१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लोडसेडिङको अन्त्यबाट देश अँध्यारो युगबाट उज्यालोतर्फ : प्रधानमन्त्री दाहाल


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत्भार कटौती अन्त्य हुनु भनेको देशलाई अँध्यारो युगबाट उज्यालो युगमा लिएर गएको बताएका छन्। 

बुधबार नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री कार्यालयमा भेट गर्दै प्रधानमन्त्री दाहालले विद्युत्भार कटौतीको अन्त्यले सम्पूर्ण विकास प्रक्रियालाई नयाँ गति दिँदै नयाँ सभ्यताको सुरुवात भएको बताए । 
उनले भने, “सरकारले धेरै काम गर्न बाँकी नै छ । सरकारको सङ्कल्प भनेको देशलाई अँध्यारोमा राखेर देशलाई पछौटे राखिराख्न हुन्न भनेर विद्युत्भार कटौतीको अन्त्य गरिएको हो ।” विदेशबाट आयातीत औषधिको बिक्री वितरण गर्ने प्रबन्धकका समस्याबारे छलफल गरी सम्बोधन गरिने पनि प्रधानमन्त्री दाहालले बताए । 
नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्घका अध्यक्ष सुरजित दत्तले सरकारले विद्युत्भार कटौती अन्त्य गरी ठूलो गुन लगाएको बताए । उनले नेपालमा आयातीत औषधिको बिक्री–वितरण व्यवस्थित गर्ने जिम्मा लिएका प्रबन्धकबारे राज्यले ध्यान नदिएको, उनीहरुका समस्या सम्बोधन नभएको गुनासो गरे । 
उनले भने, “यस क्षेत्रमा स्नातकोत्तर अध्ययन गरेका व्यक्तिले ३० वर्ष लामो समयसम्म सेवा गरेका छन् । राज्य र सरकारको नजरमा हामीहरुको कुनै पहिचान नभएकाले सरकारसँग त्यसका लागि पहल गर्न आग्रह छ ।” 
सोही अवसरमा विद्युत्भार कटौतीको समस्याले आफूहरु विदेशमा पनि निकै लज्जित हुनु परेको अवस्थामा यसको अन्त्यले सबैभन्दा संवेदनशील औषधिको फ्रिजिङ (भण्डार)मा निकै ठूलो काम गरेको भन्दै सङ्घले प्रधानमन्त्रीलाई धन्यवाद दिई सम्मानसमेत गरेको छ । 
आयातीत औषधि बिक्री प्रबन्धकको हकहित, नीतिनिर्माणमा सहयोग लगायतका विषयमा लाग्न विसं २०४८ मा सो संस्था स्थापना भएको हो जसमा विभिन्न देशबाट आउने औषधिको व्यवस्थापन गर्ने करिब चौधसय व्यक्ति आबद्व छन् । रासस

प्रकाशित: २ चैत्र २०७३ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App