राजनीतिक करिअरमा न्याय हुँदैन।' उनी आफू अतिवादको विरोधी भएकाले दुई फरकफरक अतितर्फ अघि बढिरहेकाहरूलाई सहमतिमा ल्याउने प्रयास गर्ने बताउँछन्। मुलुकमा भएका साना/ठूला आन्दोलन तथा भूमिगतकालमा समेत नेपालका शीर्ष नेताहरूका लागि श्रेष्ठ निवास आश्रयस्थल हुने गर्थ्याे। मुलुकमा संकट आइपर्दा एउटा मिलनबिन्दुमा राजनीतिक दलहरूलाई ल्याएर संवाद गराउन आफ्नो इमानदारी र निष्ठाले काम गरेको उनको दाबी छ। 'राजनीतिक दलका नेताहरूले मेरो इमानदारी र निष्ठालाई विश्वास गरेकै कारण सबैलाई एकैठाउँमा ल्याएर प्रतिकूल परिस्थितिमा पनि संवाद अघि बढाउने प्रयासहरू सम्भव भएका हुन्।'

समयको सम्मान

श्रेष्ठ समयको निकै सम्मान गर्छन्। उनी कुनै सार्वजनिक कार्यक्रममा तोकिएको समयभन्दा १५ मिनटपहिले नै पुगिसक्छन्। तोकिएको समयभन्दा १५ मिनट पछिसम्म पनि कार्यक्रम सुरु नभएमा उनी कार्यक्रम छाडेर हिँड्छन्। मुलुक सञ्चालन गर्ने राजनीतिक नेतृत्वले समयको अवमूल्यन गर्दै नेपाली समयको परिभाषा नै बदलिदिएकोमा उनी निकै आक्रोश व्यक्त गर्छन्। 'मुलुक बनाउने तहमा पुगेकाहरूले नै समयको अवमूल्यन गरेपछि देश कसरी बन्छ?,' मुलुकको वर्तमान खराब अवस्थाको विभिन्न कारणमध्ये समयको महत्व नबुझ्नु पनि एउटा हो भन्ने उनको बुझाइ छ। 

श्रेष्ठ आफू भूमिगतकालदेखि नै समयप्रति निकै सजग रहेको बताउँछन्। त्यतिबेला उनले समयको ठीक ढंगले पालना गर्दा कतिपयले सत्तामा पुगेपछि समयको पालना गर्न कठिन हुने तर्क गरेको सम्झन्छन्। तर, आफू भने महŒवपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेपछि र त्यसपछिका दुई वर्ष सार्वजनिक सवारी साधनको प्रयोग गर्दा समेत समयको सही ढंगले पालना गरेको दाबी गर्छन्।

'नवऔपनिवेशिक वृद्धाश्रम' बन्ने चिन्ता

श्रेष्ठ राजनीतिलाई पेशा ठान्न नहुने तर्क गर्छन्। बाल्यकालमा उनलाई दुई कुरामा ज्यादा रूचि थियो। पहिलो, सरसफाइ र दोस्रो, अध्ययन। अध्ययनमा त उनी सधैँ उत्कृष्ट नै रहे, सरसफाइप्रतिको आफ्नो चासोलाई उनले राजनीतिमा उतार्न खोजे। राजनीतिमा रहेको गलत प्रवृत्ति अर्थात् फोहोर सफा गर्नकै लागि यसमा होमिएको उनी बताउँछन्। तर, राजनीतिक दलका नेता–कार्यकर्तामा बढिरहेको राजनीतिक भ्रष्टीकरणले मुलुकलाई कमजोर बनाउँदै गएकोमा उनी चिन्तित छन्। मुलुकमा चरम भ्रष्टीकरण, सत्तालोलुपता, पदलाई भोगका रूपमा प्रयोग गर्ने प्रवृत्ति तथा हरेक कुरामा राजनीतिकण हुनुले समस्या बढिररहेको उनको बुझाइ छ। हरेक क्षेत्रमा खराब प्रवृत्तिले प्रश्रय पाउनाले योग्य मानिसले अवसर पाउन नसकेको उनी बताउँछन्। हरेक क्षेत्रमा कमिसनको खेल खेल्ने राजनीतिक दलका कारण मुलुक संकटमा पर्दै गएको उनको ठहर छ। राजनीतिक दलका नेता–कार्यकर्ताले मुलुकलाई खुलेआम लुटिरहेको देख्दा उनलाई चिन्ता लाग्छ। यो होडबाजीमा आफ्नै पार्टी माओवादी पनि संलग्न रहेको श्रेष्ठ स्वीकार गर्छन्। पार्टीमा बढिरहेको राजनीतिक भ्रष्टीकरणलाई रोक्नकै लागि आफूले सुविधा त्यागेर सार्वजनिक यातायात प्रयोग गर्नेसम्मको निर्णयमा पुगेको उनी बताउँछन्। 'तर, यसले नेतृत्व तहमा मेरो अभियानले कुनै असर नगरेको देख्दा दुःख लाग्छ,' उनी भन्छन्।  

नेपाल आफैमा सम्भावना बोकेको मुलुक भए पनि राजनीतिक दलमा रहेको फोहोरी चिन्तनका कारण युवा पलायन हुने र मुलुक 'नवऔपनिवेशिक वृद्धाश्रम' बन्ने खतरा बढेको बताउँछन्। युवाले नयाँ किसिमको आन्दोलनमार्फत् नेतृत्व सम्हालेमा परिवर्तन अझै पनि सम्भव रहेका उनी देख्छन्। यथास्थितिमै भने मुलुक परिवर्तको सम्भावना कम रहेको उनको बुझाइ छ।

महँगो उपहार अस्वीकार

श्रेष्ठका अनुसार उनले लगाउने अधिकांश कपडा उपहारमै प्राप्त हुन्छन्। उनलाई सधैँ लगाउन पर्याप्त हुने गरी कसले देला त उपहार? श्रेष्ठ उत्तर दिन्छन्, 'साथीभाइबाट  सर्ट, टिसर्टलगायतका कपडा उपहारमा आउने गर्छन्। मलाई आवश्यक कपडा खासै किन्नै पर्दैन। तर, म महँगो उपहारचाहिँ लिन्न।' उपप्रधान तथा परराष्ट्र मन्त्री हुँदा विदेश भ्रमणबाट फर्किएका एक जना सचिवले महँगो स्विस घडी उपहार दिन खोज्दा अस्वीकार गरेको उनी बताउँछन्। अन्य कतिपय विदेशी मित्र तथा साथीभाइले महँगा उपहार ल्याइदिने गरेको भए पनि आफूले सधैँ अस्वीकार गर्दै आएको श्रेष्ठको दाबी छ। कसैले उपहार ल्याइदिएको छ भने उनले सुरुमै के हो भनेर सोध्ने र महँगोखालको भएमा फिर्ता गर्ने गरेका छन्।

महँगो उपहार लिँदा उपहार दिने व्यक्तिको ऋणी हुने उनको बुझाइ छ। 'उपहार लिएपछि दिनेप्रति केही नरम हुनैपर्छ। यस्तो भएमा राजनीतिक यात्रा सम्झौतामा टुंगिन्छ,' उनी भन्छन्। पार्टी सञ्चालनका लागि ठूला व्यापारिक घरानाबाट पनि सहयोग लिनु हुँदैन भन्ने मान्यतामा उनी अडिग छन्। हालसम्म आफूले कहिल्यै त्यस्तो सहयोग नलिएको उनको दाबी छ। 

राष्ट्रियताप्रति चिन्तित

पछिल्लो समय श्रेष्ठ र राष्ट्रियता पर्यायजस्तै बन्दै आएको छ। मुलुकको राष्ट्रियता कमजोर बनाउने घटना तथा गतिविधिको उनी चर्काे विरोध गर्छन्। नेपालको राजनीति बाह्य शक्तिकेन्द्रित भएकाले बेलाबेलामा यहाँ बाह्य शक्तिले अनावश्यक चलखेल गर्न खोजेको उनीको बुझाइ छ। नेपालमा बाह्य हस्तक्षेपको कारण नेपालकै दल र तिनका नेताहरू भएको उनको आरोप छ।

नेपालका प्रधानमन्त्रीले आफ्नो पदीय हैसियतको ख्यालै नगरी अर्काे देशको राजदूतलाई समकक्षी हिसाबले व्यवहार गर्ने भएकाले पनि नेपालमा छिमेकी मुलुकका दूतावास हाबी भएको उनी बताउँछन्। जिम्मेवार तहमा पुगेका व्यक्तिले राष्ट्रियताका विषयमा बोल्दा सन्तुलन मिलाएर बोल्नुपर्नेमा त्यसो गर्न नजानेको देख्दा उनलाई चित्त बु‰दैन। मुलुकलाई कमजोर बनाउने किसिमका सम्झौता गरेर वा राजनीतिक सन्तुलन बिगारेर कुनै पनि सर्वाेच्च पदमा आफू नजाने उनको अडान छ। 'म राष्ट्रियताका विषयमा निरन्तर लागिरहने छु,' उनी भन्छन्।  

गीताले टिकाइराखेको राजनीति

श्रेष्ठ कुनै धर्मकर्मप्रति विश्वास गर्दैनन्। सानैदेखि मूर्तिपूजा गर्ने संस्कारविरोधी उनको स्वभावलाई बुझेरै परिवारले धर्मकर्ममा लाग्न उनलाई दबाब दिएन। अहिले पनि उनको कुनै धर्म वा भगवान्प्रति आस्था अथवा चासो छैन। तर, भागवत गीताको एउटा हरफले भने उनलाई राजनीतिमा टिकिरहन प्रेरणा प्रदान गर्दाेरहेछ! गीतामा उल्लेख रहेको 'राम्रो काम निस्वार्थ भावले गर' भन्ने हरफले राजनीतिमा निस्वार्थ भावले काम गरिरहन प्रेरणा प्रदान गरेको उनी सगर्व स्वीकार्छन्।

चार दशकभन्दा लामो समयदेखि उनी राजनीतिमा सक्रिय छन्। यस अवधिमा देशको राजनीति न त उनले सोचेजस्तो ढंगले स्वच्छ बन्न सक्यो न मुलुक समृद्धिको बाटोमा नै अघि बढ्न सक्यो। बरु राजनीतिलाई आममानिसले हेर्ने धारणा नकारात्मक बन्दै गयो। यस्तो अवस्थाले उनलाई बेलाबेलामा निकै गम्भीर बनाउँछ। तर, गीतामा उल्लेख सोही हरफले आफूलाई राजनीतिमा टिकिरहन प्रेरणा मिलिरहेको श्रेष्ठ बताउँछन्।

स्वस्थ दैनिकी

खानपिनमा उनको खासै सोख छैन। त्यसैले यस शीर्षकमा उनको उतिविधि खर्च हुँदैन। राजनीति गर्नेले आफ्नो आय–व्ययलाई पारदर्शी बनाउनुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ हाल आफ्नो दैनिक खर्च तथा घरभाडा र गाडी सुविधाका लागि पार्टीले मासिक खर्च उपलब्ध गराउँदै आएको बताउँछन्। 

स्वास्थ्यप्रति भने निकै सचेत श्रेष्ठ आफूलाई स्वस्थ राख्न दैनिक व्यायाम, प्राणायाम तथा अन्य शारीरिक अभ्यास गर्छन्। बिहान पाँच बजे उठिसक्ने उनी दैनिक ४५ मिनेट मर्निङवाक गर्छन्। त्यसपछि तीन ग्लास पानी पिएपछि ध्यान तथा व्यायाम गर्छन्। साढे सात बजे सामान्य खानेकुरा खाएपछि केही समय पत्रपत्रिका अध्ययन गर्छन्। त्यसपछि उनको राजनीतिक भेटघाट तथा कार्यक्रममा सहभागी हुने क्रम सुरु हुन्छ। दिउँसो करिब १२ बजे खाना खाने उनले साँझको खाना सकेसम्म छिटो खान्छन्। साँझ छिटो खानुको कारणबारे उनी भन्छन्, 'साँझको खाना सकेसम्म छिटो खानुपर्छ, यसले स्वस्थ रहन मद्दत गर्छ।' बेलुका खाना खाइसकेपछि उनी केही समय अध्ययन गर्छन्। सामान्यतया १० बजेपछि सुत्ने तरखर गर्छन्।

प्रकाशित: १२ चैत्र २०७३ ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App