५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन्।

सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका हुन्।

उनले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्युनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको बताए। उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भिर समिक्षा गरेर मात्रै अगाडी बढ्ने स्पष्ट पारे।

उनले भने, ‘हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो। जसमा हामीले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ। त्यो नै न्युनतम साझा कार्यक्रमबाट सरकारले हटायो। त्यसमा हाम्रो गम्भिर भन्दापनि गम्भिर आपत्ति छ। किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसदमा पठाएको होइन। निश्चित एजेण्डासहित एउटा म्याण्डेड दिएर पठाएको हो। जुन वाचा गरेर हामी आएका थियौँ अझ निर्मम हुनुपर्ने कुरालाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भिर आपत्ति छ । यसमा गम्भिर समिक्षा गरेर मात्रै अगाडी बढ्छौँ।’

उनले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भएपनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताए। शुक्रवार सभामुख देवराज घिमिरेले चितवन २ बाट सांसदमा निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।  

प्रकाशित: १५ वैशाख २०८० ०७:४६ शुक्रबार

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी