४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

नयाँदिल्ली – भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच विहीबार बिहान भेटवार्ता भएको छ । 
नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे आफ्ना समकक्षी सिंहको ध्यानाकर्षण गराएका थिए । जवाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका थिए । 


त्यस अवसरमा गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत तीन वर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा २ वटा टिम थपेर सीमा स्तम्भ लगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गरेका थिए । भारतीय गृहमन्त्री सिंहले प्राविधिक टिम थप्ने विषयमा भारतीय पक्ष सकारात्मक भएको प्रतिकृया दिएका थिए । दुई देशका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान सरसहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । 
भारतीय समकक्षी सिंहसंगको भेटमा गृहमन्त्री निधिले बिगतको संबिधान सभा चुनाबमा भारतीय पक्षले गृहमन्त्रालय र निर्बाचन आयोगलाई आवश्यक पर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि सहयोगका लागि आग्रह गरेका थिए । भारतीय समकक्षी सिंहले लजिस्टिक सपोर्ट गर्ने विषयलाई सकारात्मक रुपमा लिएका थिए । सो भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए । 
प्रति आतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँ दिल्ली आएका गृहमन्त्री निधि राजनीतिक भेटघाटमा व्यस्त छन् । गृहमन्त्री निधिले विहीबार अपरान्ह भारतीय विदेशमन्त्री शुष्मा स्वराजसंग भेट्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री निधि शुक्रबार स्वदेश फर्कदैछन् ।  
 

प्रकाशित: ३ चैत्र २०७३ ०८:५८ बिहीबार

उपप्रधानमन्त्री निधि भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता