२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चितवनका १३ मतदान केन्द्र अतिसंवेदनशील

चितवन प्रहरीले वैशाख १० गते चितवन २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मी उल्लेख्य मात्रामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। ‘आम निर्वाचनभन्दा उपनिर्वाचनमा हामीलाई सुरक्षा चुनौती बढी छ। बाहिरी जिल्लाका समेत आएर निर्वाचनमा समस्या उत्पन्न गर्नेगराउने उत्तिकै सम्भावना हुन्छ,’ कार्कीले भने, ‘त्यसलाई मध्यनजर गर्दै हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौं।’

उनका अनुसार चितवन २ को उपनिर्वाचनका लागि १ हजार २७० जना प्रहरी खटिएका छन्। निर्वाचन सुरक्षाका लागि बाहिरी जिल्लाबाट ८०० प्रहरी आएका छन्। सोही मात्रामा बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेनासमेत निर्वाचन सुरक्षामा खटिनेछन्। तनहुँ र बाराभन्दा चितवन संवेदनशील जिल्ला हो। प्रहरीले विशेषगरी भरतपुर बजार क्षेत्रका केन्द्रलाई यसपटक संवेदनशील रूपमा लिएको छ। ‘विगतमा भौगोलिक विकटता कारण सुरक्षा चुनौती हुन्थ्यो। अहिले बजार क्षेत्र अति संवेदनशील छन्,’ उनले भने, ‘बजारका केन्द्रमा भिड जम्मा हुने अवस्था छ।’ जिल्ला प्रहरी कार्यालय चितवनले १३ वटा मतदान केन्द्रलाई संवेदनशील रूपमा लिएको छ। सोहीअनुसार प्रहरीले प्रत्येक बुथमा कम्तीमा एक दर्जन प्रहरी खटाएको छ। ‘एउटा केन्द्रमा १२ जना प्रहरी हुन्छन्। बुथ थपिँदै गए पाँचजनाका दरले प्रहरी थपिन्छन्,’ उनले भने, ‘६ देखि ८ वटा बुथ भएको ठाउँमा प्रहरी निरीक्षकको कमान्डमा प्रहरी परिचालित छन्।’ अन्य स्थानमा प्रहरी नायब निरीक्षकको कमान्डमा टोली खटिएको छ। प्रहरीले रिजर्भ टोलीसमेत बनाएको छ।  

भरतपुर महानगरपालिकाका १० वटा वडामा ४ र कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा समान २-२ वटा टोली तयारी अवस्थामा राखेको छ। साथै मोबाइल टोली पनि रहने कार्कीले जानकारी दिए। आम निर्वाचनमा एउटा बुथमा २ जना प्रहरी र ५ जना म्यादी प्रहरी परिचालित हुन्थे।  

उनीहरूले चारवटा मतपेटिकाको सुरक्षा गर्नुपथ्र्यो। अहिले एउटा मतपेटिकाका लागि १२ जना प्रहरी खटिनेछन्। चितवन २ मा १ लाख २४ हजार ६९५ मतदाता छन्। मतदानस्थल ४३ र मतदान केन्द्र १३८ छन्।

निर्वाचनका दिनमा राजमार्गमा लामो दुरीमा गुड्ने सवारीसाधन व्यवस्थापनका लागि १५० जना प्रहरी खटिनेछन्। चितवनको मौवाखोलादेखि भरतपुरसम्म ३० ठाउँमा प्रहरी सहायक निरीक्षकको कमान्डमा खटिने कार्कीले जानकारी दिए। एक ठाउँमा पाँचजनाको समूह हुनेछ। यस क्षेत्रमा स्थानीय रुटका सवारीसाधन आवागमन बन्द गरिएको उनले जानकारी दिए। ‘लामो दूरीका सवारीसाधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित गन्तव्यमा पठाइनेछ,’ उनले भने, ‘धादिङतर्फको मौवाखोला, मुग्लिन, नारायणगढको पुल्चोक र गोन्द्राङ चोकमा चेकजाँच गरी केही समयको अन्तरालमा प्रहरी स्कटिङमा मात्रै पठाइनेछ।’ चितवन प्रशासनले नारायणी पुलमा पर्न सक्ने सवारीसाधनको जामको असर न्यूनीकरण गर्न नवलपरासीपूर्वको गैंडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दुरीका सवारीसाधन चेकिङ गरेर मात्रै पठाउन भनिएको जनाएको छ। वैशाख १० मा जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारीसाधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, पत्रकारका सवारीसाधन मात्र सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ।

प्रकाशित: ९ वैशाख २०८० ०१:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App