१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सबै असन्तुष्टि सम्वोधन हुन्छन्: सभामुख

दाङ–सभामुख ओनसरी घर्तीले संविधानप्रति असन्तुष्ट हरेक समुदाय वा समूहको माग तत्काल सम्वोधन हुने दाबी गरेकी छन्। यी माग सम्वोधन भएपछि संविधान कार्यान्वयनका लागि बाटो सहज हुने उनको भनाइ छ।

बिहीबार दाङमा थारु र मगर समुदायले गरेका दुई छुट्टा छुट्टै कार्यक्रमलाई सम्वोधन गर्दै उनले संविधानमा सबैको अपनत्व रहने दाबी गरिन्। संविधान प्रतिका असन्तुष्टि सम्वोधनका लागि राजनीतिक दलहरु गम्भिर रुपमा छलफलमा लागेको भन्दै उनले भनिन्, ‘थारु,मधेसीलगायत संविधानप्रति असन्तुष्ट समूह वा समूदायका माग पूरा हुनेछन्, यसका लागि दलहरुले गम्भिर रुपमा सम्बाद गरिरहेका छन् ।’

थारु पत्रकार संघले गरेको माघी मिलन कार्यक्रममा बोल्दै उनले राज्य सबैको साझा हुनुपर्ने बताइन् । संविधानप्रति विमती कायम रहे राज्य कहिल्यै आफ्नो बन्न नसक्ने भन्दै उनले थारु समूदायको असन्तुष्टि सम्बोधन हुने बताइन्। ‘राज्य सबैको साझा भएको महशुस गर्न पाउनु पर्छ,’ उनले भनिन्, ‘यसका लागि संविधानमा हरेकका अधिकार समावेश भएकै हुनुपर्छ ।’  

यसैगरी मगर समूदायले गरेको अर्को कार्यक्रममा उनले हिन्दूधर्मको नारा लगाएर राजाको गुनगान गाउने र संघीयताको बिरोध गर्नेहरु सल्बलाउन खोजेको भन्दै त्यस्तासँग सचेत बन्न मगर समुदायलाई आग्रह गरिन्। उनले भनिन्, ‘हिन्दु राज्यको नारा लगाएर राजाको गुनगान गाउने र संघीयताको बिरोध गर्नेहरु तपाइँहरुको ठाउँतिर पनि सल्बलाई रहेका होलान्, त्यस्ता मान्छेहरुसँग सचेत हुनुहोला।’ मगर समूदाय बाहुल्य क्षेत्रलाई एकै क्लस्टरमा मिल्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गरिएको भन्दै उनले ४ नम्बर प्रदेश मगरातकै रुपमा घोषणा भएको बताइन्।

‘संघीयता कार्यान्वयन भएन भने वर्षैंदेखि पछि पारिएका हामी मगर समूदायले राज्यलाई भेटाउन सक्ने छैनौ,’ उनले भनिन्, ‘अहिले एउटा प्रदेश मगरातकै रुपमा घोषीत भएको छ, यो मगर समुदायका लागि ठूलो उपलब्धि हो।’  

मगर समूदायले राज्यलाई आफ्नो ठानेपनि राज्यले मगर समूदायलाई जहिल्यै उपेक्षा गरेको स्मरण गर्दै उनले भनिन्, ‘त्यो बेलाका शासकले मगर समूदायलाई फरक दर्जाको नागरिक सम्झन्थे।’

प्रकाशित: २८ पुस २०७३ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App