काठमाडौं- संविधान संशोधन प्रस्तावलाई लिएर अवरुद्ध संसद् खुलाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीबीच बुधबार बिहान भेटवार्ता भएको छ। भेटवार्ता बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको हो।
भेटमा प्रधानमन्त्री दाहालले केही दिनभित्र राजनीतिक सहमति जुट्ने र संसद् बैठक पनि चल्ने विश्वास सभामुख घर्तीलाई दिलाएका छन्।
सभामुख घर्ती अवरुद्ध संसद् चल्ने वातावरण बनाइदिन आग्रह गर्न प्रधानमन्त्रीनिवास पुगेकी हुन्।
सरकारले संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै मंसिर १६ देखि प्रमुख प्रतिपक्षी एमालेसहित नौ दलले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्।
पुस २४ भित्र राजनीतिक सहमति हुन नसके आफू संसदीय प्रक्रियाबाट भए पनि संसद् चलाउन बाध्य हुने जानकारी सभामुख घर्तीले प्रधानमन्त्रीलाई गराएको उनका प्रेस सल्लाहकार बबिन शर्माले बताए। 'राजनीतिक सहमति जुटाउन मैले पहलकदमी गरिरहेको छु, २४ गतेभित्र सहमति भइसक्ने विश्वास पनि लिएको छु,' प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै शर्माले नागरिकसँग भने, 'त्यसका लागि आजै (बुधबार) बाट पुनः पहलकदमी थाल्नेछु।' उनका अनुसार २४ गतेभित्र राजनीतिक सहमति जुट्ने विश्वास प्रधानमन्त्री दाहालले सभामुख घर्तीलाई दिलाएका छन्।
प्रकाशित: २१ पुस २०७३ ०२:३७ बिहीबार