१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहललाई विश्वासको मत दिन काँग्रेसको ह्वीप

नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ।  

आइतबार संसद भवनस्थित ल्होत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपालको संविधानको धारा १०० को (२) बमोजिम नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रस्तुत गर्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा रहने स्पष्ट पारे।

उनले आफ्ना सांसदहरुलाई पनि पार्टीको संसदीय दलको निर्णयको पालना गर्न ह्वीप जारी गर्ने बताए। प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै काँग्रेस सरकारमा सहभागी हुने बताए। बैठकले  राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहायप्रसाद यादवलाई बधाई ज्ञापनका साथै सफल कार्यकालको शुभकामना ज्ञापन गर्ने निर्णय गरेको छ।

उनले भने, ‘आजको बैठकले राष्ट्रपतिमा निर्वाचित सम्माननीय रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित सम्माननीय रामसहायप्रसाद यादवलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ। उहाँहरुको कार्यकालको सफल शुभकामना दिने निर्णय गरेको छ। सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग, सुरक्षा निकाय र सञ्चारमाध्यमहरुलाई धन्यवाद दिने निर्णय गरेको छ। कार्य सम्पादन समितिको निर्णयलाई मध्यनजर गरी नेपालको संविधानको धारा १०० को (२) बमोजिम सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीले भोलि विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रश्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रश्तुत गर्नुहुने विश्वासको मतको प्रस्तावको पक्षमा रहेको छ। प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ। तदनुरुप काँग्रेस संसदीय दलका सांसदहरुलाई निर्देशन दिन्छ। त्यसपछि मात्रै प्रधानमन्त्रीको दाहालको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ। सरकारमा हामी सहभागी हुन्छौँ।’

काँग्रेस संसदीय दलको बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको सफलतालाई मध्यनजर गरी धन्यवाद ज्ञापन गरेको छ।  

प्रकाशित: ५ चैत्र २०७९ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App