८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

आफ्ना उम्मेदवार जिताउन केन्द्रीय नेताहरू चितवन–२ घरदैलोमा

चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्। स्वतन्त्र उम्मेदवार समेत प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका हुन्।

नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा, नेकपा एमालेका नेता गोकुलप्रसाद बाँस्कोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा अध्यक्ष रवि लामिछाने र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेता हिजोआज चितवन २ केन्दित छन्। यीमध्ये शर्मा र थापा घरदैलोका लागि काठमाडौबाट जादै छन भने बाँस्कोटा निर्वाचन अवधिभर उही बस्ने योजनामा छन्। लामिछाने घरदैलोमा हिडिसकेका छन भने जनमोर्चा अध्यक्ष केसी पनि चितवन केन्द्रित छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले औपचारिक रूपमा आजदेखि घरदैलो कार्यक्रम सुरु गर्दै छन्। कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार उम्मेदवारी दर्तासँगै प्रचारप्रसार सुरु गरेको भए पनि औपचारिक रूपमा आजदेखि घरदैलो गरिंदै छ।

जिल्लामा हुन लागेको निर्वाचन केका कारणले हो भन्ने विषयमा समेत मतदातालाई प्रष्ट पार्दै घरदैलो गरिने श्रेष्ठले बताए। उनले भने, ‘आजदेखि घरदैलो सुरु भएको छ। हामीले जनताको विश्वास र मत दुवै पाउने विश्वास छ।’

घरदैलो कार्यक्रमका लागि कांग्रेस शीर्ष नेतृत्व जिल्ला आउने कार्यक्रम छ। कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापा लगायतका नेता घरदैलो कार्यक्रममा सहभागी हुन जिल्ला आउने कार्यक्रम रहेको उनले बताए। सत्ता गठबन्धनले भरतपुर महानगरपालिका–३ बाट घरदैलो कार्यक्रमको सुरुआत गर्दै छ।

नेकपा (एमाले) चितवनले पनि आफ्नो घरदैलो कार्यक्रम सुरु गरेको छ। इच्छाकामना गाउँपालिका–१ हात्तीवाङबाट घरदैलो अभियान सुरु गर्न लागेको एमालेका जिल्ला उपाध्यक्ष कमल पाठकले बताए। नेकपा एमालेले एक महिनादेखि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरेकाले घरदैलो कार्यक्रमलाई सहज हुने उनले बताए।

मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा गुमेको शाखलाई फिर्ता गर्ने दाउँमा एमाले रहेको उनले बताए। उनका अनुसार एमालेका नेता गोकुल बास्कोटा निर्वाचन समय अवधिभर जिल्लामा रहने छन्। घरदैलो कार्यक्रमसँगै निर्वाचन लक्षित अन्य कार्यक्रम समेत गरिने पाठकले बताए। घरदैलोका क्रममा कोणसभा समेत गरिने छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेसँगै घरदैलो तथा कार्यक्रता भेटघाटलाई तीव्र पारेका छन्। उनका निजी सचिव प्रकाश सिग्देलका अनुसार मनोनयन दर्ता गर्नुअघिदेखि नै निर्वाचनको तयारी गरिएको हो। मनोनयन दर्तासँगै दलका नेता कार्यक्रर्ता भेटघाट लगायत काममा व्यस्त भइरहेको उनले बताए।

कालिका नगरपािलका-५ बाट घरदैलो कार्यक्रम सुरु गर्न लागिएको बताउँदै सिग्देलले रास्वपाले घरदैलो कार्यक्रमलाई तीव्र बनाउने बताए। घरदैलोका क्रममा कोणसभा केही स्थानमा हुने उनको भनाइ छ।

सत्तागठबन्धनसहित तीन दल र अन्य साना दलहरूले समेत निर्वाचन लक्षित आफ्ना कार्यक्रमलाई तीब्र बनाएका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जिल्लामा आएर आफ्नो पार्टीका चुनावी कार्यक्रममा सहभागी भएका छन्। अन्य साना दल र स्वतन्त्र उम्मेदवारले समेत प्रचारप्रसारमा जुटिरहेका छन्।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहरिएपछि सांसद पद खारेज भएको थियो। लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन्। उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन्। रासस

प्रकाशित: २४ चैत्र २०७९ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App