१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिपक्ष दलद्वारा संसद बैठक अबरुद्ध

संसदमा दर्ता भएकाे संविधान संशाेधन प्रस्तावकाे विराेधमा बुधबार बसेकाे संसद बैठकमा उभिएर अबराेध गर्दै विपक्षी दलका सांसद। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित अन्य प्रतिपक्ष दलले संसद अबरुद्ध पारेका छन्। बुधबार बसेको संसद बैठक सुरु हुने  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखसँग समय लिएर आफ्नो धारणा राखेका थिए। केसीले मुलुकलाई सिक्किमिकरण गर्ने डिजाइन अन्तर्गत संविधान संशोधन प्रस्ताव दर्ता भएको दाबी गरे। 

उनले काँकडभिट्टादेखि कंचनपुरसम्मलाई मुलुकबाट छुट्ट्याउने अभियान अन्तर्गत अहिलेको संशोधन प्रस्ताव आएको केसीको भनाइ थियो। उनले ६५ वर्षदेखिको योजना अनुसार अहिले मुलुकबाट तराइको भूमाग अगल गर्न खोजिएको आरोपसमेत लगाए। विगतमा आफूले संघीयता हुँदैन भन्ने गरेको तर कसैले नसुनेको भन्दै केसीले अहिले जनताको मुख्य चासो नागरिकता र भाषामा भन्दा पनि सीमांकनप्रति रहेकाले यो प्रस्ताव कुनै पनि हालतमा पारित नहुने दाबी गरे।

‘यो राष्ट्रघाटी मात्रै होइन मुलुकको सार्वभौमसत्तामाथिको आक्रमण पनि हो,’ केसीले भने,‘ राष्ट्रियता सुरक्षा गर्न नसक्ने प्रस्ताव कुनै पनि हालतमा पारित हुँदैन, तत्काल फिर्ता लिनुपर्छ।’ उनले तत्कालीन कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीचको सहमति भनेर  पाँच नम्बर प्रदेश टुक्र्याउन नपाइने भन्दै केसीले डस्विनमा फालेका कागजपत्र झिकेर सहमति भयो भन्न नमिल्ने दाबी गरे।

प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलका नेताहरुले  सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ताको माग गर्दै संसद अबरोध गरेको यो चौथो पटक हो।
यसैबीच सभामुख ओनसरी घर्तीले प्रतिपक्ष दलका सांसदहरुलाई पाँच मिनेटसम्म उभ्याएकी छन्। प्रमुख प्रतिपक्ष दलले संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै संसद अबरोध गरेपछि सभामुखले सबै दल मिल्दामात्र मुलुकका समस्या समाधान हुने भन्दै अहिले पनि सबै दल मिल्न आग्रह गरिन्।

सभामुखले आफ्नो भनाइ राख्दै विपक्षी सांसदलाई बस्न आग्रह गरिन्। तर विपक्षी दल आफ्नो आशनमा नबसेपछि करिव पाँच मिनेटसम्म उनीहरु उभिएको उभियै भए। यसअघि तत्काली सभामुख सुवास नेम्वाङले पनि यसै गर्ने गरेका थिए। विगतमा साना दलले संसद अबरोध गर्दा नेम्वाङले चारघण्टासम्म उभ्याउने  गरेका थिए। सभामुख घर्तीले नेम्वाङको सिको गर्दै नेम्वाङसहितका विपक्षी सांसदहरुलाई पाँच मिनेटसम्म  उभ्याइन्। पाँच मिनेटपछिमात्रै सभामुख घर्तीले शुक्रबारसम्मकालागि संसद बैठक स्थगित गरेकी हुन्।
 

प्रकाशित: २२ मंसिर २०७३ ०८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App